सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
अभियान बुढाथोकी भर्खर २३ वर्षका भए। पाटन बहुमुखी क्याम्पसमा स्नातक पढ्दै छन्। योसँगै उनी 'अगेनो' बिक्री गर्छन्।
अगेनो बेचेरै उनले एक वर्षमा ७० लाख रूपैयाँको कारोबार गरिसकेका छन्।
कस्तो अगेनो भन्नुहोला। नाम मात्रै हाम्रो गाउँघरको जस्तो हो, यसमा आगो बल्दैन। यो बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो हो। नेपाली ब्रान्डको।
सोभन इन्कर्पोरेसन अन्तर्गत अगेनो इन्डक्सन-इन्फ्रारेड कुकस्टोभले यसको बिक्री-वितरण गर्छ। अभियान यही ब्रान्डका प्रबन्ध निर्देशक हुन्।
'हामीले अगेनो बेच्न सुरू गरेको एक वर्ष भयो,' अभियानले सेतोपाटीसँग भने, 'यो बीचमा दुई हजार बढी बेचिसकेका छौं। ७० लाखको कारोबार भइसकेको छ।'
अगेनोअन्तर्गत सिंगल र डबल (एक मुखे र दुई मुखे) इन्फ्रारेड, डबल इन्फ्रारेड-इन्डक्सन र अल्ट्रास्लिम कुकस्टोभ गरेर चार किसिमका चुलो उपलब्ध छन्।
'बजारमा थुप्रै बिजुली चुलो भए पनि नेपाली ब्रान्डका गुणस्तरीय चुलो खासै नभेटिने। त्यसैले नेपाली भान्सामा उपयोगी हुने बिजुली चुलो बनाउने निधो गरेको हुँ,' उनी भन्छन्।
अगेनोको आइडिया कसरी फुर्यो त?
उनी यसलाई आफ्नो बाल्यकालदेखिको चासो र बुवाको कामसँग जोड्छन्।
अभियानलाई सात कक्षा हुँदादेखि नै विश्वको बढ्दो तापक्रम, जलवायु परिवर्तन, कार्बन उत्सर्जनजस्ता विषयमा चासो हुन थालेको थियो। यी विषयमा छापिएका लेख खोजी-खोजी पढ्थे।
उनका बुवा नवीकरणीय ऊर्जा स्रोतसम्बन्धी कार्यालयमा प्राविधिक सल्लाहकार छन्। यसबाट पनि उनी प्रभावित थिए। तर उनलाई बुवाको जागिरे दैनिकी मनपर्थेन। त्यसैले हुर्किँदै जाँदा जागिरभन्दा व्यवसाय गर्छु भन्ने भयो।
'बुवाको प्रभावका कारण नवीकरणीय स्रोतसम्बन्धी नै काम गर्नुपर्छ भन्ने थियो,' उनले भने, 'जे व्यवसाय गरे पनि वातावरण प्रदूषण नियन्त्रणमा कुनै हिसाबले योगदान पुर्याउन सकूँ भन्ने लाग्थ्यो।'
२०७१ सालमा सेन्ट जेभियर्सबाट एसएलसी दिएका उनले प्लस-टु लिटल एन्जल्सबाट सके। यसपछि व्यवसायिक विषय पढ्ने सोचमा बिबिए भर्ना भएका हुन्।
पढाइसँगै उनलाई व्यवसायमा केही गरिहाल्ने हुटहुटी थियो। तर ठेट आइडिया थिएन। पहिलो लकडाउन बेला फुर्सदमा विभिन्न क्षेत्रबारे अध्ययन थाले। सोही क्रममा बिजुली चुलो निर्माण र बिक्रीबारे अध्ययन गरे।
यस क्रममा उनले थाहा पाए- नेपालमा जम्मा सात प्रतिशत जनसंख्याले बिजुली चुलो प्रयोग गर्छन्। यो पनि प्रायः सहरी क्षेत्रकाले। अनि सरकारले ग्यास विस्थापन गरी बिजुली चुलो तथा बायो ग्यास प्रयोगमा जोड दिइरहेको छ। बिजुली खपत पनि बढाउने भनेको छ।
अभियानले यी कुरा थाहा पाएपछि बिजुली चुलो नै बनाउने सोचे।
'यस्ता योजना देखेर बजार राम्रो छ भन्ने निष्कर्ष निकालेँ। अनि यसैमा काम थालेँ,' उनले भने।
२०७७ साल भदौमा उनले अगेनो सुरू गरेका हुन्। ब्रान्ड नाम अगेनो राख्नुको कारण खुलाउँदै उनी भन्छन्, 'मानव सभ्यताको विकास आगोबाट सुरू भएको हो। अनि नेपाली मौलिकपन भएको नाम खोज्दा अगेनो उपयुक्त लाग्यो।'
सुरूमा उनले कच्चा सामग्री आयात गरेर बिजुली चुलो बनाएका थिए। यसरी बनाउँदा लागत महँगो पर्यो। त्यसैले उनले बाहिरै चुलो बनाएर नेपाल भित्र्याउने सोचे।
उनले विभिन्न विदेशी कम्पनीलाई इमेलमार्फत पत्राचार गरे। जर्मनी, भियतनाम, मलेसिया लगायत देशका झन्डै १२० वटा कम्पनीलाई इमेल लेखेको उनी बताउँछन्। तीमध्ये केहीले वास्ता गरेनन्, केहीले जवाफ फर्काए।
जवाफ दिनेमध्ये उनले प्रविधिका निम्ति जर्मनीको एउटा कम्पनीसँग सम्झौता गरे। अगेनो चुलो उत्पादन भने चीनमा हुने भयो।
'अगेनोमा युरोपियन प्रविधिअन्तर्गतको जर्मन चिप प्रयोग हुन्छ,' अभियानले भने, 'तुलनात्मक रूपमा चीनमा उत्पादन लागत सस्तो पर्ने भएकाले त्यहाँ बनाएका हौं। चीनमा बन्नुको अर्थ यो चिनियाँ ब्रान्ड होइन। अगेनोका सबै चुलो डिजाइनदेखि विशेषता हामी आफैंले हेरेर, बुझेर तयार गरेका छौं।'
यसरी जर्मन प्रविधिमा आधारित चीनमा बनेको नेपाली ब्रान्डको अगेनोले स्वरूप पाएको उनी बताउँछन्।
बिजुली चुलो ग्यासभन्दा सुरक्षित मानिन्छ। अगेनोमा पनि विशेष सुरक्षाका लागि विभिन्न सुविधा दिइएको उनी बताउँछन्। यी चुलो चलाउन सजिलो र पानी पर्दा केही नहुने पनि उनले दावी गरे।
अगेनोको सिंगल इन्फ्रारेड चुलोको चार हजार पाँच सय रूपैयाँ पर्छ भने अल्ट्रास्लिमको पाँच हजार। त्यस्तै डबल इन्फ्रारेड र डबल इन्फ्रारेड-इन्डक्सनको नौ हजार ५ सय रूपैयाँ छ।
'ग्राहकले अरू चुलोको तुलनामा हाम्रो मूल्य किफायती भएको बताएका छन्,' उनले भने।
अगेनो चुलोमा एक वर्ष वारेन्टी हुन्छ। आन्तरिक समस्या देखिए कम्पनीले दस वर्षसम्म हेरिदिने पनि उनले बताए। त्यस्तै अगेनो प्रयोग गर्दा ग्यासभन्दा ६५ प्रतिशत सस्तो पर्ने र यसमा ४० प्रतिशत छिटो खाना पाक्ने दावी पनि उनले गरे।
इन्फ्रारेड र इन्डक्सन चुलोमा केही फरक छ। इन्डक्सनमा स्टिल वा आलुमिनियमका भाँडा मात्रै बसाल्न मिल्छ। यसका लागि भाँडाको तल विशेष किसिमको डिजाइन गरिएको हामीले देखेकै छौं। यसमा खाना छिटो पाक्छ।
इन्फ्रारेडमा चाहिँ जुनसुकै धातुले बनेका भाँडा राख्न मिल्छ। इन्डक्सनको तुलनामा ढिलो पाक्ने भए पनि इन्फ्रारेडमा लामो समयसम्म खाना तातो बस्ने अभियान बताउँछन्। त्यसैले अहिले इन्फ्रारेड चुलोकै माग बढी भएको उनले जानकारी दिए।
अगेनो चुलो यसको वेबसाइट वा सस्तोडिल र ग्यापुजस्ता अनलाइन बजारबाट मगाउन सकिन्छ। त्यस्तै सेल्सबेरीलगायत अन्य मार्ट र पसलमा पनि पाइन्छ। यसको डिलर भने काठमाडौं उपत्यकाबाहिर ओखलढुंगा, इटहरी, धरान, दाङ, विराटनगर र हेटौंडामा छ।
'सहरी क्षेत्रमा अहिले लोडसेडिङ छैन। त्यसैले बिजुली चुलोका प्रयोगकर्ता बढ्दैछन्,' उनले भने।
अभियानले अगेनो तीस लाख लगानीमा सुरू गरेका थिए। एक वर्षमै ७० लाखको कारोबार गर्न सकेकामा उनी उत्साही छन्। अगेनोमा अहिले २० जनाले काम गरिरहेको उनले जानकारी दिए।
सरकारी तहबाट सहयोग भए नेपालमै चुलो उत्पादन गर्न सकिने पनि अभियानको विश्वास छ।
उनी भन्छन्, 'कच्चा सामग्री आयातमा सहज र कर छुट भए नेपालमै उत्पादन सम्भव छ। यसले देशमा रोजगारको अवसर पनि बढाउँछ।'
(अगेनोको फेसबुक पेज रवेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ०१५२०१३००/९८४२००१०१७)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)