सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
झन्डै सात वर्षअघि मिङ्मा डिकी शेर्पाले बजारमा थुप्रै 'नेपाली ब्रान्ड' का जुत्ता-चप्पल देख्थिन्। तर ती सबै असलमा नेपालमा उत्पादित हुन्थेनन्। कुनै भारत वा अन्य देशबाट आयातित हुन्थे, कुनै ब्रान्डका जुत्ता-चप्पल बनाउन प्रयोग हुने सम्पूर्ण कच्चा सामग्री आयात गरिन्थ्यो।
यस्तोमा जागिरे जीवन बिताइरहेकी मिङ्मालाई लाग्थ्यो- बरू नेपालमै उपलब्ध कच्चा सामग्री प्रयोग गरेर राम्रो नेपाली ब्रान्डका जुत्ता-चप्पल बनाउन सके!
यही सोच र योजनासँगै मिङ्माले २०७१ को चैततिर जागिर छाडिन्। झन्डै १२ वर्ष जागिर खाएकी उनले आफ्नै व्यवसायिक पाइला चालिन्। 'पाइला सुज' त्यही कदमको नतिजा हो।
पाइलाले विशेषगरी महिलाका लागि क्लोज (औंला र कुर्कुच्चा छोपिने) र स्लिपर्स (चप्पल) बनाउँछ। मिङ्माका अनुसार दुवै डिजाइनले राम्रो बजार पाएको छ। ग्राहकहरू बढी युवा पुस्ता र मध्यवर्गीय महिला छन्। भविष्यमा पुरुषका लागि पनि जुत्ता-चप्पल बनाउने उनले जानकारी दिइन्।
पाइलाका संस्थापक एवम् रचनात्मक निर्देशक मिङ्मालाई डिजाइनिङ खुबै रमाइलो लाग्छ। सञ्चालन बेलादेखि नै उनी एक्लै जुत्ता-चप्पलको डिजाइन गर्दै आएकी छन्।
'आफूले जानेको र रमाइलो लाग्ने काम गर्दा सन्तुष्ट महशुस गर्छु। जागिर छाडेर व्यवसायमा लाग्नु मेरो जिन्दगीमा नयाँ कदम थियो,' ३८ वर्षीया मिङ्मा भन्छिन्, 'त्यसैले नामै पाइला राखेँ र जुत्तासम्बन्धी काम भएकाले सुज जोडेँ। यसो हुँदा नाम सुन्ने बित्तिकै के-को व्यवसाय भन्ने सहजै बुझिन्छ।'
मिङ्मा पूर्वी नेपालमाको संखुवासभामा जन्मेकी हुन्। उनी दुई वर्षकी हुँदा उनका आमाबुवा काठमाडौं आएका थिए। उनी काठमाडौंमै हुर्किन्।
२०६० सालतिर मिङ्मा बालाजूस्थित नेसनल कलेज अफ टेक्निकल साइन्समा कम्प्युटर साइन्समा स्नातक गर्दै थिइन्। उनलाई पढाइसँगै काम गर्नु थियो। त्यसैले पहिलोपटक एक विज्ञापन निर्माण कम्पनीमा पार्ट-टाइम जागिर थालिन्।
झन्डै दुई वर्ष उनले विभिन्न संस्थामा पार्ट-टाइम नै काम गरिन्। २०६३ सालतिर भने इटालियन संस्था सिसिएस (सेन्ट्रो कोअपरेजिओन सिभ्लुपो) बाट पूरा समय जागिरका लागि प्रस्ताव आयो। त्यतिञ्जेल स्नातक सकिसकेको थियो। त्यसैले मिङ्माले जागिर स्वीकारिन्। समयसँगै उनी संयुक्त राष्ट्र र पिस-कर्प जस्ता संस्थामा आबद्ध भइन्।
राम्रै भइरहे पनि मिङ्मालाई जागिरे जीवनबाट पूर्ण सन्तुष्टि मिलेको थिएन। जान्ने-बुझ्ने उमेरदेखि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने लाग्थ्यो।
'म त्यसका लागि ठीक समयको प्रतीक्षामा थिएँ। त्यसकै लागि विभिन्न संस्था र क्षेत्रबाट कामको अनुभव बटुलेँ। साथै आर्थिक रूपमा आत्मनिर्भर हुँदै गएँ,' उनले भनिन्।
उनका अनुसार कुनै पनि व्यवसाय थाल्नुअघि पूर्व-तयारी र योजना बनाउन आवश्यक छ। त्यस्तै व्यवसायका लागि आर्थिक रूपमा बलियो हुनुपर्छ। मिङ्माले पाइला सञ्चालन गर्न एक वर्ष अवधिका लागि झन्डै १२ लाख रूपैयाँ लगानी छुट्याएकी थिइन्।
पाइला चलाउने योजनासँगै उनले झन्डै एक वर्ष बजार अध्ययन गरिन्। जुत्ता निर्माणमा आवश्यक सबै मेसिन जुटाइन्। अनि ललितपुरस्थित धोबिघाटमा कारखाना खोलिन्।
उनले पर्यावरण-मैत्री उत्पादन गर्नेमा पनि ध्यान दिएकी थिइन्। त्यसैले जुत्ता-चप्पल बनाउन आफ्नै जन्मथलो संखुवासभाबाट अल्लो ल्याइन्। अल्लोसँगै ढाका पनि मिसाएर जुत्ता-चप्पल बनाउँछिन्। त्यस्तै सोल (जुत्ताको तल्लो भाग) बनाउन पुराना प्लास्टिकका चप्पल प्रयोग गरिन्।
यसका लागि कवाडीबाट प्लास्टिकका चप्पल संकलन गरिन्छ। त्यसलाई पगालेर निस्किएको पदार्थबाट नयाँ जुत्ता-चप्पलका लागि सोल तयार गरिन्छ। कोरोना महामारीअघिदेखि पाइलाले पुराना टायरबाट पनि सोल बनाउन थालेको छ। मिङ्माका अनुसार टायरको सोल भएका जुत्ता-चप्पल हाल अमेरिकी बजार लक्षित छन्।
अहिले पाइलाले धेरै उत्पादन गरेको छैन। त्यसैले यसका सामान सामान्य बजारलाई महँगो लाग्छ। प्रायः ग्राहकको प्रतिक्रिया र चासो पनि यसको डिजाइनभन्दा मूल्यमै बढी हुने उनी बताउँछिन्।
'हातैले जुत्ता-चप्पल बनाउने हुँदा समय लाग्छ। कच्चा सामग्रीको मूल्य पनि बढी छ। उत्पादन लागत नै महँगो हुन आउँछ,' उनले भनिन्, 'प्रायः ग्राहकको चासो यसैमा हुन्छ। तर सामान हेरेपछि उहाँहरू सन्तुष्ट देखिनुहुन्छ।'
पाइलाका जुत्ता-चप्पल दुई हजारदेखि तीन हजार पाँच सय रूपैयाँसम्म पर्छ। योबाहेक अल्लो र ढाका कपडाका झोला पनि पाइन्छ। यिनको भने चार हजार पाँच सयदेखि पाँच हजारसम्म पर्छ। मिङ्माले पाइला सञ्चालन गरेको झन्डै तीन वर्षपछि झोला पनि बनाउन थालेकी हुन्।
सामान्य दिन पाइलामा जम्मा तीन कर्मचारी खट्छन्। माग बढी हुँदा निश्चित समयका लागि कर्मचारी थपिन्छ।
तर महामारीपछि पाइलाको उत्पादन रोकिएको छ। भएकै सामग्री बिक्री गरिरहेकी मिङ्मा भन्छिन्, 'एकैपटक धेरै सामग्री उत्पादन गर्नुभन्दा आवश्यकताअनुसार काम अघि बढाउनेमा विश्वास राख्छु। त्यसैले अहिले उत्पादन बन्द गरेका छौं। महामारीले पनि उत्पादन र बिक्रीमा असर देखाएको छ।'
हरेक उत्पादनको डिजाइन आफैं गरिरहेकी मिङ्मा बजार आवश्यकताअनुसार नयाँ डिजाइनमा उत्पादन सार्वजनिक गर्छिन्। बढी डिजाइनमा सामग्री बनाउनुभन्दा सीमित तर सबैले रूचाउने उत्पादनमा उनको जोड छ।
आफ्नो उत्पादनमा पूर्ण विश्वास राख्ने मिङ्मा कहिलेकाहीँ गुणस्तर र स्थिरताबारे भने सचेत हुन बाध्य हुन्छिन्।
हातले बनाइने हरेक सामग्री एकै किसिमको हुन्छ भन्ने ग्यारेन्टी लिन सकिँदैन। त्यसैले एकै खालको बनाउन हामीलाई पनि चुनौतीपूर्ण छ,' उनले भनिन्।
अर्को समस्या समयमै भनेको कच्चा सामग्री नपाइनु पनि छ। उनी नेपालमै भएका कच्चा र पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गर्ने दावी गर्छिन्।
काठमाडौं उपत्यकाभित्र पाइलाका उत्पादन अनलाइनमार्फत किन्न सकिन्छ। केही समयअघि ललितपुर, झम्सिखेलमा एक पसल थियो। महामारीपछि त्यो बन्द छ। पोखराको अर्बन यती क्लोदिङमा भने पाइलाका उत्पादन उपलब्छ छ।
मिङ्मा पाइलालाई विश्व बजार पुर्याउने योजनामा छिन्। तर महामारीसँगै काम सुस्ताएकाले पुरानै गतिमा फर्काउन थप केही समय लाग्ने अड्कल काट्छिन्। हाल पाइलाका जुत्ता-चप्पल अमेरिका, अस्ट्रेलिया, फिनल्यान्डलगायत राष्ट्रमा निर्यात भइरहेको उनले जानकारी दिइन्।
२०६५ सालमा इटालियन नागरिकसँग विवाह गरेकी मिङ्माकी एक छोरी छन्। दुई देशको संस्कार र समाजसँगै मिङ्मालाई अरू राष्ट्रका समाजबारे पनि धेरथोर जानकारी छ। कामकै सिलसिलामा कम्बोडिया, थाइल्यान्ड, फ्रान्स र अमेरिका पुगेकी छन्। यस कारण पनि भविष्यमा पाइला विस्तारमा मद्दत मिल्ने विश्वास राख्छिन्।
'पाइलालाई वातावरण-मैत्री नेपाली ब्रान्डका रूपमा अन्तराष्ट्रिय बजारसम्म पुर्याउने योजना छ। वातावरणप्रति सचेत व्यक्तिले विस्तारै यसको महत्व बुझ्नेछन्,' उनी भन्छिन्।
(पाइला सुजको फेसबुकका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्कः ९८०१००३११७)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)