सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
मीता देवान बालुवाटारस्थित समारा किन्डरगार्टेनकी प्रधानाध्यापक हुन्। कोरोनाले बन्द हुनुअघि उनको समय प्रायः आफ्ना स्कुलका केटाकेटीसँग बसेरै बित्थ्यो। छुट्टी भएपछि पनि उनी खाली बस्थिनन्। त्यो समय धागो र बुन्ने सामान लिएर बुनाइको काम गर्थिन्।
उनी प्रायः आफ्ना आफन्त र साथीहरूका लागि गलबन्दी र स्विटर बुन्थिन्। केटाकेटीलाई पढाउनुबाहेक उनको अर्को रूचि भनेकै बुनाइको काम थियो। तर किन्डरगार्टेनको कामले बुनाइमा धेरै समय दिन भ्याउँथिनन्।
जब कोरोनाले लकडाउन भयो, सबै क्षेत्र बन्द भए। स्कुल-कलेज ठप्पै गर्नुपर्यो। केटाकेटी किन्डरगार्टेन जान पाएनन्। मीता पनि उनीहरूजस्तै घरभित्रै थुनिएर बसिन्। खाली समयमा केही काम नगरी बस्दा मनमा धेरै कुरा खेल्थ्यो। मानसिक तनाव हुनसक्ने डरले उनले आफूलाई भुलाउने बाटो खोजिन्।
सबभन्दा सजिलो बाटो बुनाइ नै थियो उनका निम्ति। धागोसँग अल्झिँदै उनी रमाउन थालिन्। सुरूसुरूमा आफ्नै लागि ओछ्यान ढाक्ने (बेड-कभर) र स्विटर बुनेर दिन बिताइन्।
तर उनले बुनिरहँदा प्रायः सियो र अरू सानातिना सामान यताउता पर्थे। खोज्न सधैं हैरानी। त्यसैले उनले एउटा जुक्ति निकालिन्- सानो गुडिया बुन्ने। अनि सियोहरू त्यसमै खोपेर राख्ने।
त्यो सानो गुडिया मीताका श्रीमान र छोराहरूको आँखामा पर्यो। उनीहरूलाई गुडिया यति मनपर्यो, उनीहरूले मीतालाई गुडिया बुनेर व्यापार गर्ने सुझाव र प्रोत्साहन दिए।
'मेरा श्रीमान र छोराहरू सधैं मैले गर्ने कामलाई समर्थन गरिरहन्छन्,' मीताले सेतोपाटीसँग भनिन्, 'जेठो छोरालाई मैले बनाएको गुडिया निकै मन परेछ। त्यो बेला लकडाउन खुलिसकेको थियो तर स्कुल बन्दै थिए। त्यही समयलाई सदुपयोग गरेर उसले मलाई गुडियाको व्यापार गर्न सुझायो।'
मीताका अनुसार उनका छोराले आमाले बनाएको गुडिया व्यापारका लागि बजारीकरण र सामाजिक सञ्जाल हेर्ने जिम्मा पनि लिए।
व्यापार गरेर टन्न पैसा कमाउने लोभ त थिएन मीतालाई। उनी आफ्नो कामबाट अरूलाई खुसी पार्न चाहन्थिन्। त्यसैले आफूले बनाएका गुडियाबाट साना नानीबाबु खुसी हुने सम्झेर उनी छोराको आइडियामा सहमत भइन्।
आमाको सहमति पाएपछि मीताका छोराले इन्स्टाग्राममा 'मीता निट्स' नामको पेज खोले। ब्रान्डको नाम आफ्नै नाममा राख्नुपछाडि विशेष कारण छैन। मीताको अर्थ साथी हो। उनले गुडिया बच्चाहरूका साथीका रूपमा बुनेकी हुन्। यसरी उनको नाम र काम उस्तै जुरेको हो।
मीता प्रायः बच्चाहरूलाई मनपर्ने गुडिया बनाउँछिन्। धेरैजसो जनावरका। युनिकर्न, जिराफ, टेडी बियर, डाइनासोरका गुडिया बच्चाहरूले बढी रूचाइरहेका छन्।
गुडियाको मूल्य एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रूपैयाँसम्म पर्छ। यी मूल्य गुडियामा प्रयोग हुने सामानको गुणस्तर र बुनाइको कठिनाइ अनुसार तोकिएको मीता बताउँछिन्।
'मैले बनाउने गुडिया धेरै ठूला वा साना हुँदैनन्। बच्चाहरूलाई हातमा समातेर, अँगालो हाल्न सजिलो हुने आकारका छन्,' उनले भनिन्, 'बच्चाहरू आफ्नो गुडियालाई साथी मान्छन्। यसले उनीहरूलाई एक भावनात्मक साथ दिइरहेको हुन्छ।'
सुरूमा मीतालाई आफूले बुनेका गुडिया अरूले मनपराएर किन्लान् र भन्ने लागेको थियो। पत्याएकी पनि थिइनन्। व्यवसाय क्षेत्रबारे केही अनुभव नभएकाले पनि बेच्ने कुरामा अनिश्चित थिइन्।
'म व्यवसाय नै गर्छु भनेर यता लागेको थिइनँ। तर विस्तारै मेरो कामले चर्चा पाउन थाल्यो,' उनी भन्छिन्, 'मैले बुनाइमा केही तालिम लिएकी छैन र कामदार पनि राखेकी छैन। जे-जस्तो अर्डर आउँछ, म त्यो आफ्नै तरिकाले एक्लै गर्छु।'
मीताले आफ्नै शैलीमा गुडिया बनाउँछिन्। केही डिजाइन उनले इन्टरनेटमा खोज्छिन्। तर तिनलाई पछि आफ्नै तरिकाले नयाँ डिजाइनमा परिवर्तन गरेर बनाउँछिन्।
उनका अनुसार कतिपय ग्राहकले 'कस्टमाइज्ड' (ग्राहकको रोजाइको डिजाइन) गुडिया अर्डर गर्छन्। तर मीता सकेसम्म कस्टमाइज्ड गुडिया बनाउँदिनन्।
यसको कारण खुलाउँदै उनी भन्छिन्, 'मलाई अरूको आइडियामा काम गर्न मन लाग्दैन। कसैलाई आफ्नै केही विशेष उपहार दिनुछ भनेर अर्डर आयो भने कहिलेकाहीँ बुनिदिन्छु।'
उनी गुडिया अर्डर आएपछि मात्र बनाउँछिन्। एउटा गुडिया बनाउन बढीमा एक हप्ता लाग्छ।
मीताले तालिम नलिए पनि सानैदेखि बुन्न थालेकी हुन्। यो काम उनलाई हजुरआमाले सिकाएकी थिइन्। जीवनमा पहिलोपटक गुडिया बनाएको उनलाई याद छैन। तर बुन्न सुरू गरेको क्षण भुलेकी छैनन्।
'मेरी हजुरआमा बुन्न माहिर हुनुहुन्छ। उहाँ सधैं केही न केही बुनेर बस्नुहुन्थ्यो,' मीताले भनिन्, 'म सानै हुँदा एकपटक उहाँले मलाई झाडुको सिन्का र उब्रिएको धागो दिएर बुन्न लगाउनुभयो। त्यो बेला मैले मेरो गुडियाका लागि गलबन्दी बनाएकी थिएँ।'
खेलखेलमा सुरू भएको बुनाइको सीपलाई उनले पछिसम्म छोडिनन्। अहिले यही कामले उनको व्यवसाय सुरू भएको छ, ब्रान्ड बन्दैछ।
'धेरैजसो ग्राहक मैले बुनेका गुडिया विदेशी ब्रान्डका होलान् भनेर झुक्किन्छन्। सुरूमा सबैले कुन देशबाट भनेर सोध्थे,' उनले भनिन्, 'नेपालबाट भन्ने थाहा पाएपछि छक्क पर्थे।'
उनी गुडियाका आँखा बनाउन प्रयोग हुने दानाहरू भने अमेरिकाबाट मगाउँछिन्। कहिलेकाहीँ यहाँ भनेजस्तो राम्रो धागो नपाए पनि उतैबाट आयात गर्छिन्।
'गुडिया बनाउँदा स–साना विवरणमा ध्यान दिनुपर्छ जुन निकै मेहनतको काम हो,' उनी भन्छिन्, 'फेरि नेपालमा गुणस्तरीय धागो पाइने ठाउँ निकै थोरै छ। दुई-तीन ठाउँमा मात्र पाइन्छ। गुडियासँग मिल्ने रङको पाइएन भने अर्को समस्या हुन्छ।'
उनलाई बुनेका बेड-कभर, ब्ल्यांकेट, गलबन्दी र झोलाको अर्डर पनि आउँछ। तर त्यसका लागि समय दिन सकिरहेकी छैनन्। उनका अनुसार गुडिया र अन्य सामानको होलसेल अर्डर धेरैजसो अमेरिका र फ्रान्सबाट आइरहेको हुन्छ। सबै काम आफैंले गर्नुपर्ने हुँदा उनले थोरै मात्र पठाउँछिन्। नेपालमा काठमाडौंबाहेक सुनसरी, पोखरा, विराटनगर, झापा, सुर्खेत लगायत जिल्लाबाट अर्डर आउँछ।
'विदेशमा हातले बुनेका सामानको मूल्य निकै हुन्छ। यता हरेक नेपालीको घरमा कुनै एक सदस्यलाई बुन्न आउँछ। सायद त्यही देखेर हामीलाई यसको महत्व लाग्दैन,' मीताले भनिन्, 'हातले बुनेर बनाएको गुडिया मायाले भरिएको हुन्छ। त्यसमा हाम्रो भावना पनि जोडिएको हुन्छ। यी गुडिया मेरा लागि पनि निकै बहुमूल्य छन्। जब बच्चाहरू यी पाएपछि खुसी हुन्छन्, उनीहरूको खुसी देखेर मेरै सबै दुःख हराउँछन्।'
अर्डर धेरै हुँदा बिहान आठ बजेदेखि राती तीन बजेसम्म पनि गुडिया बुनेर बस्ने उनी बताउँछिन्। जति बेला पनि बुनेर बसेको देखेर अचेल मीताका श्रीमान र छोराहरू उनको चिन्ता पनि गर्छन्।
उनले हाँस्दै भनिन्, 'एक तरिकाले बुनाइको काम मेरा लागि थेरापी भइरहेको छ। तर धेरै बुनिरहँदा हात दुख्ने, आँखा कमजोर हुने समस्या आउला भन्ने डर पनि छ।'
मीता निट्स सुरू भएको लगभग एक वर्ष मात्र भयो। यसबीच कमाइ राम्रै छ। अर्डर धेरै आएका बेला महिनामा तीस हजारसम्म कमाइ हुने उनले जानकारी दिइन्।
स्कुल बन्द भएर सुरू गरेको व्यवसायलाई भने बन्द नगर्ने मीता बताउँछिन्।
'पछिल्लो तीस वर्षदेखि म शिक्षकका रूपमा काम गरिरहेकी छु। केटाकेटीसँग लगाव निकै छ,' उनले भनिन्, 'मेरो पेसा र रूचि दुवै यिनै नानीबाबुसँग जोडिएको छ। आधा जीवन उनीहरूसँगै बितिसक्यो र अझै पनि काम गर्न मन छ। स्कुलको कामका कारण मैले धेरै गुडिया बुन्न सक्दिनँ होला तर निरन्तरता दिइरहने छु।'
(मीता निट्सको फेसबुक र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्। )
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)