सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
निखिल सापकोटा आइटीका विद्यार्थी हुन्। २५ वर्षीय उनलाई सानैदेखि कम्प्युटरमा काम गर्ने रहर थियो।
त्यतिबेला वेब-डिजाइन क्षेत्र बिस्तारै उदाउँदै थियो र यो काममा धेरै मान्छे संलग्न थिएनन्। निखिल अमेरिकाका ठूला सूचना-प्रविधि कम्पनीमा काम गर्ने सपना देख्थे। सपना साकार पार्न वेब-डिजाइनिङबारे घरमै अध्ययन गर्न थाले। केही काम सिके पनि।
उनी १४ वर्षकै हुँदा पाकिस्तानको एउटा टेलिकम कम्पनीमा जागिरका लागि आवेदन दिए। निखिलका अनुसार उनले जागिर पनि पाए। त्योबेलै दस हजार तलबमा। त्यसलगत्तै उनले अन्य थुप्रै विदेशी कम्पनीमा वेब-डिजाइनरका रूपमा काम गर्न थाले।
लामो समय एउटै क्षेत्रमा काम गरिरहेका उनको मनले भने नयाँ काम खोजिरहेको थियो। राम्रो विदेशी कम्पनीमा राम्रै तलब खाइरहँदा पनि उनलाई सधैं अर्काका लागि काम गर्ने मन भएन। बरू आफैं केही गर्ने र अरूलाई पनि उपयोगी होस् भन्ने चाहन्थे। त्यसैले उनले जागिर छाडिदिए।
'विदेशी कम्पनीमा काम गरेको अनुभव लिएर मलाई नेपालमै केही काम गर्न मन थियो,' निखिलले भने, 'मलाई फेरि आइटी क्षेत्रमै काम गर्नु थिएन। तर के गर्ने भनेर सोच पनि बनाएको थिइनँ।'
त्यहीबेला उनी सिंगापुर भ्रमणमा गएका थिए। नेपालको धूलाम्मे सडकमा मैलाधैला सवारी देखेका उनी त्यहाँ चकित खाए। टिलिक्क टल्केका गाडी देखेर छक्कै परे।

'सुरूमा त ती सबै नयाँ गाडी होलान् भन्ने लागेको थियो। तर पुराना नै रहेछन्।'
यो करिब चार वर्षअगाडिको कुरा हो।
पुराना गाडी पनि कसरी सफा र टल्काएर राखिएको होला भनेर उनलाई जिज्ञासा हुन थाल्यो। यसबारे बुझ्दै गर्दै जाँदा उनले विदेशका गाडीको स्वरूप राम्रो बनाउन बाहिरबाट विशेष पदार्थले 'कोटिङ' गरिने पत्ता लगाए।
नेपालमा चल्ने गाडीमा यो कोटिङ प्रविधि प्रयोग गर्न पाए टिलिक्क टल्किने र नयाँजस्तै देखिनेमा निखिललाई विश्वास भयो। यही विश्वास र नयाँ क्षेत्रमा काम गर्ने जोशसहित उनले तीन वर्षअगाडि सञ्चालन गरे 'मोटर्स नेपाल'।
'बाटामा करौडौं पर्ने गाडी देखिरहेका हुन्छौं। तर त्यो बिग्रियो भने बनाउन गतिलो ठाउँ हुँदैन,' उनले भने, 'गाडी वा मोटरसाइकलको रङ खुइलियो वा कोतारियो भने सामान्य ग्यारेजमा देखाउँदा कलर लगाउनु पर्छ भन्छन्। तर त्यस्तो नहुेन रहेछ। त्यो रङ फेरि उडेर जान्छ। यसका लागि कोटिङ नै गर्नुपर्छ जसले पछि साधनलाई सोरूमकैजस्तो नयाँ देखाइदिन्छ।'
यसरी उनले थालेको मोटर्स नेपाल केही वर्षमै फस्टाउँदै गयो। तर निखिलले गाडी जति नै टल्काएर पठाए पनि पछि उस्तै हुने गरेको पाउन थाले।
उनले यसबारे फेरि खोजबिन गरे। अर्काे समस्या पत्ता लगाए।
.jpeg)
'हामीले गाडीहरू कोटिङ गरेर नयाँजस्तै पारेर दिन्छौं। तर मानिसहरू त्यो गाडी पुछ्न पुराना, झुत्रा कपडा प्रयोग गर्छन्,' उनले भने, 'गाडी पुछ्नकै लागि भनेर यहाँ विशेष कपडा नपाइने रहेछ। अनि त थोत्रा कपडाले पुछ्दा थोरैथोरै कोतारिँदै जाने रहेछ।'
गाडी राम्रो बनाउन भनेर अटोमोबाइल क्षेत्रमा लागिरहेका बेला त्यसमा आएका समस्या कम गर्ने जिम्मेवारी पनि आफैंले लिनुपर्ने सोच निखिलमा आयो। ग्राहकले गाडी बनाउन ल्याउँदा उनी आफैंले पनि झुत्रो कपडा प्रयोग गर्न भएन। त्यसैले सवारी पुछ्नकै लागि विशेष कपडा बनाउन सके ग्राहकलाई राम्रो सुविधा दिन सकिने सोचे।
'हामीलाई विशेष कपडा बनाउन मन थियो। ताकि कसैले आफ्नो बिएमडब्लु गाडी पुछ्न परे पुराना कपडा च्यातेर होइन, हाम्रो कपडा प्रयोग गरून्,' निखिलले भने।
यस्तो कपडा के होला, कसरी बनाउने भनेर उनीहरूले थुप्रै अध्ययन गरे। अनि एउटा नरम र न्यानोखाले कपडा फेला पारे। उनका अनुसार यसले पानी राम्ररी सोस्छ र पुछ्दा गाडी कोतार्दैन। त्यसैले उनीहरूले यही कपडा छाने। तर यो कपडा नेपालमा पाउनै गाह्रो रहेछ। दक्षिण कोरियामा भने संसारकै राम्रोमध्येको यस्तो कपडा पाइने थाहा पाएपछि उनीहरूले त्यहीँबाट आयात गरे।
अनि दुई महिनाअघि निखिलले गाडी पुछ्ने कपडा बिक्री थाले। नाम दिए 'टालो'।
'हमी पुछ्ने कपडालाई टालो भन्छौं। यो शब्द सबैको मुखमा झुन्डिएको छ,' उनले भने, 'त्यसैले कसैलाई पुछ्ने कपडा किन्नु परे टालो नामबाटै हाम्रो ब्रान्डलाई सम्झिऊन् भनेर यो नाम राखेका हौं।'
.jpg)
.jpg)
टालोअन्तर्गत उनले प्रिमियम र फुच्चे टालोको बिक्री थाले। विभिन्न रङमा पाइने टालो प्रिमियमको मूल्य एक हजार पाँच सय रूपैयाँ र फुच्चेको सात सय पचास रूपैयाँ पर्छ।
पुराना कपडा च्यातेर सवारी पुछ्ने बानी परेका हामीले टालोलाई एक हजार बढी खर्च गर्लाऊँ त?
सुरूमा निखिल पनि यसमा अलमल थिए। मूल्य धेरै भएकाले नबिक्ला भन्ने डर थियो। तर करिब दुई महिनामै उनीहरूले चार हजार हाराहारी टालो बिक्री गरिसके। अहिले निखिल आफ्नो अलमलबाट प्रस्ट भइसकेका छन्।
निखिलका अनुसार करिब तीस लाख लगानीमा सुरू भएको टालोले अहिले महिनामा लगभग तीस लाख जतिकै व्यापार गरिरहेको छ।
'सुरुमा एक सामान्य नेपालीले पन्ध्र सय खर्च गरेर टालो किन्लान् कि नकिन्लान् भन्ने डर थियो,' निखिलले भने, 'हामीले जोखिम उठाएरै व्यवसाय सुरू गरेका थियौं। तर सोचेभन्दा अझ राम्रो भयो। टालोको माग धेरै आइरहेको छ र ग्राहकले पनि मनपराइ रहनुभएको छ।'
टोलोले गाडीको रङ उड्ने र कोरिने समस्या रोक्नुका साथै पानी पनि मज्जाले सोस्ने उनी बताउँछन्।
'यी टालोमा पानी सोस्ने क्षमता निकै धेरै छ। टालो प्रिमियमले लगभग दुई लिटर पानी सोस्न सक्छ। अब हिलो भएको गाडी पुछ्नु परे, धेरैपटक त्यसलाई पानीमा डुबाउँदै प्रयोग गर्नुपर्दैन। एकपटक टालो पानीमा भिजाएपछि काम पन्ध्र मिनेटमै सकिन्छ,' उनले भने।
टालो नेपालको फेसबुक पेज वा दराज अनलाइन बजारबाट यी टालो अर्डर गर्न सकिन्छ। यसको डेलिभरी नेपालभर हुन्छ।
.jpg)
निखिलका अनुसार हाल यी टालो सवारीसाधनमा मात्र प्रयोग भइरहेको छ। तर यसलाई अनुहार वा जीउ पुछ्न पनि प्रयोग गर्न सकिन्छ। यो मुलायम हुने भएकाले अनुहारका लागि उपयुक्त हुन्छ। पछि बच्चाका लागि डाइपर र अनुहार पुछ्ने तौलियाका रूपमा छुट्टै उत्पादन बनाउने सोच रहेको उनले बताए।
'फुटपाथमै बिक्री हुने टालोका कपडा पनि नेपालमा बनेका हुँदैनन्,' उनी भन्छन्, 'यो नै हाम्रो लागि ठूलो अवसर बन्यो।'
मोटर्स नेपालको पनि नेपालभर पाँचभन्दा बढी फ्रान्चाइज भइसके। काठमाडौंमा मात्रै छ हजार ग्राहकलाई सेवा दिइरहेको निखिलले बताए। नेपाली सामान र ब्रान्डलाई सधैं समर्थन गर्ने बताउने निखिल बजारमा बढ्दै गएका विदेशी सामानको प्रभावबारे चिन्तित पनि हुन्छन्। त्यसैले नेपाली ब्रान्ड संख्या बढाउँदै लाने उनको योजना छ।
निखिल एउटै काममा लामो समय अडिएर बस्न भने सक्दैनन्। टालोले राम्रो बजार लिन थालेपछि उनले एक महिनाअघि 'मगमग' नामक पर्फ्युम ब्रान्ड खोलेका छन्। अहिले यसअन्तर्गत कार एयर फ्रेसनर मात्र उत्पादन भइरहेको छ। दुई सय पचास रूपैयाँमा पाइने यो फ्रेसनर चारवटा सुगन्धमा उपलब्ध छ।
व्यवसायका विद्यार्थी नभए पनि निखिल यो क्षेत्रमा उक्लिँदै गएका छन्। उनलाई हेरेर कतिपय युवा आफ्नै व्यवसाय खोल्न प्रोत्साहित हुन्छन् रे। तर उनी झट्टै व्यवसाय सुरू गर्न हौस्याउँदैनन्। यसनिम्ति धेरै धैर्य र समय लाग्ने उनको भनाइ छ।
'जागिर खाँदा थोरै पैसा हुने र व्यवसाय गर्दा धेरै हुने सोच छ। त्यस्तो हुँदैन,' उनी भन्छन्, 'व्यवसाय सुरू गर्नेबित्तिकै पैसाको खोला बग्दैन। लामो समय र धैर्य चाहिन्छ। केही व्यवसाय गर्न मन छ भने पहिले त्यस क्षेत्रमा काम गर्नुपर्छ। त्यसबारे ज्ञान भएपछि काम अगाडि बढाउन सहज हुन्छ।'
(टालोको फेसबुक लिंक र सम्पर्क नम्बरः ०१५२६०८१२)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)