झन्डै तीन वर्षअघि ताइवान घुमेर नेपाल फर्केपछि डाक्टर मनु कार्कीको दैनिकीमा ठूलो परिवर्तन देखियो। दन्त चिकित्सक मनुको वातावरणलाई हेर्ने दृष्टिकोण बदलियो।
पहिले प्लास्टिकका सामग्री धेरै प्रयोग गर्थिन् उनी। अचेल जतिसक्दो कम गर्छिन्। प्लास्टिकले वातावरणमा पुर्याउने नकारात्मक पक्षबारे विभिन्न माध्यमबाट अरूलाई बुझाउँदै पनि छिन्।
मनुले सन् २०१३ मा भारत, बैंगलोरस्थित राजिव गान्धी विश्वविद्यालयबाट दन्त चिकित्सा पढाइ सकेकी हुन्। पछि नेसनल ओपन कलेजबाट स्वास्थ सेवा व्यवस्थापनमा स्नातकोत्तर गरिन्। सन् २०१८ तिर उनी घुमघाम गर्न ताइवान पुगेकी थिइन्। त्यहाँ उनको भेट अपोलो र सूसू नामक दुई ताइवानीसँग भयो।
मनु उनीहरूसँग नजिकिइन्। ताइवानीको संगतपछि नै वातावरणप्रति आफ्नो हेराइमा परिवर्तन आएको उनी बताउँछिन्।
'ताइवानीहरू वातावरणलाई लिएर निकै सचेत थिए। पर्यावरणमैत्री जीवनशैली बिताउँथे,' ३१ वर्षीया मनुले भनिन्, 'प्लास्टिक सामग्री जतिसक्दो कम प्रयोग गर्ने, जथाभावी फोहोर नगर्ने जस्ता उनीहरूको बानीबाट म प्रभावित भएँ।'
नेपाल फर्किएपछि उनले पनि पर्यावरणमैत्री जीवनशैली अपनाउने प्रयास गरिन्। तर हामीकहाँ प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन र बिक्री कम भएकाले सोचेझैं सजिलो भएन। उपलब्ध सामानको डेलिभरी पनि निकै ढिला हुन्थ्यो। त्यसमाथि वातावरणमैत्री सामग्री नै प्लास्टिकमा बेरेर डेलिभरी हुँदा मनुको मन खिन्न भयो।
अनि मनुले एकदिन आफैं यी कमीकमजोरी सुधार्न पहल गर्ने सोचिन्।
सन् २०१९ को मध्यतिरको कुरा हो। उनले वातावरणमैत्री सामग्री उत्पादन गरी व्यवसाय गर्ने निधो गरिन्। अनि त्यही वर्ष अगस्ट दोस्रो सातादेखि आधिकारिक रूपमा सुरू भएको हो 'इको साथी नेपाल'।
यो एक अनलाइन व्यवसाय हो जहाँ बाँसले बनेको दाँत माझ्ने ब्रस, बाँसको काइँयो, लुगा झुन्ड्याउने ह्यांगर, साबुन राख्ने बाकस, भान्सामा प्रयोग हुने भाँडाकुँडा, कपडाको झोला, मेन्सट्रुअल कपलगायत प्लास्टिकका वैकल्पिक सामग्री पाइन्छ। यी सामान दैनिक उपयोग हुनुका साथै पर्यावरणमैत्री र टिकाउ हुने मनु बताउँछिन्।
त्यस्तै सकेसम्म धेरैले उपभोग गर्न सकून् भनेर मूल्यमा ध्यान दिइएको उनले बताइन्। यहाँ ७५ रूपैयाँदेखि १५ सय रूपैयाँसम्मका सामान पाइन्छ।
इको साथीमार्फत मनु सामान बिक्रीसँगै सामाजिक सञ्जालमा वातावरण संरक्षणको महत्व पनि बुझाउँदै छिन्। उनी आफैंले तयार पारेका लेख, फोटो र भिडिओ पोस्ट गर्थिन्। केही समय अघिदेखि भने उनलाई यसमा स्वेता कुँवरले सघाउन थालेकी छन्।
उनले इको साथीको इन्स्टाग्राम खाता खासमा आफ्नो दैनिकी र पर्यावरणमैत्री जीवनशैलीबारे जानकारी दिन बनाएकी थिइन्। पछि यसैलाई व्यवसायिक ढंगले प्लास्टिकका वैकल्पिक सामग्री पाइने प्लेटफर्म बनाइन्।
यसको सुरूआत उनले बाँसको दाँत माझ्ने ब्रसबाट गरिन्।
'बिहान उठ्नेबित्तिकै प्रयोग हुने भनेको यही ब्रस हो। त्यसैले बाँसको ब्रसको महत्व र फाइदा बुझाउँदै बिक्री गर्ने सोचेँ,' उनले भनिन्, 'दन्त चिकित्सक भएर पनि होला, मेरो प्राथमिकता यसैमा गयो।'
तर प्लास्टिक ब्रसले निर्विकल्पजस्तो राज जमाएको नेपालमा मनुलाई वातावरणमैत्री बाँसका ब्रस पाउनै कठिन भयो। केही समयको अध्ययनपछि उनले त्यस्ता ब्रस यहाँ उत्पादन नहुने बुझिन्। अनि आफूले भनेजस्तै ब्रस भियतनामबाट ल्याउने सोचिन्। २०१९ अगस्ट अन्तिमतिर एक हजार वटा ब्रस आयात गरेर उनले व्यवसाय सुरू गरेकी हुन्। इको साथी सञ्चालनका लागि ५० हजार लगानी परेको थियो।
'सबै ब्रस दुई महिनामै बिक्री भयो,' मनुले खुसी हुँदै भनिन्, 'नेपालमा धेरैले वातावरणमैत्री जीवन बिताउन खोजिरहेका छन् भन्ने त्यहीबाट बुझिन्छ। अहिले पनि ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं।'
विस्तारै उनले ब्रससँगै मेन्स्ट्रुअल कप, कपाल कोर्ने ब्रस, काइँयो, साबुन राख्ने बाकस जस्ता सामग्री आयात गर्न थालिन्। यी सामग्री भियतनामबाहेक चीन, हङकङ र भारतबाट आउँछन्। यसबाहेक स्क्रब पाउच, साबुन, झोलाहरू पनि इको साथीले बेच्छ जुन नेपालकै विभिन्न समुदायका व्यक्तिले बनाएका हुन्। यस हिसाबमा इको साथीले अप्रत्यक्ष रूपमा रोजगार अवसर पनि सिर्जना गरेको मनु बताउँछिन्।
मनुको वातावरणमैत्री जीवनशैलीबाट अहिले उनको परिवारसँगै छिमेकी र साथीसंगी पनि प्रभावित छन्। ललितपुर, महालक्ष्मीस्थान बस्ने उनी पहिले सामान प्लास्टिक झोलामै ल्याउँथिन्। घरबाट झोला बोकेर जान लाज लाग्थ्यो। अचेल सधैं कपडा झोला बोकेर बजार पुग्छिन्।
'टोलमा म झोला बोकेर जाने बहिनी भनेर पनि चिनिने रहेछु,' मनुले हाँस्दै भनिन्।
मनुकै सिकोमा उनका टोलबासी अचेल घरबाटै झोला बोकेर बजार जान्छन् रे। यो देख्दा आफूलाई खुसी लाग्ने बताउँछिन् उनी। घर, माइती र साथीहरूबाट सहयोग र प्रोत्साहन पाउँदा अझ हौसला मिलेको उनले बताइन्।
इको साथी सञ्चालन गर्नुअघि मनुको अधिकांश समय दाँतसम्बन्धी बिरामी जाँचेरै बित्थ्यो। बचेको समय विद्यार्थीलाई ट्युसन पढाउँथिन्। त्यसैले सुरूआती दिनमा जागिर र व्यवसाय सम्हाल्न गाह्रो भयो।
समय व्यवस्थापनमा मुश्किल भएपछि उनले व्यवसाय छाड्ने पनि सोचेकी थिइन्। फेरि, ग्राहकको सकारात्मक प्रतिक्रिया सम्झिन्। अनि आफ्ना हरेक काम व्यवस्थित गर्दै लगिन्।
'सबै ठाउँमा व्यवस्थित गर्न कठिनै थियो। तर ग्राहकको प्रतिक्रिया र आफैंले पनि चाहेको काम भएकाले बिहान सबेरै उठेर हुन्छ कि, राति अबेरसम्म बसेर, यसलाई निरन्तरता दिँदैछु,' हाल 'पार्ट-टाइम' जागिर गरिरहेकी उनले भनिन्।
मनुले एक्लै सुरू गरेको व्यवसायमा अहिले अरू पाँच जनाले सघाउँछन्। कसैले सामाजिक सञ्जाल व्यवस्थापन हेर्छन् त कोही अर्डर र डेलिभरी गर्छन्।
लकडाउन बेला इको साथीले यहाँको बजारमा विस्तार हुने मौका पाएको थियो। अहिले विदेश पनि पुगेको छ। केही साताअघि मात्रै नेपालमा बनेका झोला बेलायतमा निर्यात गरेको उनले जानकारी दिइन्। आफ्नै व्यवहार फेर्ने उद्देश्यले सानो पाइलाबाट सुरू गरेको काम विस्तार गर्न सकेकोमा मनु दंग छिन्।
इको साथी अहिले अनलाइन चलिरहे पनि भविष्यमा पसल खोल्ने योजना छ। त्यस्तै बाँसको दाँत माझ्ने ब्रस नेपालमै उत्पादनका निम्ति पहल गर्ने पनि उनले बताइन्।
'हामीसँग स्रोत र जनशक्ति दुवै छ। त्यसैले बाँस र काठका सामग्री यहीँ उत्पादन गर्ने सोच छ,' डाक्टर मनुले भनिन्।
(इको साथी नेपालको वेबसाइट लिंक, इन्स्टाग्राम लिंक र सम्पर्क नम्बरः ९८४३५३५८७७)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)