सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
डिल्लीबजार ओरालोमा थुप्रै पसल छन्। ती पसलको लश्करबीच एउटा ठेट नेपाली नामको रेस्टुरेन्ट छ- १२ थरी मःम।
नामले भनेजस्तै यहाँ बाह्र स्वादमा मःम पाइन्छ। सामान्यभन्दा भिन्न स्वाद चाख्न इच्छुक र मःम पारखीहरू १२ थरी खोजीखोजी पुग्ने यसका सञ्चालकहरू बताउँछन्।
'१२ थरीको मेनुमा साधारण स्टिम मःमदेखि स्वस्थ विकल्प, स्थानीय स्वाद र विदेशी स्वादबाट प्रभावित स्वादका मःम राखेका छौं,' रेस्टुरेन्टका सह-सञ्चालक सुनिम मैनालीले भने, 'यिनै नौलो स्वाद चाख्न ग्राहकहरू आउनुहुन्छ।'
यहाँ स्टिम, कोथे, चिल्ली, कोदो, फापर, पनिर, झोल, गुन्द्रुक झोल, तामा झोल, बोलोनिज, मसरूम, चिज स्टिक गरी १२ स्वादमा मःम पाइन्छ। यो शाकाहारी र मांसाहारी दुवै विकल्पमा उपलब्ध छ।
यो रेस्टुरेन्ट दोस्रो चरणको लकडाउन सुरू हुनु केही साताअघि मात्रै सञ्चालनमा आएको हो। लकडाउनसँग जुद्धै यतिबेला १२ थरी सक्रिय व्यवसायमा लागेको सुनिम बताउँछन्।
उनका अनुसार लकडाउनका कारण ठप्प भएको व्यवसाय यतिबेला चलमलाउँदै छ।
२४ वर्षीय सुनिम र उनका साथी आग्रह अर्याल मिलेर गत वैशाख दोस्रो सातामा १२ थरीको औपचारिक उद्घाटन गरेका हुन्। यी दुई जना कक्षा छदेखिका सहपाठी हुन्। सुनिमभन्दा आग्रह एक वर्ष जेठा छन्, २५ वर्ष लागे।
सानैदेखि उनीहरूलाई भविष्यमा आफैं केही गर्नुपर्छ भन्ने थियो। के गर्ने, यकिन थिएन।
'चिनजानेका धेरैले हामीबाट अपेक्षा राखेका थिए। त्यही अपेक्षाले यतिबेला पाइला टेकेको छ,' १२ थरीका अर्का सह-सञ्चालक आग्रहले भने।
आग्रहका अनुसार उनीहरू विद्यालयदेखि आसु (आग्रह र सुनिम) जोडी भनेर चिनिए। पोखराका आग्रह र काठमाडौंका सुनिमको भेट धुलिखेलस्थित काठमाडौं युनिभर्सिटी हाइस्कुलमा भएको थियो। उनीहरू दुवै कक्षा छमा भर्ना भएका थिए। कक्षाबाहेक होस्टलमा पनि सँगै बसे।
एसएलसी सकेर उनीहरू आ-आफ्नो घर फर्के। आग्रह व्यवस्थापन विषय लिएर प्लस-टुका लागि पोखराकै एसओएस भर्ना भए। यता सुनिम काठमाडौं मोडल कलेजमा विज्ञान पढ्न थाले। पढाइको विषय र ठाउँ फरक भए पनि उनीहरूको सम्बन्ध सामाजिक सञ्जालले जोडिरह्यो।
आग्रहले होटल व्यवस्थापन स्नातक र सुनिमले बिबिए गरे। पढाइसँगै काम पनि थाले। सुनिम लक्ष्मी ग्रुपमा जागिरे भए। आग्रह पोखरामा आफ्नै 'होटल क्राउन हिमालयज' सम्हाल्न थाले।
पोखराको लेकसाइडमा क्राउन हिमालयज आग्रहका बुवाले दस वर्षअघि खोलेका हुन्। छ वर्षअघि बुवाको निधन भएदेखि होटलको सम्पूर्ण जिम्मेवारी उनैले सम्हाले।
'पोखराको होटल विदेशी लक्षित हो। पहिल्यैदेखि नेपाली ग्राहक लक्षित होटल अथवा रेस्टुरेन्ट खोल्ने योजना थियो। १२ थरीले यो सपना पूरा गरिदिएको छ,' आग्रहले भने।
सुनिमको तुलनामा आग्रहसँग होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुभव धेरै छ। तर उनी पोखरामा भएकाले काठमाडौंस्थित १२ थरीको जिम्मेवारी सुनिमले नै सम्हाल्छन्। आग्रह रेस्टुरेन्टको सामाजिक सञ्जालमा बढी सक्रिय छन्।
रेस्टुरेन्टको नाम १२ थरी राख्नुका पछाडि उनीहरूको मित्रताको कथा पनि जोडिएको छ।
सुनिम र आग्रहको मित्रताले यसै वर्ष १२ वर्ष पूरा गर्यो।
'हाम्रो मित्रताको १२ वर्ष जनाउन पनि हामीले रेस्टुरेन्टको नाम १२ थरी राखेका हौं,' सुनिमले हाँस्दै भने।
चार महिनाअघि मात्र खुलेको भए पनि रेस्टुरेन्ट खोल्ने आइडिया गत वर्षको कात्तिकतिरै फुरेको हो। त्यो बेला उनीहरू काठमाडौंको एउटा रेस्टुरेन्टमा खाजा खाँदै थिए। उनीहरूबीच मःम र यसको लोकप्रियताबारे कुरा चल्यो।
'मःम धेरैले रूचाउने खाजा हो। तर प्रायः ठाउँमा एकै स्वाद र सीमित किसिमको मःम पाइन्छ,' सुनिम रेस्टुरेन्ट सञ्चालनको आइडियाबारे भन्छन्, 'मःममा नयाँपन भित्र्याउने सोचेर रेस्टुरेन्ट खोल्ने आइडियासम्म पुग्यौं।'
आइडिया फुरेसँगै उनीहरू काठमाडौंका विभिन्न होटल र रेस्टुरेन्ट चहार्दै हिँडे। ठेलामा पाइने मःमदेखि पाँच तारेसम्म भ्याएको उनीहरू बताउँछन्। काठमाडौंमा मात्र नभइ चितवन, पोखरा, नारायणघाट, बुटवल लगायत सहरका खाजा पसल, होटल र रेस्टुरेन्टमा मःम चाख्नै भनेर पुगे।
'जुनै ठाउँमा पनि सीमित विकल्प पायौं,' सुनिमले १२ थरीको विशेषता बताए, 'हामी साधारणसँगै नयाँ स्वादमा मःम बनाउँछौं।'
नयाँ स्वादमा मःम पस्किन यी दुई साथीले विभिन्न परीक्षण पनि गरे। आग्रहको पोखरास्थित होटलमा उनीहरूले कहिले आलु त कहिले मकैको किमा हालेर बनाए। अनेक परीक्षणपछि मेनुमा १२ थरीका मःम अटाएका हुन्।
अहिले भने रेस्टुरेन्टको भान्सा सेफ दिनेश चौलागाईंले सम्हाल्छन्। उनीबाहेक यहाँको व्यवस्थापनमा थप तीन जना सक्रिय छन्।
मःमका किसिम परीक्षण चल्दै गर्दा सुनिम र आग्रह रेस्टुरेन्ट लागि ठाउँ पनि खोज्दै थिए। डिल्लीबजारमा खाली सटर पाए। सुनिमका अनुसार सुरूमा घरबेटीले त्यहाँ रेस्टुरेन्ट राख्ने कुरा मानेका थिएनन्। पछि उनीहरूले मनाए।
सुनिम र आग्रहले रेस्टुरेन्ट सञ्चालनका लागि झन्डै ३५ लाख खर्चेका छन्। यो पैसा उनीहरूले जम्मा गरेको रकम र पारिवारिक सहयोगबाट जुटाएका हुन्।
'हामी दुवैलाई एकअर्काको परिवारले चिन्नुहुन्छ। त्यसैले सहकार्यमा काम गर्न सहज भयो,' आग्रह भन्छन्, 'परिवारबाट यो कामका लागि पूर्ण समर्थन र सहयोग मिलेको छ। अनि हौसला पनि थपिएको छ।'
हुन पनि उनीहरू व्यवसायमा आफ्ना नजिकका मान्छेबाट समर्थन नमिले गाह्रो हुने मान्यता राख्छन्।
तर महामारी समयमा खुलेको १२ थरीलाई टिकाउन उनीहरूलाई निकै चुनौती भएको छ।
सुनिम भन्छन्, 'व्यवसाय सुरू गरेपछि त्यसलाई टिकाउन र निरन्तरता दिन सबभन्दा चुनौतीपूर्ण रहेछ। रेस्टुरेन्ट उद्घाटन गरेको केही समयमै लकडाउन भएपछि हामी आत्तियौं पनि। तर दुई साथीको आत्मविश्वास र भरोषाले यसलाई टिकाएको छ। पहिल्यै हार मानेको भए यतिबेला रेस्टुरेन्ट बन्द भइसक्थ्यो होला।'
१२ थरीले रेस्टुरेन्टमा बसेर खानेसँगै डेलिभरी पनि गर्छ। यसनिम्ति उनीहरूले भोज र फुडमान्डु जस्ता डेलिभरी कम्पनीसँग सहकार्य गरेका छन्।
हालसम्म रेस्टुरेन्टको खाना र सेवामा ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको सुनिम बताउँछन्।
उनीहरूको भावी योजना भने १२ थरीको नेपालभर १२ वटा आउटलेट खोल्ने हो।
'काठमाडौंसँगै अन्य जिल्लामा गरी १२ वटा आउटलेट खोल्ने योजना छ। यसका लागि हामी अध्ययन गरिरहेका छौं,' आग्रहले भने।
रोजगारीका लागि विदेसिनेबारे कहिल्यै नसोचेको बताउने उनीहरू नेपालमै राम्रो अवसर भएको विश्वास राख्छन्। त्यसैले व्यवसायसँगै आफ्नो पढाइलाई निरन्तरता दिने पक्षमा छन्। अवस्था सामान्य भएसँगै स्नातकोत्तर भर्ना हुने उनीहरूले बताए।
दुई बालसखा भन्छन्, 'गर्ने इच्छा र प्रतिज्ञा राखे यहीँ थुप्रै अवसर छन्। आफ्नै देशमा मेहनत गर्दा सन्तुष्टि पनि बेग्लै मिल्छ।'
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)