सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
अध्ययनका लागि विदेशिने अधिकांश नेपाली युवा पढिसकेपछि उतै काम थाल्छन्। अनि त्यतै 'सेटल' हुन्छन्।
पाटनकी लुमन्ती शाक्य भने फ्रान्समा पाँच वर्ष पढेर फर्किइन्। हस्पिटालिटी म्यानेजमेन्ट विषय पढेकी उनी यसै सम्बन्धी व्यवसाय गर्ने सोचसहित फर्केकी थिइन्।
'मलाई आफ्नै देशमा व्यवसाय गर्ने इच्छा थियो,' लुमन्तीले सेतोपाटीसँग भनिन्, 'विदेशमा जति परिश्रम गरे पनि कसैले चिन्दैन। यहाँ नाम र दाम दुवै कमाउन सकिन्छ।'
योजना बनाएर फर्के पनि लुमन्तीले पढाइभन्दा फरक व्यवसाय अँगालिन्, सुन जलप लगाएका गरगहनाको।
यो बाटो मोडिनुको कारण उनको नेपालबाहिर घुमफिर र किनमेलमा रूचि हो।
उनी भन्छिन्, 'बाहिरी बजारको अनुभवले होला, यहाँ गुणस्तरीय सामान पाउनै गाह्रोजस्तो लाग्यो। पाए पनि धेरै महँगो। अझ बाहिर चल्तीमा भएका सामान त दुई/तीन वर्षपछि मात्रै नेपाल आइपुग्ने। त्यसैले म सपिङका लागि विदेशी बजार नै रोज्थेँ।'
विदेशबाट आउँदा उनी साथीहरूलाई पनि थरीथरी उपहार ल्याइदिन्थिन्। साथीहरूले सामान मनपराउँथे। विस्तारै साथीहरूले गरगहना पनि ल्यादिन भन्न थाले।
त्यसपछि उनलाई जानुअघि नै अर्डर लिएर सामान ल्याउन सके घुम्ने खर्च जुट्थ्यो भन्ने लाग्यो। अनि लुमन्ती र उनकी बहिनी मिजला मिलेर बैंककबाट सुन जलप लगाएका गहना ल्याए। इन्स्टाग्राममा तस्बिरहरू राखे।
'बहिनी र मैले सामानका फोटा राख्यौं। धेरैले मनपराए र केहीबेरमै अर्डर आउन थाल्यो। अनि यस्ता सामानको माग नेपालमा धरै रहेछ भन्ने जानकारी भयो,' लुमन्तीले भनिन्।
उनीहरूले नेपालमै यी सामान उत्पादन गर्न सके झन् राम्रो हुने सोचे। अनि व्यवसाय अगाडि बढाउन आमाबुबासँग सल्लाह लिए।
'हामी दुई छोरी मात्रै, छिमेकी र आफन्तले जहिल्यै तिमीहरूका छोरा छैनन् भन्ने। त्यसले गर्दा पनि आमाबाबाले हामीलाई सानैदेखि आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो,' लुमन्तीले भनिन्।
परिवारको पनि साथ पाएपछि शाक्य दिदीबहिनीले सन् २०१८ मा कम्पनी दर्ता गरे, नाम राखे 'थेरापी'।
गहना व्यवसायमा यस्तो नाम कसरी रोजे?
लुमन्तीले यसको कारण खुलाइन्। उनको किनमेल गन्तव्य प्रायः बैंकक हुन्थ्यो। कतिपय साथीले 'एउटै ठाउँमा धेरै जान दिक्क लाग्दैन' भनेर सोध्थे।
'बैंकक मेरा लागि थेरापी हो भन्थेँ। पछि यसैलाई कम्पनीको नाम राख्न उपयुक्त ठानेँ,' अहिले व्यवसाय चलाइरहँदा पनि 'थेरापी' जस्तै महुशुस हुने उनी बताउँछिन्।
थेरापीमा झुम्का, मुन्द्री, सिक्री, औंठी, नेकलेस, टप लगायत गहना पाइन्छ। यी सबै हातैले बनेका हुन्। लुमन्तीका अनुसार तामाले बन्ने यी गहनामा परम्परागत प्रविधिअनुसार २४ क्यारेट सुनको जलप लगाइन्छ। डिजाइन गर्ने बेग्लै मान्छे छन्।
'आमाले चिन्नुभएको मान्छे राजस्थानबाट तालिम लिएर आउनुभएको रहेछ। हामीले डिजाइनको कुरा गर्ने बित्तिकै सबै बुझिहाल्नुभयो,' लुमन्तीले भनिन्, 'त्यसपछि देशकै उत्पादन बिक्री गर्न थाल्यौं।'
उनीहरूसँग ११ सय ९० देखि तीन हजार आठ सय ९० रूपैयाँसम्मका गहना छन्।
'सुनको भाउ महँगो भएकाले जलप लगाएका गहना पनि महँगै हुन्छ। पत्थर र मोती राखिएकाको झन् बढी पर्छ,' उनले भनिन्।
मूल्य बढी परे पनि सामान गुणस्तरीय भएकाले रूचाइएको उनी बताउँछिन्। सुरूमा त उनलाई काठमाडौंका युवापुस्ताले मात्रै मनपराउलान् भन्ने लागेको थियो। पछि देशैभरका किशोरदेखि ६० वर्ष उमेरसम्मकाले माग गरे।
अहिले ५० प्रतिशतभन्दा बढी माग उपत्यका बाहिर, पोखरा, धरान, विराटनगर, चितवन, झापा लगायत जिल्लाबाट आउँछ। त्यस्तै विदेशबाट पनि माग आइरहेको छ।
'भारत र धेरै नेपाली बस्ने अस्ट्रेलिया, हङकङ, अमेरिका, बेलायत लगायतबाट अर्डर आएको छ। तर कोभिडका कारण पठाउन सकिएको छैन,' उनले भनिन्।
कोरोना लकडाउनका कारण आन्तरिक बजार विस्तारमा भने सहयोगै पुगेको उनले बताइन्। अनलाइन बजार भएकाले थेरापी त्यो बेला झनै फस्टायो। सामाजिक सञ्जालमा पछ्याउनेहरू पनि बढे। अघिल्लो वर्ष थेरापीको इन्स्टाग्राममा पाँच हजार फलोअर्स थिए, अहिले बीस हजार नाघिसके। मानिसहरू फुर्सदिलो हुँदा अनलाइनमा संलग्नता बढेको लुमन्तीको अनुमान छ।
निषेधाज्ञामा सामान अर्डर आइरहे पनि डेलिभरी सहज भएन। प्रहरीले सवारी रोकेर राखिदिने भएकाले समस्या भएको उनले बताइन्। व्यवसायमा पनि केही असर पर्यो। तर अधिकांश व्यवसाय ठप्प हुँदा थेरापी थोरै भए पनि चलिरहेकाले उनीहरू खुसी थिए।
थेरापी जम्मा ५० हजार रूपैयाँ लगानीमा सुरू भएको हो। आफ्ना अनावश्यक खर्च कटौती गरेर व्यवसाय सुरू गर्न सकिन्छ भन्ने लुमन्तीले पहिल्यै बुझेकी थिइन्।
'धेरै लगानी गरे चल्छ/चल्दैन भन्ने डर थियो। त्यसैले सानो लगानीबाट सुरू गर्यौं,' उनले भनिन्, 'व्यापार राम्रो हुँदै गएपछि आत्मविश्वास बढेको छ। अहिले मासिक व्यापार नै छदेखि नौ लाख रूपैयाँसम्मको हुन्छ।'
व्यवसायबाट तीन परिवारका १२ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका पनि उनले जानकारी दिइन्।
थेरापीबाट सिजनअनुसार वर्षमा चार पटकसम्म गहनाका नयाँ डिजाइन तयार हुन्छ। डिजाइनअनुसार गहना तयार गर्न भने समय लाग्छ। पछिल्लो समय सुनको भाउ आकासिएकाले पनि जलप गहनाको माग बढेको लुमन्तीको बुझाइ छ।
'सुन तोलाकै ९० हजार बढी भयो। फेरिफेरि गहना लाउने अवस्था भएन। त्यसैले जलप गहनाको प्रयोग बढ्न थालेको छ,' उनले भनिन्।
यस्ता गहना खुइलिए पनि जलप लगाएर पुनः प्रयोग गर्न मिल्छ। पुनः जलप लाउँदा खासै महँगो नपर्ने उनी बताउँछिन्। गहना पनि पहिलेजस्तै सुन्दर हुन्छ। भाँचिएमा पगालेर बनाउन सकिन्छ। मर्मत शुल्क गहना हेरेर दुई सय पचासदेखि सुरू हुन्छ।
लुमन्तीका अनुसार धेरै धातु मिसाएर बनाइएका गहनामा जलप लाउन मिल्दैन। त्यसैले थेरापीले तामाबाट गहना बनाउँछ। एकपटक किनेपछि जलप लाउँदै जीवनभर प्रयोग गर्न सकिने उनको भनाइ छ।
तर धेरैलाई पुनः प्रयोगबारे जानकारी नहुँदा यस्ता गहना खुइलिएपछि फाल्छन्। पछिल्लो समय भने ग्राहकले बुझ्दै गएको उनको अनुभव छ। फेरि जलप लाएर गहना प्रयोग गर्ने उपभोक्ता बढ्दै गएको उनी बताउँछिन्।
लुमन्तीको अबको सोच भनेको पसलै खोलेर व्यवसाय चलाउने हो। यसनिम्ति पोहोरै योजना बने पनि कोरोनाले अघि बढ्न सकेन।
'ठाउँ पाएर डिजाइन पनि गरिसकेका थियौं, लकडाउन भइदियो। दोस्रोपटकको तयारी पनि यही कारणले रोकियो। अब समय सामान्य भएपछि खोल्ने तयारी छ,' उनले भनिन्।
अहिले पाटनमा एउटा स्टुडियो भने छ। कोही ग्राहकले हेरेर मात्रै गहना किन्ने भने स्टुडियो जान सक्छन्।
लुमन्तीको फेसनमा पनि रूचि भएकाले गहनासँगै कपडा र सजावट सामान पनि थप्ने योजना छ। अनि आफ्ना उत्पादन विश्व बजारमा पुर्याउने लक्ष्य लिएकी छन्। तर सुन जलपका गहना निर्यात प्रक्रिया झन्झटिलो भएकाले बाधा पनि छ।
'गोल्ड प्लेटेड भनेपछि एकदमै झन्झटिलो रहेछ। सुनै होला भनेर शंका गरेर समस्या बनाइदिने,' उनले गुनासो गरिन्, 'हामीले जलप लगाएका गहना बेच्ने लाइसेन्स लिएपछि निर्यात गर्न सहज बनाइदिनुपर्ने हो!'
देशमै व्यवसाय गर्न चाहने युवालाई सरकारले सहुलियत कर्जा उपलब्ध गराउनुपर्नेमा उनको जोड छ।
गहना व्यवसायमा रूचि भएकालाई उनी सुझाव पनि दिन्छिन्, 'अरूको व्यवसाय चलेको देखेर यो व्यवसायमा नलाग्नुस्। मनैदेखि इच्छा भए बल्ल बजारमा स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ। सफल पनि भइन्छ।'
(थेरापीको इन्स्टाग्राम लिंक)