सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
दुई वर्षअघि प्लस-टु सकेपछि वर्षा मानन्धर फुर्सदमा थिइन्। स्नातक गर्न अस्ट्रेलिया जाने सोच थियो। त्यसकै तयारीमा लागिन्। तर जब उनले आमाबुवासँग मिलेर सानो व्यवसाय थालिन्, जीवनले अर्कै मोड लियो।
वर्षाले आमाबुवाको सहयोगमा 'धागोको चुरा' सुरू गरिन्। धागोको चुरामा विभिन्न डिजाइनका चुरा पाइन्छ। मुख्यतयाः यसले ग्राहकको डिजाइनअनुसार काँचको चुरालाई धागोले बेरेर बुट्टा भरिदिन्छ।
वर्षाले यो काम प्लस-टु परीक्षा सकेर मिलेको फुर्सदमा सुरू गरेकी थिइन्।
'घर बस्दा आफैंले बनाउन सक्ने कुराहरू सिक्न थालेँ। त्यही बेला ममीको पुरानो चुरामा धागो बेर्दै बुट्टा बनाउन थालेँ,' १९ वर्षीया वर्षाले भनिन्, 'समय बिताउन त्यसो गरेकी थिएँ तर राम्रो बन्यो।'
वर्षालाई त्यसरी धागोको चुरा बनाउन आमा सुशीला र बुवा विमेशले सघाए। सुशीला जनप्रभात माध्यमिक विद्यालयमा शिक्षक छन्। विमेशले भने यतिबेला कामबाट केही समयका लागि 'ब्रेक' लिएका छन्।
उनीहरूलाई पुराना काँचको चुरामा धागोले बेरेर नयाँ डिजाइनमा चुरा बनाउने आइडिया मनपर्यो। त्यसपछि नै यसलाई व्यवसायिक हिसाबले अघि बढाउने सोचेको सुशीला बताउँछिन्।
'नेपालमा प्रायः धागोको चुरा व्यवसायी देखेका थिएनौं। यो आइडिया बजारमा बिक्ने सोचले व्यवसायिक रूपमा अघि बढायौं,' सुशीलले भनिन्, 'नयाँ डिजाइनको भएर होला अहिलेसम्म ग्राहकहरूले मन पराइदिनुभएको छ। सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाइरहेका छौं।'
धागोको चुरा बनाउन चाहिने सामग्रीको जोहो र डेलिभरीको पाटो सुशीलाले नै सम्हालेकी छिन्। यसको डिजाइन र ग्राहकसँगको 'डिल' भने वर्षाले हेर्छिन्।
झट्ट सुन्दै धागोले बनाएको चुरा भन्ने बुझियोस् भन्ने सोचमा आफ्नो व्यवसायको नाम 'धागोको चुरा' राखेको वर्षाले खुलाइन्, 'गाह्रो नाम राख्दा सम्झिन मुश्किल हुन्छ। धागोको चुरा भन्दा सुन्दै याद हुने र नेपाली नाम पनि हुने।'
धागोको चुराको माग प्रायः विवाह र चाडपर्वमा बढी हुन्छ। विवाहमा दुलहीको नाम लेखेका चुरा र अन्य विशेष पर्वमा रंगीन धागोले बनाइएको चुराको माग बढी हुने वर्षाले बताइन्। उनीहरू काँचको चुरामा रेशमको धागो प्रयोग गर्छन्।
काँचको चुरा प्रयोग गर्नेबारे उनी भन्छिन्, 'हाम्रो लक्षित ग्राहक विवाहित महिला हुनुहुन्छ। विवाहित महिलामध्ये धेरैले काँचको रूचाउनु हुन्छ। त्यसैले काँचकैमा बढी ध्यान दिएका हौं।'
धागोको चुरा बनाउन चाहिने सामग्री (चुरा, धागो र गम) उनीहरू भारतबाट आयात गर्छन्। एकमुस्ट सामान किन्दा सस्तो हुने भएकाले उताबाट मगाउने वर्षाले बताइन्।
गमको भरमा धागो चुरामा अड्याइन्छ। त्यसैले चुरालाई लामो समय पानीमा भिजाउनु हुँदैन। उनीहरू चुरा डेलिभरी गर्ने बेलामा यो कुरा ग्राहकलाई बताउँछन्। जसले गर्दा ग्राहकहरू आफूले लगाउने चुरा कति समय टिक्छ भन्नेबारे सतर्क हुन सक्छन्।
त्यस्तै डेलिभरी समयमा ग्राहकको चुरा बिग्रिएमा भने उनीहरूले त्यसको क्षतिपूर्ति गरिदिन्छन्।
धागोको चुरामा पाइने चुराहरू डिजाइन अनुसार बनाउन समय लाग्छ। साधारण चुरा बनाउन करिब एकदेखि डेढ घन्टा लाग्छ भने दुलहीका लागि नाम लेखिएको बनाउन चार घन्टासम्म लाग्छ। यी चुरा सेटमा बन्छ। कुनै सेटमा दर्जनबढी हुन्छ भने कुनैमा अलि कम। डिजाइनअनुसार प्रत्येक सेटको एक सय पचास रूपैयाँदेखि नौ सयसम्म पर्छ।
वर्षाका अनुसार अहिलेसम्म धागोको चुरासँग १५ सयभन्दा बढी ग्राहक जोडिसकेका छन्। त्यस्तै २५ सयभन्दा बढी सेट बिक्री भएको छ। यतिबेला कोरोना महामारी र निषेधाज्ञाका कारण डेलिभरी रोकिएको छ। तर सामान्य दिनमा सिटी एक्सप्रेसमार्फत डेलिभरी हुन्छ।
धागोको चुरा आधिकारिक रूपमा २०७६ साल जेठदेखि सुरू भएको हो। वर्षाले सुरूमा पुराना चुराबाट बनाएका नयाँ धागोका चुरा इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा पोस्ट गरिन्। त्यस्तै आफ्ना आफन्तलाई पनि दिएर उनीहरूको प्रतिक्रिया लिइन्। सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएपछि नै आफूमा व्यवसाय गर्ने दृढता बढेको वर्षाले महशुस गरिन्।
उनले धागोको चुरा सुरू गर्न र यसको बजार बुझ्न पनि समय खर्चेकी छन्। बजार अवलोकन गरेपछि नै आफ्नो उत्पादनमा विश्वास गरेको उनी बताउँछिन्।
'चुरामा धागो बेर्दा कतिपल्ट फुस्कियो। कतिपल्ट आफूले सोचेजस्तो भएन,' उनले भनिन्, 'कहिलेकाहीँ दिक्क लाग्थ्यो। तर व्यवसाय गर्ने अठोटले निरन्तरता दिएँ।'
यही लगनले आज बजारमा उत्पादनलाई विस्तार गर्न सकेको उनी बताउँछिन्।
छोरीले सानै उमेरबाट आफैं व्यवसाय सुरू गरेकामा वर्षाका आमाबुवा पनि खुसी छन्। आमा सुशीलाका अनुसार वर्षा सानैदेखि हस्तनिर्मित सामग्री बनाउन र 'ओरिगामी' गर्न साह्रै रूचाउँथिन्।
'सानैदेखि हरेक गतिविधिमा सक्रिय छिन्। कागजबाट विभिन्न सजावटी सामग्री बनाउँथिन्,' उनले भनिन्।
वर्षाले यसमै थपिन्, 'सानो छँदाको रूचिले नै यस्तो नौलो व्यवसाय सुरू गर्न प्रोत्साहन मिल्यो भन्ने लाग्छ।'
वर्षा सानैदेखि पुराना सामग्रीलाई पुनः प्रयोग गर्न सकिने 'थ्री-आर' अर्थात् 'रिड्युस, रियुज र रिसाइकल' को सिद्धान्तमा विश्वास राख्थिन्। अहिले उनले सम्हालिरहेको व्यवसाय पनि यिनै सिद्धान्तबाट सुरू भएको भन्दा फरक पर्दैन।
शून्य लगानीबाट व्यवसाय सुरू गरेकी वर्षा आफूले चाहेको उपलब्धि पाउन आर्थिक स्रोतले नरोक्ने मान्यता राख्छिन्। उनी भन्छिन्, 'मैले घरमै भएको सामग्रीबाट काम थालेकी हुँ। हाम्रो वरिपरि नै थुप्रै अवसर छन्।'
धागोको चुरा व्यवसाय सम्हाल्न थालेपछि उनको अस्ट्रेलिया जाने योजना पनि दिमागबाट हराएको छ। बरू नेपालमै केही गर्न सकिने रहेछ भन्ने उदाहरण बनेकी छन्। अहिले उनी एसियन स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीबाट बिआइएममा स्नातक तेस्रो सेमेस्टर अध्ययनरत छिन्। आजकल अनलाइनबाट कक्षा हुँदैछ।
भौतिक कक्षा सुरू भए पनि धागोको चुरालाई निरन्तरता दिन सक्नेमा उनी सकारात्मक छिन्। भन्छिन्, 'आफूले गर्छु भनेर लागे जुनसुकै पनि काम गर्न समय मिलिहाल्छ।'
धागोको चुराले भविष्यमा आफ्नो आधिकारिक वेबसाइट बनाएर व्यवसाय बिस्तार गर्ने योजना बनाएको छ। वर्षा यसको भौतिक पसल सञ्चालन गर्ने पक्षमा भने छैनन्। किनभने उनी ग्राहकको मागअनुसारको डिजाइनमा चुरा बनाउँछिन्।
१९ वर्षमै उद्यमी बनेकी वर्षा अवसर नमिले आफैं बनाउनुपर्छ भन्ने मान्यता राख्छिन्। भन्छिन्, 'हामीले अवसर छैन भन्नुभन्दा अवसर बनाउनुपर्छ। आत्मबल भए कुनै पनि कामलाई आर्थिक श्रोतको रूपमा स्थापना गर्न सक्छौं।'
सबै तस्बिर सौजन्यः वर्षा मानन्धर/धागोको चुरा
(धागोको चुरासँग फेसबुक पेजमार्फत वा ९८६०३१२६५८ मा सम्पर्क गर्न सकिन्छ)