दिदीबहिनी शुभेच्छा र स्वेता श्रेष्ठ सानैदेखि 'डिआइवाइ- डु इट योरसेल्फ' अर्थात् पुराना सामग्रीलाई उपयोगी वस्तुमा परिणत गर्न सिपालु थिए।
उनीहरू दुवै 'ट्राभल्स एन्ड टुरिजम' पढिरहेका छन्। शुभेच्छा स्नातक अन्तिम सेमेस्टर र बहिनी स्वेता पहिलो सेमेस्टरमा छिन्। पढाइकै व्यस्तताले उनीहरूले आफ्नो इच्छाको काममा समय दिन भ्याएका थिएनन्। तर, कोरोना महामारीसँगै आएको लकडाउनले उनीहरूलाई फुर्सद दियो।
'लकडाउनमा हाम्रो रूचिलाई निरन्तरता दिन सक्यौं। बहिनी र मैले बुन्न सिक्यौं,' शुभेच्छाले आमा सरिताबाट बुन्न सिकेको बताइन्।
ऊनबाट 'ड्रिम-क्याचर' बनाउन दुवैलाई पहिल्यै आउँथ्यो। तर बुनाइ लकडाउनमा सिकेको शुभेच्छा बताउँछिन्। भनिन्, 'हामीले विभिन्न डिजाइनमा टोपी, स्क्रन्चिज (कपाल बाँध्ने) बनाउन सिक्यौं। आमासँग बुन्न र सिलाइ सिकेकाले फुर्सदमा ऊन र कुरुस चलाउँदै बस्यौं।'
सीप निखारिँदै गएपछि उनीहरूले सोच बनाए- बनाएको सामग्रीका फोटा सामाजिक सञ्जालमा राख्ने।
असोज पहिलो साता, लकडाउन खुकुलोभएसँगै उनीहरूले 'लिटल स्टफ्स' नाममा इन्स्टाग्राम खाता खोले। र, आफूहरूले बनाएका सामग्रीका फोटा हाल्न थाले। शुभेच्छाका अनुसार इन्स्टाग्राममा उनीहरूलाई धेरैले सोधे, 'यी सामग्री बेच्नका लागि हुन्? मलाई पनि बनाइदिनू न।'
उनीहरूले बेच्नै भनेर धेरै मात्रामा सामान बनाएका थिएनन्। ख्यालख्यालमा सुरू गरेको कामबारे आएका जिज्ञासाले नै उनीहरूलाई व्यवसाय गर्न हौस्यायो। यही कामलाई व्यावसायिक ढंगले अगाडि बढाउने मनसाय बनाए। उनीहरूलाई आमाको पनि सहयोग र समर्थन मिल्यो।
'ममी, म र बहिनी मिलेर सानो व्यवसाय नै सुरू गर्ने सल्लाह गर्यौं। सबैजना फुर्सदमा थियौं। जानेको सीप उपयोग र पकेट खर्च पनि हुन्छ भन्ने सोचेर लिटल स्टफ्स सुरू गरेका हौं,' सह-संस्थापक पनि रहेकी शुभेच्छाले भनिन्।
शुभेच्छा र स्वेताकी आमा सरिताले विवाहअघि नै बुनाइ सिकेकी हुन्। एक संस्थामा कार्यरत उनलाई पनि कामबाट फुर्सद मिल्थेन। लकडाउनले घर बस्ने मौका दियो। त्यही समयमा छोरीहरूलाई बुनाइ सिकाएको र आफैं समेत उनीहरूसँग मिलेर व्यवसाय सुरू गरेको बताउँछिन्।
'पुरानो कपडाको चकटीहरू बनाउथेँ। कामले गर्दा बानी छुटेको थियो,' सरिताले भनिन्, 'लकडाउन फुर्सदमा ती काम फेरि गर्न भ्याएँ। युट्युब हेर्दै नयाँ-नयाँ डिजाइनमा बुन्न सिकेँ। छोरीहरूलाई पनि सिकाएँ।'
छोरीहरू सानो छँदा सरिता आफैंले स्विटर, टोपी, मोजा बुनेर लगाइदिन्थिन्। अहिले त शुभेच्छा २३ र स्वेता १९ वर्षका भइसके। सरितालाई बुनाइमा विशेष रूचि छ। यसमा उनका श्रीमानले समेत प्रोत्साहन गर्ने सरिता बताउँछिन्।
'अहिले छोरीहरूले सुरू गरेको काममा उहाँले स्याब्बासी दिनुहुन्छ। आफूले सक्ने मद्दत गर्नुहुन्छ,' सरिताले पारिवारिक सहयोगले काममा सकारात्मक प्रभाव पार्ने बताइन्, 'पढाइसँगै नयाँ काममा हात हालेको देख्दा मलाई पनि खुसी लागेको छ।'
शुभेच्छा र स्वेताले बुनाइ जाने पनि 'फिनिसिङ' मा अझै निखार नभएकाले आमा सरिताले नै सघाउँछिन्। ड्रिम-क्याचर बनाउन भने दुवै पोख्त छन्।
अचेल शुभेच्छा, स्वेता र सरिता फुर्सदमा 'लिटल स्टफ्स' बनाउन बस्छन्। लिटल स्टफ्स अर्थात् साना सामग्री। यहाँबाट बन्ने सामान हेर्दा साना तर चिटिक्कका हुन्छन्।
विगत तीन महिनादेखि लिटल स्टफ्सले कसैलाई उपहार दिन मिल्ने र आफ्नै घरमा सजाउन उपयोगी सामान बनाउँदै आएको छ।
हाल यहाँबाट किरिङ, झुम्का, ड्रिम-क्याचर, स्क्रन्चिज, टोपी, स्यानिटाइजर होल्डर, मोबाइल स्ट्यान्ड लगायत 'कस्टमाइज्ड' (ग्राहकले भनेजस्तै) सामान बन्छ। उनीहरूले ड्रिम-क्याचर त एक इन्चदेखि ३६ इन्चसम्मको बनाएका छन्। मागअनुसार योभन्दा ठूलो पनि बनाइन्छ।
'बजारमा पाइने तुलनामा लिटल स्टफ्सको ड्रिम-क्याचरको फिनिसिङ राम्रो भएको ग्राहकबाट प्रतिक्रिया आएको छ,' शुभेच्छाले भनिन्, 'हामी ड्रिम-क्याचरको फिनिसिङमा बढी ध्यान दिन्छौं। त्यसैले ऊन फुक्का र छरपस्ट देखिँदैन। ग्राहकले यसै भन्नुहुन्छ।'
लिटल स्टफ्सका सामान एक सयदेखि २५ सय रूपैयाँसम्मका छन्। यो ग्राहकको माग र डिजाइनअनुसार फरक पर्छ। यहाँको विशेष भने ड्रिम-क्याचर नै हो। उनीहरू मौसम र मागअनुसार नयाँ सामान बनाउने तयारी पनि गर्दैछन्। यसको सुरूआत जाडोमा ऊनको स्कार्फ र मोजाबाट हुँदैछ।
यहाँबाट बन्ने सामान सबै वातावरणमैत्री भएको शुभेच्छा दावी गर्छिन्। सामान प्याकेजिङका लागि उनीहरू आफैं कागजको झोला बनाउँछन्। त्यसलाई राम्रो देखाउन रिबन र लिटल स्टफ्सको लोगोले सजाउँछन्।
सुरूका दिनभन्दा अहिले राम्रो व्यवसाय भइरहेको शुभेच्छाले बताइन्। उनका अनुसार फुर्सदमा सामान बनाउने भएकाले पढाइमा असर परेको छैन। अहिले दुवैले अनलाइनबाट कक्षा लिइरहेका छन्। पछि कलेज जाने भए पनि यो कामलाई फुर्सद मिलाएर समय दिने उनीहरू बताउँछन्।
शुभेच्छालाई लिटल स्टफ्स अनलाइनमा मात्र नभइ ब्रान्डका रूपमा स्थापित योजना छ। यसका लागि बढीभन्दा बढी प्रकारका सामान बनाउँदैछन्।
आफ्नो व्यवसायसँगै घर गृहिणीहरूलाई आम्दानीको स्रोत खोलिदिने लिटल स्टफ्सको दीर्घकालीन योजना हो। यसका लागि उनीहरू छर-छिमेकबाट सुरू गर्दै समुदायमा जाने बताउँछन्।
'लिटल स्टफ्सलाई ठूलो व्यवसाय बनाउने सोच छ,' शुभेच्छाले भनिन्।
(लिटल स्टफ्ससँग फेसबुक पेज, इन्स्टाग्राम वा ९८४०३५३७६० मा सम्पर्क गर्न सकिन्छ)