आज यःमरि पुन्ही। नेवार समुदायको यो विशेष पर्वमा धेरैका घरमा यःमरि पाक्छ।
चामलको पिठोभित्र चाकु वा खुवा हालेर बफाएर पकाइने परिकार यःमरि हो जुन स्वादिलो अर्थात 'माक्कुसे' हुन्छ।
शाब्दिक अर्थ नै मनपर्ने रोटी भएको यःमरि अचेल बोलिचालीमा योमरी भइसकेको छ। यसको महत्व पनि यःमरि पुन्हीमा मात्र रहेन। सहरका गल्ली-गल्लीमा भेटिने रैथाने नेवारी खाजाघरमा यःमरि पाइन्छ।
झन् 'यःमरि कर्नर' ले त 'फ्रोजन यःमरि' नै बजारमा भित्र्याएको छ। झन्डै दुई वर्षअघिदेखि यहाँबाट फ्रोजन यःमरि बिक्री गरिँदै आएको छ।
पिठो र पानीको मात्रा नमिल्दा यःमरि फुट्ने, चाकु बढी लेदो भएर बग्ने र आकारै नमिल्ने समस्या धेरैलाई हुन सक्छ। त्यसैगरी, अहिलेको व्यस्त जीवनशैलीमा घरमा यःमरि पकाएर खाने फुर्सद पनि कमैलाई हुन्छ।
यिनै समस्या मध्यनजर गर्दै फ्रोजन यःमरि अवधारणा ल्याएको सञ्चालकहरू बताउँछन्। फ्रोजन यःमरि किन्यो, घर लगेर बफाएर खायो। कति सजिलो!
'व्यस्तताका कारण अचेल घरमा बनाएर खानभन्दा सजिलो र छिटो विकल्प खोज्छौं। यःमरि पाक्न जति सजिलो हुन्छ तयार गर्न उत्तिकै समय लाग्छ। यस्तोमा फ्रोजन भए घर लगेर सजिलै पकाएर खान सकिन्छ,' यःमरि कर्नरका सह-संस्थापक सुमन केसीले भने।
२०७५ सालको जाडो मौसमतिर सुमन र उनको बाल्यकालका साथी विजय कार्की मिलेर फ्रोजन यःमरिको अवधारणा निकालेका हुन्। यसमा सुमनकी श्रीमती पुष्पा डंगोलले सहकार्य गरिन्। पुष्पा यःमरि कर्नरको उत्पादन क्षेत्र सम्हाल्छिन्। मार्केटिङ लगायत व्यापारिक पाटो भने सुमन र विजयले हेरिरहेका छन्।
सुमन र विजय सँगै हुर्केका हुन्। सानो हुन्जेल पढाइ भन्दै बित्यो। ठूलो भएपछि जागिर र आ-आफ्नो घर बसाउन थाले। दुरी बढ्न थाल्यो।
'काम, घर-परिवार भन्दाभन्दै कहिल्यै फुर्सद मिलेन। भेट्न समय मिलाउन दुवैलाई हम्मे पर्थ्यो,' सुमनले भने, 'तर एक दिन हामी भेट्यौं। दुई जना साथी निकै कुरा गर्यौं। दुवैको क्याफे खोल्ने सोच खुल्यो। अनि सँगै गरौं भनेर लाग्यौं।'
दुवै जनालाई केही नयाँ र पृथक आइडियामा काम गर्नु थियो। के गर्ने, निधो थिएन।
त्यो यःमरि पुन्हीको बेला थियो। त्यही बेला पुष्पाकी साथी गीता महर्जनले घरमा यःमरि बनाएर ल्याइदिइछन्। यःमरि कर्नर सुरू गर्ने आइडिया त्यहीँबाट फुरेछ। पृष्ठभूमि बताउँदै सुमन भन्छन्, 'मलाई यःमरि मनपर्ने। तर खान पुन्ही नै कुर्नुपर्ने हुन्थ्यो। हरेक समयमा खान मिल्ने हिसाबले यसको व्यवसाय गरौं भन्ने भयो।'
त्यसबेला उनीहरूलाई पुष्पा र एकजना अर्का साथीले सघाए। फ्रोजन यःमरिको अवधारणा राम्रो भए पनि यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा उनीहरू अनभिज्ञ थिए। यसबारे बुझ्न पहिले फ्रोजन खानाबारे अध्ययन गरे। बजार अवलोकन गरे। र, ६ महिना परीक्षणमा बसे।
'एक दिनदेखि ६ महिनासम्म फ्रोजन गरेको यःमरि कस्तो हुन्छ भन्ने परीक्षण गर्यौं। फुट्नबाट जोगाउने लगायत हरेक तरिका बुझ्यौं,' अर्का सह-संस्थापक विजय भन्छन्, 'परिपक्व र आफैंमा आत्मविश्वास नहुन्जेल हामी बजार प्रवेश गरेनौं।'
परीक्षण सकेर उनीहरू २०७६ साल वैशाखदेखि व्यवसायिक ढंगले अघि बढे। लाजिम्पाटमा एउटा सानो सटर भाडामा लिए र त्यहीँबाट सुरू गरे 'यःमरी कर्नर'।
'पसलको नाम यःमरि सम्बन्धित राख्ने सोच थियो। कुनामा भएकाले कर्नर पनि थप्यौं,' ब्रान्डको नाम राख्दाको पृष्ठभूमि सुनाउँदै सुमनले भने।
यःमरि भन्ने बित्तिकै धेरैले यसलाई बनाउँदा बनाउँदै खाने खानाको सूचीमा राख्छन्। त्यसैले टोलीलाई यसले बजारमा कस्तो प्रतिक्रिया बटुल्ला भन्ने ठूलो चिन्ता थियो। भाग्यवश, फ्रोजन यःमरि धेरैले रूचाए।
'फ्रेस खाना भनेको फ्रेस नै हुन्छ। तर फ्रोजन भन्दैमा स्वादमा बिल्कुल भिन्न हुन्छ भन्ने होइन,' सुमनले यसको स्वादबारे स्पष्ट पार्दै भने। उनका अनुसार यो यःमरि ६ महिनासम्म केही हुँदैन। तर बजारमा ग्राहकले त्यति लामो समय भण्डारण गरेको रूचाउन आनाकानी गर्ने सम्भावना भएकाले ३ महिना म्याद राखेका छन्।
यःमरि कर्नरको अर्को विशेषता यहाँ पाइने यःमरिका प्रकार हुन्। यहाँ चाकु र खुवासहित ६ स्वादका यःमरि पाइन्छन्- चिकेन, चकलेट, आलु र भेज मसला पनि।
'यःमरि भन्नेबित्तिकै चाकुको हुन्छ भन्ने धारणा पनि फेर्न खोज्दैछौं,' यःमरि कर्नरमा उत्पादन क्षेत्र सम्हालिरहेकी पुष्पा भन्छिन्, 'कुनै समय चाकुको मात्र यःमरि बन्थ्यो। अचेल खुवा हालेर बनाइन्छ। त्यस्तै अरू सामग्री हालेर पनि बनाउन सकिन्छ भन्ने बुझाउन खोजेका हौं।'
चाकु र खुवाबाहेक अरू स्वादका यःमरिले उति बजार नलिए पनि उनीहरूले बनाउन छाडेका छैनन्।
घरमा यःमरी बनाउँदा वा बजारमा किनेको पनि प्रायः ठूलो आकार र चाकु बढी पग्लिने खालको हुन्छ। यी कुरा ध्यानमा राख्दै उनीहरूले सानो आकारका यःमरि बनाउँछन्।
'कुनै पनि खाना सुरूमा आँखाले खाने हो। त्यसैले, हेर्दा चट्ट देखिने सानो आकारमा बनाएका हौं,' सुमनले भने।
त्यस्तै यःमरिमा हाल्ने चाकु पनि नबग्ने ढंगले तयार पारिएको छ। यी सबै व्यवस्था पुष्पाले गर्छिन्। यःमरि कर्नरबाट कस्तो स्वाद बजार पुग्ने भन्ने ख्याल उनैले राख्छिन्।
यःमरि बनाउन पुष्पाकी साथी गीता महर्जनको सहयोग छ। उनै हुन् जसले पुष्पालाई पहिले यःमरि ल्याइदिन्थिन्। गीतासहित अहिले यहाँ ५ जना कर्मचारी छन्। उनीहरू दैनिक १२ सयदेखि १५ सयसम्म यःमरि बनाउँछन्। हरेकमा पिठो र हाल्ने कुरा तौलेर बनाइन्छ।
'अझै बजार माग भने धान्न सकेका छैनौं,' बजार व्यवसाय सम्हालिरहेका विजय भन्छन्, 'बिस्तारै धान्ने हिसाबले बढाउने योजना छ,' उनीहरू कर्मचारी बढाएर यःमरि बनाउने तर मेसिन प्रयोग नगर्ने सोचमा छन्।
लकडाउन समयमा झन्डै ६ महिना पूर्ण रूपमा व्यवसाय ठप्प थियो। निकै नोक्सान बेहोर्नु परे पनि उनीहरू अहिले पुरानो गति समात्दैछन्।
'कति कुरामा हामी पछि पर्यौं। तर महामारीमा पनि टिक्यौं भनेर सकारात्मक भएर कामलाई निरन्तरता दिँदैछौं,' उनीहरू भन्छन्।
यःमरि बनाउन कर्नरले ललितपुरको लेले गाउँमा तयार भएको खुवा ल्याउँछन्। चाकु टोखाबाट। ताइचिन चामल स्थानीय व्यापारीबाट। यसरी उनीहरूले स्थानीय र घरेलु उत्पादनलाई समेत जोड दिइरहेको सुमन बताउँछन्।
कर्नरको यःमरि मार्टहरू र फुडमान्डु, तातोमिठो, फुडडोर, छिटो मिठो, सजिलो मिल्स लगायत अनलाइन डेलिभरीमा पाइन्छ। यःमरि काठमाडौंभर डेलिभर भएको छ। नेवारहरूको विशेष पर्वमा यःमरि चाहिँदा पनि यहीँबाट लिने ग्राहक छन्।
नेपाली मौलिकता र पहिचान बोकेको खाना यःमरिलाई नेपालीहरूबाटै बेवास्ता भएको हो कि भन्ने उनीहरूको मान्यता छ।
'हामी बाहिरी मिठाइ र खाजामा बढी रूचि देखाउछौं। तर नेपालमै विभिन्न जातीय परिकार छन् जसलाई मिठाइ र खाजाका रूपमा खान सक्छौं,' सुमन भन्छन्, 'भोलिका दिन पार्टी तथा भोजमा यःमरि स्न्याक्सका रूपमा पुर्याउने योजना छ।
विजयका अनुसार यःमरिको अर्डर काठमाडौं बाहिरबाट मात्र होइन, विदेशबाट समेत आएको छ।
'हामी त्यो स्तरसम्म पुगिसकेका त छैनौं। तर दस वर्षमा हाम्रो यःमरि ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना भने छ,' उनले सुनाए, 'यसरी हामी नेपाली परिकार विदेशमा चिनाउन र महत्व बुझाउन सक्छौं।'
पैसाभन्दा बढी समय लगानी गरेको यो व्यवसायलाई सधैं निरन्तरता दिने र लामो योजनासँगै काम गर्न तम्सिएका छन् यहाँका संस्थापकहरू।
बजारमा यःमरि कर्नरको अवधारणामा अरूले पनि फ्रोजन यःमरि बिक्री गर्न थालेका छन्। यसमा उनीहरू सकारात्मक हुँदै भन्छन्, 'प्रतिस्पर्धा बढ्नुलाई सकारात्मक लिएका छौं। हामीलाई हाम्रो परिकारमा पूर्ण विश्वास छ।'
(यःमरि कर्नलाई फेसबुक पेज वा ९८४९०२९०३१ मा सम्पर्क गर्न सकिन्छ।)