'म फ्लप फिल्मको फ्लप प्रोड्युसर,' थमनकुमार भण्डारीले आफ्नो परिचय दिँदै हात बढाए।
करिब एक वर्षअघि 'चियावाला' मा हाम्रो चिनजान यसरी नै भएको थियो। बागमती करिडोरमा फिल्म निर्देशक गणेशदेव पाण्डेले खोलेको चियावालामा विभिन्न स्वादका चिया पाइन्छ। यहाँ चिया पियक्कडको सानोतिनो जमघटै हुन्छ। विशेषगरी, फिल्मकर्मीको।
त्यसपछिका भेटमा थमनले आफ्नो नयाँ योजनाबारे सुनाउन थालेका थिए, 'मकै घर' नामक व्यवसाय सुरू गर्ने।
उनी आफ्नो योजनामा जति उत्साहित थिए, आफूले के गर्ने भन्नेमा उत्तिकै पक्का। फिल्मको स्क्रिप्टझैं उनले आफ्नो नयाँ योजनाबारे सुनाए– मौलिक गाउँको जस्तै शैलीको रेस्टुरेन्ट हुनेछ, जहाँ मौलिक खानाहरू पाइनेछन्।
थमनको योजना बन्दै थियो, त्यही बीच नयाँ रोग कोरोना आइदियो। उनले आफ्नो नयाँ योजना भने फ्लप हुन दिएनन्। लकडाउनका कारण काम अलिकति पछाडि धकेलिए पनि योजना सफल पारेरै छाडे। चियावालाको आडैमा थमनले खोले 'मकै घर'।
बागमती करिडोर हुँदै हामी मकै घर पुग्न सक्छौं, जुन सिम्रिक एयरको ठ्याक्कै अगाडि खोलापारि छ। जसरी निर्देशक पाण्डेले आफ्नो बुवा-बाजेका नामबाट चियावाला खोले, थमनले आफ्नो गाउँ सम्झिएर मकै घर खोलेको बताउँछन्।
'चियावालामा आएरै यो योजना फुरेको भन्दा फरक पर्दैन। हरेक पटक यहाँबाट चिया खाएर यो बाटो हिँड्दै गर्दा मलाई पनि केही गर्ने हुटहुटी जागेको थियो। मेरो हुटहुटीलाई निर्देशक पाण्डेले साथ दिए,' उनले भने।
करिब दुई साताअघि उनले भनेजस्तै रेस्टुरेन्ट तयार गरेर 'प्रि–ओपनिङ' गरिसके। दुई तले घरको विभिन्न ठाउँमा हामी मकैका झुत्ताहरू झुन्ड्याइएको देख्न सक्छौं। बत्तीदेखि बार्दलीसम्म। आँगनमा उनले ढिकी, जाँतो, ठेकी, सुकुलहरू राखेका छन्।
'मेरो प्युठानको घर र यो मकै घर उस्तैउस्तै नै छ। त्यहाँको घरलाई यहाँ सारेको भन्दा पनि हुन्छ,' रेस्टुरेन्टबारे बताउँदै उनले भने, 'कतिपय त घरमै थन्किएर बसेका सामान मैले यहाँ ल्याएको छु। कति भने विभिन्न ठाउँबाट किनेर ल्याएँ। मेरो यति चाहना हो, यहाँ बस्दा मान्छेले आफ्नै गाउँघरमा बसेजस्तो महसुस गरून्।'
अचेल मकै नाम जोडिएर काठमाडौं उपत्यकामै थुप्रै प्रकारका व्यवसाय सञ्चालनमा छन्। त्यसो हुँदा मकै नै नाम जोडिएको अर्को व्यवसाय खोल्नु चुनौती हो। तर थमनले यो चुनौती सामना गर्ने आँट लिएका छन्। यो आँटमा आड थप्न व्यवसायलाई मकैमा मात्र सीमित राखेका छैनन्।
मकैको ढिँडो, रोटी, पिज्जा लगायत मकैका परिकार यहाँका विशेष भए नै। अन्य रेस्टुरेन्टमा पाइने खाना-खाजाका साथै 'बार' पनि छ।
यसबाहेक यहाँको अर्को विशेषता दाङदेखि ल्याइएको बोदिया भाले हो। थमनका अनुसार यसलाई कुखुराको खसी पनि भनिन्छ। जतिबेला कुखुरालाई पोथी र भाले भनेर चिनिन्छ, त्यतिबेला यसको अन्डकोष निकालेर बोदिया बनाइने रहेछ, जसरी पाठोलाई खसी बनाइन्छ।
यहाँका सेफ भारतको पुना र चेन्नईमा काम गरिसकेका थमनका अंकल र भाइ हुन्। बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म खुल्ने मकै घरमा करिब ७० जना एकैसाथ अटाउन सक्ने उनले जानकारी दिए।
'अहिले प्रि–ओपनिङ भएकाले हामी आफैं सिक्ने क्रममा छौं,' उनले भने, 'पछि सबै व्यवस्थित भएपछि ग्र्यान्ड–ओपनिङ हुन्छ। मौलिक संगीत र कर्मचारीले पनि मौलिक शैलीकै लुगा लगाउने व्यवस्था थपिन्छ।'
थमनको यो खालको व्यवसाय पहिलो भने होइन। उनले पहिले पनि अनजानमै सानो खाजाघर खोलेका रहेछन्।
त्यो समय उनी आफ्नो पहिलो फिल्म बनाउने तयारीमा थिए। न्युरोड, नक्षे गल्लीमा उनीहरू फिल्मबारे मिटिङ बस्थे। त्यो क्रममा 'चिया, चाउचाउ बेचौं न त' भनेर त्यहीँ उनले सटर भाडामा लिएका थिए। मिटिङ बस्ने ठाउँ पनि भयो, केही नभए पनि त्यहाँको आम्दानीले भाडा तिर्न पुग्थ्यो।
करिब ८८ लाख रूपैयाँ खर्च गरेर उनले फिल्म बनाए– पण्डित बाजेको लौरी।
थमन आफैंलाई धेरै मन परेको फिल्म हो यो, आफ्नो फिल्म भएर पनि होला!
सत्य घटनाका कथा मन पराउने उनलाई वादी प्रथाबारे स्क्रिप्टको 'वान लाइन स्टोरी' सुन्दै मन परेको थियो।
महेश दवाडीले लेखेको उक्त स्क्रिप्ट उनलाई यति मन परेछ, अर्कै कम्पनीले किनिसकेको स्क्रिप्ट फेरि किनेर आफ्नो बनाए। तर जति उनलाई फिल्मको कथा मन परेको थियो, दर्शकलाई त्यसले तानेन। फिल्म फ्लप भयो।
त्यही फ्लपको ट्यागलाई उनी नहिच्किचाई भन्छन्, 'म फ्लप फिल्मको फ्लप निर्माता।'
फिल्म नचलेपछि त्यसको घाटा भरपाई त गर्नै पर्यो। छटपटिँदै उनी भौंतारिरहे। यो रनाहा उनले हाँडीगाउँमा 'मेरो फुड प्वाइन्ट' क्याफे खोलेर बिसाए। त्यहाँको विशेषता कट्टी रोल हो। यो व्यवसाय अहिले पनि चलिरहेको छ।
निर्माताका रूपमा सफल नभए पनि खानेकुराको व्यावसायमा उनी खुड्किलो उक्लिँदै गए। यसैको नतिजा हो मकै घर।
मकै घर खोल्न करिब ३५ लाख रूपैयाँ खर्च भएको उनी बताउँछन्। केही फिल्मकर्मी, साथीभाइ र परिवारको सहयोग त भइहाल्यो, पहिले वैदेशिक रोजगारीमा काम गरेकाले उनलाई एनएमबी बैंकले सहुलियतमा ऋण पनि दिएको छ।
उनका बुवा र दाजु दुवै भारतीय लाहुरे। थमनको परिवार उनलाई पनि त्यही बनाउन चाहन्थे। तर तालिममा खटिएका लाहुरेको दुःख देखेरै उनलाई लाग्यो– यस्तो पनि के जिन्दगी!
'परिवारको मन बुझाउन परीक्षा त दिएँ तर जानाजानी बिगारेर आएँ,' उनले भने।
थमनको त एउटै उद्देश्य थियो, दुबई जाने। सन् २००६ मा दाङबाट दुबई जाने सपना बोकेरै उनी काठमाडौं आएका थिए। पछि दुबई त होइन, रेमिट्यान्स अफिसर भएर कतार गए। त्यहाँबाट कामकै सिलसिलामा दुबईसँगै मलेसिया, साउदी अरब लगायत खाडी मुलुक पुगे।
चार वर्षयता भने उनी फिल्ममा केही गर्छु भनेर नेपालै बसेका छन्। फिल्म उनको बालापनदेखिको नशा हो भन्दा फरक पर्दैन।
थमन सानैदेखि फिल्म भनेपछि हुरूक्कै हुन्थे। राजेश हमालका त कुनै फिल्म छुटाउँथेनन्। आफूलाई पनि राजेश हमालै सम्झिन्थे रे। कोही दुःखमा परेको मान्छे देख्यो भने आफूलाई राजेशले निर्वाह गरेका पात्र अर्जुन, शंकर भएको महसुस गर्थे।
'कल्पना गर्थेँ कि म हिरो भए भने सबै खाल्डाखुल्डी पुर्छु, दुःखी–गरिबलाई सहयोग गर्छु। किनकी हिरोको भूमिका त्यस्तै देखाइन्थ्यो,' उनले भने, 'वास्तवमा हिरो भनेको समाजलाई राम्रो बनाउने पात्र नै त हो।'
फिल्म हेर्ने लतसँगै थमनले यो क्षेत्रमा सिँढी बनाउँदै थिए। मोफसलमा रहँदा उनले विभिन्न कार्यक्रम, सुन्दरी प्रतियोगिताहरू आयोजना गर्थे। सन् २०१० मा 'शान्ति र संविधानका लागि संगीत यात्रा' भनेर पानस मिडियाले सुरू गरेको कार्यक्रममा उनले सदस्य भएर काम गरे। त्यसपछि नै हो, उनको काठमाडौं आउने क्रम बढेको। सिने क्षेत्रका मान्छेसँग हिमचिम बढेको।
आफूलाई सानामा हिरो सम्झिने थमनलाई विस्तारै लाग्न थाल्यो, 'फिल्मको हिरो बन्ने हुलिया नै मसँग छैन। म त फिल्म बनाउँछु।'
अनि उनी निर्माता बन्न हौसिए। पहिलो फिल्म बनाउँदा उनी यो क्षेत्रमा बिल्कुलै नयाँ थिए, त्यसैले धेरै आइडिया भएन। तर त्यो अनुभवले उनलाई धेरै नयाँ आइडियासँग जोड्यो।
'सायद त्यो फिल्म नबनाएको भए मेरो मकै घर हुँदैनथ्यो। म फेरि विदेशिएको हुन्थेँ। परदेशमा पसिना बगाइरहेको हुन्थेँ। त्यो फिल्म बनाएकै कारण आज म यो ठाउँमा छु। त्यो हिसाबले मेरो फिल्म हिट हो,' उनी सकारात्मक कुरा गर्छन्।
हुन पनि थमन यो फिल्मलाई सिकाइका रूपमा लिन्छन्। उनले अहिले बुझेका छन्, 'कसैको बोलीमा विश्वास गर्नु हुँदैन। पहिला गरूम् भनेर मान्छेले उक्साउँछन्, पछि साथ दिँदैनन्। यहाँ मान्छेलाई होइन, सफलतालाई महत्व दिइन्छ।'
तर सिने क्षेत्रबाट उम्किन कहाँ सजिलो छ र! एकपटक यो क्षेत्रमा छिरिसकेपछि यसको 'ह्याङ'ले धेरैलाई छाड्दैन। थमनलाई पनि छाडेको छैन। उनी आफैं पनि पछि हट्ने खालका होइनन्। परिस्थिति सबै ठीक हुँदै गएपछि अर्को कुनै समुदायको कथामा फिल्म बनाउने मन छ उनलाई।
'सानो सटरबाट मकै घरसम्म आएको छु। पण्डित बाजेको लौरीबाट फ्लप यात्रा सुरू गरे पनि पक्कै कुनै दिन हिटको बाटोमा पुगूँला,' उनी आशावादी छन्।
आफूलाई असफल निर्माता बताउने उनको परिचय कुनै दिन हिटमा पक्कै सामेल होला। भर्खरै खुलेको मकै घरको यात्रा के होला? फ्लप होला भन्ने डर कत्तिको छ उनलाई?
थमन सहजै जवाफ फर्काउँछन्, 'म असफलतादेखि कहिल्यै डराउँदिनँ। मलाई जहिल्यै लाग्छ, कुनै कुनै कुराले साँच्चै चमत्कार गर्छ। त्यसैले, चाहे फिल्म होस् या व्यवसाय, म उस्तै ऊर्जामा काम गर्छु।'