'जुजु' अर्थात् नेपाल भाषामा राजा।
यही नाम जोडेर 'जुजु टिज एन्ड प्रिन्ट' बजार भित्रिएको जम्मा सात वर्ष भयो। यति कम समयमै यसले आफ्नो पहिचान देश-विदेशमा पुर्याइसकेको छ। टिसर्टको राजा बन्ने दौडमा अग्रपंक्तिमा छ जुजु।
जुजु प्राकृतिक कपडासँगै नेपाली संस्कृति, दर्शन एवम् पहिचान संरक्षण गर्ने उद्देश्यले खुलेको हो। यसले उत्पादन गर्ने टिसर्टमा अधिकांश बुट्टा नेपाली मौलिकता र संस्कृतिसँग जोडिएको छ। यो ब्रान्ड मुख्यगरी नेपाली ग्राहक लक्षित हो। यसले टिसर्टसँगै ज्याकेट, हुडी लगायत लुगा पनि बनाउँछ।
जुजुले बजारमा पाइला टेकेको सात वर्ष मात्र भए पनि संस्थापक प्रदीप शाक्यले लुगा बजारमा कदम राखेको तीन दशक बढी भइसक्यो।
तीस वर्ष बढी लुगाफाटामै घोरिएका प्रदीपले जुजुलाई बजारमा कसरी ल्याए त?
उनी यसरी विस्तार लाउँछन्ः
२०४७ सालमा प्रदीप र उनका एक साथी मिलेर गार्मेन्ट खोलेका थिए- श्रवण अपिरियल्स। त्यसताका उनीहरू भारतबाट लत्ताकपडाका सामग्री ल्याएर यहाँको अर्डर अनुरुप ज्यालामा लुगाफाटा बनाउँथे।
'ज्यालामा काम गर्दा भविष्य अनिश्चित थियो। त्यहीँमाथि गुलामी मात्र गरेको महशुस हुन्थ्यो,' प्रदीपले त्यो बेलाको आफ्नो अनुभव सुनाए, 'व्यवसाय गर्ने सोचले उद्योग सुरू गरेका थियौं। तर मलाई आफ्नो र देशकै लागि समेत केही गर्नुपर्छ भन्ने हुन्थ्यो।'
प्रदीपलाई त्यही 'केही गर्ने' चाहनाले गार्मेन्ट उद्योग सुरू भएको ५ वर्षपछि नेपाली कपडा प्रचार गर्ने आइडिया फुरेको हो। उनका साथी पछि आन्तरिक कारणले उद्योगबाट टाढिँदै गए। प्रदीपले भने आफूले देखेको सपना मर्न दिएनन्।
२०५२ सालतिर उनले थाहा पाए, भक्तपुरमा नेपालकै प्राकृतिक फाइबरका कपडा बनाइन्छ। गाँजा, सिस्नो, बाँस लगायत प्राकृतिक बोटबिरूवाका रेसाबाट कपडा बनाउन सक्ने देखेर उनी हौसिए। यसबारे राम्ररी बुझे। बजार सम्भावना पनि देखे।
तर त्यो बेला नेपालमा स्थानीय कपडाको खास मोह थिएन। त्यसैले उनले ती कपडा विदेशी बजार पुर्याउने सोचे। नमूना बोकेर सबभन्दा पहिले जापान हानिए। जापानी बजारले नेपाली उद्योगबाट राम्रो कपडा बनाउन सक्नेमा विश्वास राख्यो।
जापानको त्यही विश्वासमा टेकेर प्रदीपले २०५४ सालमा नयाँ नेपाली ब्रान्ड सुरू गरे- 'करुणा नेचुरल वेयर्स'।
त्यही वर्ष ब्रान्डको पहिलो पसल दरबारमार्गमा खुल्यो। उत्पादनको धेरै हिस्सा भने विदेशीमै पुग्थ्यो। बजार विस्तार हुँदै गएपछि प्रदीपलाई कच्चा पदार्थको समस्या पर्यो।
'नेपाली कपडाले मात्र बजार माग धान्न सकेन। अनि चीनबाट कच्चा पदार्थ आयात गर्न थालेँ,' उनले सुनाए।
श्रवण अपिरियल्सबाट ठेक्का र ज्यालाको कामसँगै करुणाका कपडा उत्पादन हुन्थे। दुवै काम सँगसँगै भइरहेको थियो, २०६२/०६३ को जनआन्दोलन र देशको राजनीतिक समस्याले गार्मेन्टको काम रोकियो।
'गार्मेन्ट उद्योग नेपालमा भर्खर फस्टाउँदै थियो। तर सबै काम एकाएक ठप्प भयो,' यस्तोमा केही वर्षअघि स्थापना गरेको करुणा ब्रान्डले आफूहरूलाई धानेको प्रदीप बताउँछन्, 'गार्मेन्ट उद्योग मात्र भनेर बसेको भए आज न करुणा हुन्थयो, न जुजु।'
यसपछि करुणाले जापानी बजार मात्र ताकेन, अमेरिकी र युरोपेली देशहरूमा समेत बजार विस्तार गर्न थालेको हो।
विदेशीमाझ लोकप्रिय भए पनि नेपालीहरूका लागि करुणा ब्रान्डका लुगा महँगा थिए।
'यहाँ एउटा टिसर्टलाई ३-४ हजार तिरेर किन्ने नेपाली ग्राहक निकै कम छन्। कपडा गुणस्तर चित्त बुझाए पनि मूल्य बढी भएको गुनासो सुरुआती चरणदेखि नै थियो,' उनले भने।
विदेशी बजार लक्षित र कपडा बनाउने रेसा महँगो हुने भएकाले प्रदीपले मूल्य घटाउनमा ध्यान दिएनन्।
तर एकदिन उनको विचार फेरियो। एक जना फेसन डिजाइनरले कुरैकुरामा प्रदीपलाई करुणाका लुगा नेपालीका लागि साँच्चै महँगो भएको भनिदिइन्।
'ती बहिनीले जिस्किँदै भनेकी थिइन्। तर नेपाली उत्पादन नेपालीले नै सुपथ मूल्यमा किन्न नसक्ने भए त प्रचार कसरी हुन्छ भन्ने भयो,' प्रदीपले भने, 'करुणाका कपडा सस्तोमा बेच्न सम्भव थिएन। लागत बढी थियो। त्यसैले मैले अर्कै उपाय लगाएँ।'
प्रदीपले लगाएको त्यही उपाय हो जुजु।
'राम्रो खाले कटनको टिसर्ट बनाउँदा अलि सस्तो पर्ने भयो। त्यही अनुरुप नेपाली ग्राहकका लागि टिसर्ट भित्र्याउने सोच आयो। अनि श्रवण अपिरियल्सको अर्को ब्रान्ड बन्यो जुजु।'
नयाँ ब्रान्ड भित्र्याउँदा पृथक र मातृभाषामा नाम राख्न पाए हुन्थ्यो भन्ने प्रदीपलाई लागेको थियो। त्यसैले जुजु नाम रोजेको बताउँछन्, 'जुजुले नेपाली मनको बोली बोलेको भएर होला सोचेभन्दा निकै चाँडो बजार लियो।'
नेपाली मौलिकता झल्किने 'राजा' नाम राखेपछि उनले पश्चिमा शैली पनि अपनाउँदै लोगो मुकुट बनाए। त्यसबेला प्रदीपलाई कपडा र लोगोका काममा फेसन डिजाइनर प्रनिधि तुलाधरले सघाएकी थिइन्।
'जुजु टिज एन्ड प्रिन्ट' ले २०७०, जेठमा झम्सिखेलमा पहिलो पसल खोल्यो। त्यसयता जुजुलाई पछाडि फर्किनु परेको छैन।
जुजुका अहिले काठमाडौंभर ५ पसल छन्- झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट, ठमेल मल र छाया सेन्टरमा। पोखरामा पनि थियो, तर ग्राहकसँग सोझै जोडिन नसक्ने भएपछि खुलेको चार वर्षपछि पसल बन्द गरियो। जुजु लुगा मुन्चा डट कम, सस्तोडिल र भाटभटेनीबाट अनलाइनमा पनि किन्न सकिन्छ।
जुजुले आफ्नो ब्रान्डको विशेषता नै यसका लुगामा हुने बुट्टालाई बनाएको छ।
यी बुट्टामा प्रदीपको आफ्नै कथा जोडिएको छ।
ललितकला क्याम्पसबाट फाइन आर्ट पढेका प्रदीप सानो छँदा कलाकार बन्न चाहन्थे। त्यति बेला पूरा नभएको उनको त्यही रहर र सिर्जनशीलता अहिले जुजुमा देखिन्छ।
'म गार्मेन्टमा लगातार ५२ घण्टासम्म खट्थेँ। यो व्यस्ततामा मेरो सिर्जनशीलता हराइसकेको थियो,' उनले भने, 'पुरानो सपना र सिर्जनशीलता ब्युँताउन जुजु नै मेरो क्यानभास बन्यो।'
अनि उनी कल्पना गर्न थाले- अब्राहम लिंकन दौरा-सुरुवाल र ढाका टोपीमा चिटिक्क परेका। ज्ञानकी देवी सरस्वतीको हातमा वीणा र पुस्तकको ठाउँमा ल्याप्टप र मोबाइल। वैज्ञानिक अल्बर्ट आइन्सटाइन नेपालमा जन्मेका भए, दौरा सुरुवाल लगाएर फलैंचामा बसेर हुक्का तान्दै ऊर्जाको नयाँ सिद्धान्त बनाउँथे होला!
यिनै कल्पना उनले टिसर्टमा उतारे। र यसैले ग्राहकलाई जुजुमा आकर्षित गर्छ भन्दा फरक पर्दैन।
नेपाली ग्राहक लक्षित भए पनि जुजु अमेरिका, क्यानडा, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत लगायत देशका बजार पुगिसकेको छ। जुजुमा महिला, पुरुष र केटाकेटीका लागि ९ आकार र २५ भन्दा बढी रङमा टिसर्ट पाइन्छ। यिनको मूल्य ११ सयदेखि १६ सय सम्म पर्छ।
प्रदीपका अनुसार गर्मी मौसममा त जुजुले हरेक साताजसो नयाँ डिजाइनमा टिसर्ट निकाल्छ। चाडपर्व विशेषमा पनि सम्बन्धित बुट्टा भएका बनाइन्छ।
सामान्य समयमा एक सयभन्दा बढी कर्मचारी हुने कारखाना र सधैं ग्राहकले भरिने पसल अहिले भने कोरोना महामारीसँगै सुस्ताएको छ।
'लकडाउनका कारण व्यवसाय ब्रेक लगाउँदै ओरालो झरिरहेको साइकलजस्तै खस्किएको छ,' उनी भन्छन्। हुन पनि अहिले करुणा र जुजु दुवैको काम ३० जना कर्मचारीले भ्याउँछन्। अवस्था सामान्य भएसँगै अरू कर्मचारी फर्किने उनले जानकारी दिए।
जुजुलाई अर्को समस्या पनि छ, यसका प्रिन्ट-बुट्टा नक्कल गरेर बजारमा सस्ता टिसर्ट बिक्री भइरहेका छन्। यसबारे जुजुले प्रतिलिपि उजुरी पनि दिएको थियो।
'हाम्रोमा बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारबारे चासो दिइँदैन। प्रहरीहरूले पनि बुझेनन्,' उनले गुनासो पोख्दै भने, 'तर पहिलेको नेपाली बजार र ग्राहकको तुलनामा अहिलेका ग्राहकले कपडा चिन्ने र बुझ्ने गरेको देख्दा खुसी लाग्छ।'
अचेल प्रदीप सन्देशमूलक चित्रहरू नेपाली शैलीमै टिसर्टमा उतार्छन्। प्रख्यात भनाइदेखि प्रतिष्ठित व्यक्तित्वको चित्र, मौलिक प्रतीक, स्थानीयता झल्काउने उनका नयाँनयाँ सिर्जना खुबै रूचाइएको छ।
६० वर्षीय प्रदीप जुजुसँगै आफ्नो प्रशिक्षण र परीक्षा भइरहेको महशुस गर्छन्। भन्छन्, 'कला र व्यवसाय दुवै गर्दैछु। जीवनको सबभन्दा रमाइलो समय बिताइरहेको छु भन्ने लाग्छ।'
(जुना श्रेष्ठका अन्य स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्)