निर्देशक नितिन चन्द नयाँ वेब-सिरिजका लागि 'क्रु-मेम्बर' को खोजीमा थिए। वर्षा राउत, एलिशा राई, पल शाहजस्ता कलाकारलाई पहिलो पटक म्युजिक भिडिओमा काम गराएका नितिन नयाँ कलाकारसँग काम गर्ने निर्देशकका रूपमा चिनिन्छन्।
यसअघि कलाकार खोज्दा नजिकका साथीबाट सहयोग लिने उनले यस पटक 'सिर्जना सूत्र' लाई माध्यम बनाए। 'सिर्जना सूत्र' ले सम्पर्क गराइदिएका झन्डै ९० जनाबाट अडिसन लिई नितिनले १२ जना छाने।
नितिनजस्तै अचेल कला-सिर्जना क्षेत्रमा चाहिने जनशक्तिका लागि धेरैले सिर्जना सूत्रको सहयोग लिन थालेका छन्। सिर्जना सूत्रबाट सहयोग लिनेहरू यसले आफ्नो समय र ऊर्जा बचाइदिएको भन्न थालेका छन्।
सिर्जना सूत्र कला-सिर्जना विधाका सर्जकलाई रोजगारी दिलाउन सहजीकरण गर्ने संस्था हो। सम्पदा मल्ल र सुवास प्रधानले संयुक्त रुपमा सुरू गरेको सिर्जना सूत्रको 'सफ्ट लन्च' एक वर्षअघि गरिएको थियो। औपचारिक रूपमा भने लकडाउनभन्दा दुई महिना अघिदेखि काम थालेको हो।
हालसम्म यसले झन्डै सय जनालाई काम दिलाइसकेको छ। लकडाउन बेलात दस जनाभन्दा बढी र खुकुलो भएपछि २० जना बढीलाई काम दिएको संस्थापक सम्पदाले जानकारी दिइन्।
'सिनेमा, संगीत, नृत्य, रंगमञ्च, फोटोग्राफी, भिडिओग्राफी, मोडलिङ, कन्टेन्ट राइटिङ, ग्राफिक डिजाइनिङ, वेब डिजाइनिङ, लेखन, पत्रकारिता, एनिमेसनजस्ता सिर्जनात्मक क्षेत्रका कलाकार र सर्जकलाई सहयोग गर्नु हाम्रो उद्देश्य हो,' सम्पदा भन्छिन्।
हाल काम खोज्ने मान्छे र काम दिने संस्था दुवै पक्षले सिर्जना सूत्रमा सम्पर्क गरिरहेको उनी बताउँछिन्।
नेपालमा बैंक वा अन्य कम्पनीमा रोजगार दिलाउन मद्दत गर्ने केही सहयोगी संस्था सक्रिय छन्। तर सिर्जनात्मक क्षेत्रमा अवसर खोजिरहेका सिर्जनशील जनशक्तिका लागि सहजीकरण गर्ने समूह थिएनन्। सिर्जना सूत्रले यही कमी पूरा गर्ने प्रयास गरिरहेको छ।
सम्पदा हिन्दी सिरियल लेख्ने नेपाली लेखकका रूपमा चर्चित छिन्। उनले मुम्बई बसेर 'ये रिश्ता क्या केहेलाता है', 'गुमराह', 'फायर फ्लाइज', 'इश्कका रंग सफेद', 'नाभ्या' लगायत दर्जनभन्दा बढी सिरियलमा काम गरेकी छन्।
बलिउड फिल्म 'शुद्ध देशी रोमान्स' मा 'मेकिङ डाइरेक्टर' का रूपमा छोटो समय जोडिएकी उनी 'क्यारी अन कुत्तो' फिल्मकी क्रिएटिभ प्रोड्युसर हुन्।
सिर्जना सूत्रका अर्का संस्थापक सुवास प्रधान संगीत सिर्जना, भिडिओ निर्देशक र कला व्यवसायीका रूपमा दुई दशकदेखि सक्रिय छन्। सम्पदा र सुवास दुवैले धेरै अवसर र प्रतिभा हुँदाहुँदै पनि कला र सिर्जनात्मक क्षेत्र अव्यवस्थित भएको महशुस भएपछि सिर्जना सूत्र सुरू गरेका हुन्।
'मुम्बईमा जति पनि काम गर्ने अवसर पाएँ, भ्याकेन्सीमा आवेदन भरेर नभई व्यक्तिगत सम्पर्कबाट पाएँ,' सम्पदा भन्छिन्, 'त्यसबेला हामीजस्ता सिर्जनशील मान्छेलाई काम दिलाउन सहयोग गर्ने संस्था भइदिए हुन्थ्यो भन्ने लागेको थियो।'
मुम्बईमा काम गर्दै छ वर्ष बिताएकी उनलाई नेपालको सिनेमा र कला क्षेत्र भारतभन्दा अव्यवसायिक लाग्नु स्वभाविक थियो। मेलो-ड्रामा नै सही, भारतको प्रतिस्पर्धात्मक सिरियल र सिनेमाबाट उनले धेरै कुरा सिकेकी थिइन्।
'आफ्नो अध्ययन र अनुभवका आधारमा नेपालमा केही फरक काम गर्नुपर्छ भन्ने सोच थियो। त्यहीबेला सुवासजीसँग भेट भयो,' उनले भनिन्।
यता सुवास कला क्षेत्रलाई मानिसहरूले व्यवसायिक काम नमानेकोमा असन्तुष्ट थिए।
'म आफैंले कुनै बेला घरबाट हौसला नपाएकाले संगीत छाडेर बैंकमा जागिर खान बाध्य भएको थिएँ,' सुवास भन्छन्, 'त्यसैले त्यो सोच बदल्ने काम गर्नुपर्छ भन्ने लाग्थ्यो।'
दुवैको नामको पहिलो अक्षर 'स' मिलेजस्तै उनीहरूको सोच पनि मिल्यो। रोचक कुरा, दुवैले सुरू गरेको सिर्जना सूत्रमा पनि 'स'कै योग छ।
सम्पदा उनका बुबा चर्चित रंगकर्मी अशेष मल्लले स्थापना गरेको सर्वनाम थिएटरमा पनि सक्रिय छिन्। हाल सिर्जना सूत्रको कार्यालयको काम पनि सर्वनामबाटै भइरहेको छ।
सिर्जना सूत्रले रोजगारी दिलाएवापत सो व्यक्तिको पहिलो महिनाको तलबबाट १० प्रतिशत रकम शुल्क स्वरुप लिन्छ। काम दिलाउनेबाट भने हालसम्म रकम नलिएको सम्पदा बताउँँछिन्।
उनी भन्छिन्, 'हामीकहाँ काम गर्ने शैली अनौपचारिक भयो। कुनै सम्झौतै नगरी काम गर्दा कामदारले असुरक्षित महशुस गरिररहेका हुन्छन्। हामी पार्ट टाइम होस् वा फुल टाइम, दुवै पक्षको सम्झौता गराएर काम गर्ने प्रणाली बसाल्दै छौं।'
नेपालमै पटकथा लेखन, फिल्म निर्माण र निर्देशन गर्ने सोचले काम गरिरहेकी छन् सम्पदा। हामीकहाँ कला उद्योगकै रूपमा विकास भइरहेको छ। तर यसले काम गर्ने तौरतरिकामा भने अझै व्यवसायिक छैन।
'यस क्षेत्रमा अवसर छ, सिप भएका मान्छे पनि छन्। तर उनीहरूलाई सहयोग गर्ने माध्यम नहुँदा प्रतिभा भएका मान्छे पनि भौंतारिनु परिरहेको छ,' उनको मूल्यांकन छ।
सुवासका अनुसार, कला-सिर्जना क्षेत्रमा अवसर छ भन्ने सन्देश दिन सके सर्जकले घर परिवारको पनि साथ पाउँछन्। यसले पनि अन्य व्यवसायिक क्षेत्रसरह मान्यता पाउँछ।
'तर अहिले त चिनजान नभएकाले कहाँ जाने, कसलाई भन्ने खालको अवस्था छ,' उनी भन्छन्, 'सिर्जना सूत्रलाई त्यही अन्यौलमा परेकाहरूको भरपर्दो साथी बनाउने हाम्रो लक्ष्य छ।'
सिर्जना सूत्रको अवधारणा नेपालमा नयाँ भए पनि छोटो समयमै उत्साहजनक प्रतिक्रिया पाइरहेको सम्पदा बताउँछिन्।
'हामीले धेरै जनाबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। काम खोज्ने मान्छे र कामदार चाहियो भन्ने कम्पनीले सम्पर्क गरिराख्नु भएको छ,' उनी खुसी साट्छिन्।
अचेल हरेक दिन 'पटकथा, सहायक निर्देशक, बालकलाकार चाहियो' भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्नु सम्पदाको दैनिकी बनिसकेको छ।
हालसम्म सिर्जना सूत्रले टेलिभिजन कार्यक्रम, म्युजिक भिडिओ, पत्रकारिता, ग्राफिक डिजाइनिङ लगायत क्षेत्रमा काम दिलाइसकेको छ। तीमध्ये सन्दीप क्षेत्रीको 'ह्वाट द फ्लप' देखि नेपालमा छायांकन भएको हिन्दी गीतको म्युजिक भिडिओमा मोडल खोज्दिनेसम्मका काम पर्छन्।
सञ्चालकद्वयका अनुसार कुनै कम्पनीसँग सम्झौता भएपछि उसलाई चाहिने सिर्जनशील जनशक्ति जुटाउने जिम्मा सिर्जना सूत्रले लिन्छ। व्यवसाय भए पनि यसको उद्देश्य आर्थिक मुनाफा कमाउनेमा मात्रै सीमित नरहने उनीहरूको दाबी छ। भन्छन्, 'हामी आफैं सर्जक हौं। यस क्षेत्रको पिर, मर्का र सम्भावना देखे–भोगेका छौं।'
सम्पदा र सुवास दुवै कला क्षेत्रका भएकाले उनीहरूलाई अनौपचारिक रूपमा धेरैले 'काम गर्ने मान्छे चाहियो वा काम खोज्दिनु पर्यो भनिरहेका हुन्थे। उनीहरूलाई पनि मान्छे चाहिँदा यसरी नै अरूलाई आग्रह गर्थे। अचेल आफ्नै कामका लागि पनि सिर्जना सूत्रलाई नै माध्यम बनाउन थालेका छन्।
सानैदेखि कथा भन्ने रूचिले पटकथा लेखनमा स्थापित सम्पदाको लेखनकै माध्यमबाट सुवाससँग चिनजान भएको हो। उनले पत्रकारिता गर्ने बेला सुवासको संगीतबारे लेखेकी रहिछन्। यही पृष्ठभूमिले चिनिएका यी दुईको प्रत्यक्ष भेट सम्पदा मुम्बईबाट नेपाल फर्केपछि भएको हो।
'आफूसँगै आफूले काम गर्ने क्षेत्र पनि अघि बढाउनु पर्छ भन्नेमा हाम्रो सोच मिलेपछि सिर्जना सूत्र सुरू गरेका हौं,' दुवैको भनाइ उस्तै छ।
सिर्जना सूत्र सम्पदा र सुवासको कामको एउटा पाटो मात्रै हो। म्युजिक जोय मिडिया सहित अन्य दुई संस्थामा आबद्ध छन् सुवास।
धेरै काम सँगसँगै गर्न सक्ने खुबी भएकी सम्पदा ओस्कार कलेजमा पढाउनदेखि फिल्म निर्माणसम्म व्यस्त छिन्। उनी कार्यकारी निर्माता बनेको भीमसेन लामा निर्देशित 'हरर जनरा' को 'कठपुतली' फिल्मको सार्वजनिक मिति लकडाउनले पर धकेलिएको छ। भीमसेन र सम्पदाले यसअघि 'च्यान्टी' नामक छोटो फिल्ममा सहकार्य गरेका थिए। च्यान्टी धेरै महोत्सवमा प्रदर्शित फिल्म हो।
सम्पदाको लेखन र छिरिङरितार शेर्पाको निर्देशनमा बनेको सिरियल 'सिंहदरबार' पनि प्रशंसित छ। हाल सम्पदा आफ्नै लेखन र निर्देशनमा फिल्म बनाउँदै छिन्। एउटा अन्तर्राष्ट्रिय सर्ट फिल्मको काम पनि सुरू हुन लागेको छ।
फिल्म क्षेत्रभित्र लेखक, निर्माता, निर्देशकको भूमिका निर्वाह गर्ने उनलाई निर्माता, प्राविधिक कलाकार, स्पट ब्वाइ र खाना बनाउने टोलीसम्मका सुखदुःख थाहा भएको बताउँछिन्। सिनेमा क्षेत्रमा अनौपचारिक रूपमा काम गर्ने भएकाले बिचौलियाको चलखेल भएको उनको ठहर छ।
'सबै काम अनौपचारिक ढर्रामा हुँदा आर्थिकदेखि यौन शोषणसम्मका घटना भइरहेका छन्,' सम्पदा भन्छिन्, 'त्यसैले पनि सिर्जना सूत्रको खाँचो छ भन्ने लागेको हो।'