महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडको बजारमा विदेशी कम्पनी हावी छन्। एकाध स्वदेशी उत्पादनले पनि चर्को प्रतिस्पर्धा झेल्नुपरेको छ। कठिन भए पनि बजारको यो दौडमा 'प्याडिलक्स' पनि समावेश भएको छ।
'हेल्थ एन्ड हाइजिन प्रोडक्ट' कम्पनीले यही वर्ष अन्तराष्ट्रिय महिनावारी स्वास्थ्य दिवस अवसर पारेर नेपालमै बनेको 'प्याडिलक्स' प्याड सार्वजनिक गरेको हो।
झन्डै एक वर्षको अध्ययनपछि प्याड उत्पादन सुरू गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश लाहोटी बताउँछन्। अरू ब्रान्डका प्याड अध्ययन गरेर, कमजोरी र आवश्यक सुधारबारे प्रयोगकर्तासँग सोधेर 'प्याडिलक्स' बनाइएको कम्पनीको भनाइ छ।
'हामीले लामो समय बजार सर्वेक्षण मै बितायौं। विभिन्न प्याडमा सुधार गर्नुपर्ने पक्ष बुझ्यौं,' राकेशले सेतोपाटीलाई भने।
उनका अनुसार प्रायः बजारमा आउने प्याड एकैप्रकारका हुने, रक्तप्रवाह धान्न नसक्ने र केही ब्रान्डका प्याडले जलन हुने समस्या छ। त्यस्तै प्याड प्रयोग गर्दा बेग्लै दुर्गन्ध आउने समस्या पनि उनीहरूले सुने।
महिलाले भोगेका यस्ता समस्या समाधान निम्ति प्याडको गुणस्तर र सामग्री राम्रो हुनुपर्ने उनीहरूले बुझे। डाक्टरहरूसँग सल्लाह गरे। अध्ययन-अनुसन्धान गरेर 'प्याडिलक्स'मा प्रयोग गर्ने सामग्री भारत, चीन, जापान र अमेरिकाबाट आयात गरे। उक्त सामग्री उच्च गुणस्तरको रहेको राकेशको दावी छ।
कम्पनीले झन्डै ८ महिनाअघि प्याड उत्पादन सुरू गरेको हो। उत्पादनअघि उनीहरूले परीक्षण गरेका थिए।
'परीक्षण उत्पादनका प्याड चिनजानका महिलाले प्रयोग गर्नुभयो। राम्रो प्रतिक्रिया पाएपछि बजारका लागि सुरू गर्यौं,' उनले भने, 'यति बेला महिलाको स्वास्थ्य र प्याडको गुणस्तर विशेष ध्यानमा राख्दै उत्पादन हुँदैछ।'
प्याड तयार हुन कपास, प्लास्टिक लगायत झन्डै ७ प्रकारका सामग्री प्रयोग हुन्छ। प्याडिलक्सका सामग्रीकै कारण यसले प्रयोगमा सहज, ताजापन र सुख्खापन महशुस गराउने राकेश दाबी गर्छन्।
'यसमा रहेको एन्टी लक कोरले तरल पदार्थ चुहावट रोक्छ। छालामा हुने जलन र डाबर आउन दिँदैन,' उनले भने, 'प्याड ठीक ठाउँमा अड्याउन विङ्स छ।'
अहिले प्याडिलक्सले तीन आकारमा प्याड उत्पादन गर्छ- २४० मिमि, २८० मिमि र ३२० मिमि लम्बाइका।
'सबैलाई एकै आकारको प्याड मिल्दैन। शारीरिक बनावट र उनीहरूको रक्तप्रवाहका आधारमा प्याड प्रयोग गर्नुपर्छ। त्यस्तै, समयअनुसार पनि भिन्न डिजाइनका प्याड प्रयोग गर्नु जरूरी छ। दिनमा प्रयोग हुने र रातमा प्रयोग गर्ने प्याडको आकार नै फरक पर्छ,' राकेशले अध्ययनपछि बुझेका आधारमा भने, 'किशोर अवस्था र सानो शारीरिक बनावट भएकाले २४० मिमिको प्याड प्रयोग गर्दा हुन्छ। सामान्य शारीरिक बनावट भएकाले २८० मिमि र ठूलो बनावटकाले ३२० मिमिको प्याड प्रयोग उपयुक्त हुन्छ।'
राकेशको अध्ययन अनुभव अनुसार अधिकांश महिलालाई यी विषयमा ज्ञान छैन। हरेक उमेर र वजनका महिलाले एकै प्रकारको प्याड प्रयोग गरिरहेका छन्। अझ जुनसुकै समयमा एकै प्रकारको प्याड प्रयोग गर्दा थप समस्या सिर्जना हुने उनको बुझाइ छ। निकै कम महिलालाई मात्र यी विषयमा जानकारी रहेको उनी गुनासो राख्छन्।
कम्पनीको अध्ययन टोलीले नेपालमा जम्मा १२ प्रतिशत महिलाले प्याड प्रयोग गर्ने पाएको थियो। यो प्रतिशत बढाउने लक्ष्य बुनेको प्याडिलक्सले हरेक समुदायका महिलाले सहजै प्याड किन्न सकून् भनेर भिन्न मूल्यदरमा प्याड उत्पादन गरेको छ। यसको गुणस्तर र प्रकारका आधारमा मूल्य ४० देखि १०० रूपैयाँसम्म छ।
'हरेक नगर/गाउँपालिकाका महिलाले प्याड प्रयोग गर्न पाऊन् भन्ने हाम्रो लक्ष्य हो। यसका लागि हामी सरकारसँग सहकार्य गर्न पनि तयार छौं,' राकेश भन्छन्, 'प्याड सहज उपलब्ध गराउनु भनेको महिलाको स्वास्थ्यमा सुधार हुनु हो।'
अहिले बजारमा ७ प्रकारका प्याडिलक्स उपलब्ध छ। अरू ४ प्रकारका थप्ने तयारी भइरहेको राकेश बताउँछन्।
'प्याडिलक्स अन्तराष्ट्रिय गुणस्तरको छ। षो 'बायो डिग्रेडेबल' छ। वातावरणअनुसार पूर्ण विघटन हुन ९० देखि १८० दिन लाग्ने अनुमान हो,' उनले भने।
राकेशका अनुसार प्याड उत्पादन निकै संवेदनशील काम हो। उत्पादन प्रक्रियामा बीचमा कतै हातले छोइए प्याड पूर्ण रूपमा जीवाणुमुक्त हुँदैन। त्यसैले बनाउनेदेखि प्याकेजिङसम्मको काम स्वचालित मेसिनले नै गर्छ। कम्पनीमा ५० जना हाराहारी कर्मचारी छन्।
कम्पनीले जापानी प्रविधिका मसिन प्रयोग गरिरहेको राकेश बताउँछन् जसको दैनिक साढे चार लाखदेखि ५ लाखसम्म प्याड बनाउने क्षमता छ। एक मिनेटमा ६०० वटा प्याड बनाउन सकिए पनि बजार सानो भएकाले हाल २५ प्रतिशत मात्रै उत्पादन भइरहेको राकेश बताउँछन्।
तीन महिनाअघि नै बजारमा प्याड पुर्याए पनि लकडाउनका कारण अनलाइनमार्फत सार्वजनिक गर्नुपरेको उनले बताए।
'प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ,' उनले भने, 'केही गुनासो भए सम्बोधन गर्न र समाधानतर्फ लाग्न तयार छौं। तर नेपाली ब्रान्डमा मानिसले कम चासो देखाउँछन्। प्रयोगै नगरी नराम्रो भन्ने चलन छ। प्रयोग गरेर मात्र प्रतिक्रिया दिने हो भने नेपाली उत्पादनप्रति दृष्टिकोण फेरिन सक्छ।'