यजस्वी राई 'ह्विस्की' लाई खुब माया गर्छिन्। दिनको सुरूआत ह्विस्कीसँग जिस्केर हुन्छ। जहाँ उनी पुग्छिन्, ह्विस्की पछि लाग्छ।
चिम्सा आँखा र डल्लो ज्यानको ह्विस्की यजस्वीको प्यारो कुकुर हो। 'लेकलेकः द ग्रिन वेभ' की सर्जक यजस्वीले जन्मदिनको उपहारस्वरूप दिदीबाट ह्विस्की पाएकी थिइन्।
एक वर्षअघिको कुरा हो, घरको पर्खालदेखि कौसीसम्म सहजै उफ्रिने ह्विस्की त्यो दिन यसै चक्कर काट्दै रहेछ। उसको असामान्य व्यवहार देखेर यजस्वी आत्तिइन्। पछि थाहा भयो, ह्विस्कीको मलद्वारमा प्लास्टिक अड्केर कब्जियत भएछ।
ह्विस्की यो समस्याबाट मुक्त त भयो, यजस्वीको मनले भने शान्ति पाएन। उनलाई ह्विस्कीका साथै वातावरण समस्याले पिरोल्न थाल्यो।
'मैले कछुवाको नाकमा प्लास्टिकको 'स्ट्र' अड्केको भिडिओ देखेकी थिएँ। आफ्नै ह्विस्कीलाई त्यस्तै घटना हुँदा निकै दुःख लाग्यो,' उनले भनिन्, 'त्यसपछि मैले प्लास्टिक सामान घरमा भित्रिनै नदिने सोचेँ।'
यजस्वी पहिल्यैबाट प्लास्टिक कम प्रयोग गर्थिन्। सामान लिन जाँदा झोला बोक्ने बानी छ। परिवारका अरू सदस्यले पनि प्लास्टिक कम प्रयोग गरून् भन्ने थियो, साथ नमिल्ने कुरै भएन।
प्लास्टिकलाई विकल्पबिना रोक्न सहज छैन। यजस्वीलाई पनि प्लास्टिक जत्तिकै बलियो र टिकाउ सामान खोज्न जरूरी थियो। यही खोजले २०७५ चैतमा जन्मियो 'लेकलेकः द ग्रिन वेभ'।
कागजबाट 'स्ट्र' बनाएर काम सुरू गरेको लेकलेकले अहिले बाँसको दाँत माझ्ने ब्रस, कोठाभित्र राखिने बिरुवा, पुनःप्रयोग गरिने कागजबाट बनेका पेन्सिल लगायत वातावरणमैत्री सामग्री कारोबार गर्छ।
लेकलेकले औपचारिक काम थालेको छ महिना मात्र भयो। यो अवधिमा झन्डै ८० होटल-रेस्टुरेन्टमा सामान पुर्याइसकेको यजस्वी बताउँछिन्।
'लेकलेकले झन्डै पाँच लाख स्ट्र र दुई हजार ब्रस बजारमा पुर्याइसकेको छ। हिमालयन जाभा, बेकरी क्याफे, फ्लेबर्स लगायत ठाउँमा लेकलेकको स्ट्र चलिरहेको छ।'
उनका अनुसार लेकलेकका सामान 'अमेरिकी फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन' ले स्वीकृत गरेको छ। त्यस्तै 'क्लिन अप नेपाल', 'वाइल्ड लाइफ कन्जरभेसन' लगायत संस्थासँग साझेदारीमा काम गरिरहेको छ।
यजस्वीले 'डेभलपमेन्ट स्टडिज' मा स्नातक गरेकी छन्। पढाइ सकेर केही समय विभिन्न क्षेत्रमा प्रशिक्षार्थीका रूपमा आबद्ध भइन्। झन्डै एक वर्ष अमेरिकी दूतावास, नेपाल युवा परिषदमा सदस्य रहिन्। पछि उज्यालो फाउन्डेसन पुगिन्।
करिब १८ महिना उज्यालो फाउन्डेसनमा उनले 'इम्पावर हर' नामक कार्यक्रम समन्वय गरिन्। १८ देखि २९ वर्षका महिलासँगको अन्तर्क्रिया कार्यक्रमले उनलाई आफ्नै व्यवसायमा लाग्ने मनोबल दियो।
त्यही बेला आफ्नो कुकुर ह्विस्कीसँग भएको घटनाले थप धक्का दियो। ह्विस्कीको दुःखले उनलाई हरियालीतिर डोर्याए पनि नयाँ बाटो सहज थिएन।
प्लास्टिक विकल्प खोज्ने प्रयास यजस्वीले बजारमा पाइने 'स्ट्र' प्रतिस्थापनबाट गर्ने सोचिन्। बाँसको स्ट्र बजारमा ल्याइन्। होटल–रेस्टुरेन्टलाई लक्ष्य गरिएका बाँसका स्ट्रले बजार लिन सकेन।
'बाँसको स्ट्र प्लास्टिकको तुलनामा निकै राम्रो हो। प्रयोगपछि कुहिन्छ। तर प्रयोगकर्ताले त्यसबाट गन्ध आएको गुनासो गर्नुभयो। त्यसैले उत्पादन रोक्यौं,' उनले सुरूआती चुनौती सुनाइन्।
बाँसको स्ट्रले आफ्नो लक्ष्य पूरा नगरेपछि उनी हारिनन्। अझै लागिपरिन्। गुगल गरेर कागजको स्ट्र बनाउनसक्ने बुझिन्। आशा त पलायो, तर नेपालमा उत्पादन गर्ने कुनै कम्पनी पाइनन्।
उनी आफैंले उत्पादन गर्दा लागत र बजार दुवै महँगो पर्ने भयो। यहाँ उनलाई प्रविधिले सघायो। वेबसाइटमार्फत् एक भारतीय कम्पनीसँग सम्पर्क गरिन्।
'भारतबाट उत्पादन गरेर ल्याउँदा सस्तो र चाँडो बजारमा ल्याउन पाइने भयो,' थप बुझ्न उनी भारत पुगिन्। फर्केलगत्तै दुई लाख रूपैयाँ लगानीमा 'लेकलेकः द ग्रिन वेभ' सञ्चालनमा ल्याएकी हुन्।
सुरूमा भारतबाट काम भए पनि हाल लेकलेकले बाँसको ब्रस थाइल्यान्डमा बनाउँछ र कागजको स्ट्र चीनमा। धेरै सामान होटल क्षेत्र लक्षित भए पनि ब्रसको माग व्यक्तिगत तवरमा पनि हुने उनले बताइन्।
बाहिरी मुलुकबाट सामान आयातमा उनलाई जेनिश श्रेष्ठले सहयोग गर्छन् भने आर्थिक क्षेत्र सञ्जय खनाल र वितरण दिनुम राईले हेर्छन्।
यजस्वीका अनुसार लेकलेकले 'रिसाइकल' प्रणालीमा काम गर्छ। होटलमा प्रयोग भएका स्ट्र संकलन गरी उनीहरू यसबाट फेरि कागज बनाउँछन्। योबाहेक पुराना पत्रपत्रिकाबाट पेन्सिल बनाइन्छ।
'लेकलेकका सबै सामान वातावरण अनुकूल छन्। एउटा रूखबाट पन्ध्र सयवटा स्ट्र बनाउन सकिन्छ। यसमा जति काठ मासिन्छ, त्यही हिसाबमा रूख रोप्ने हाम्रो योजना छ,' उनले सुनाइन्।
वातावरणको हरियोपन जोगाउन आफू सचेत रहेको उनी बताउँछन्। आफ्ना उत्पादनका कारण वातावरणमा भएको क्षतिको साटो वृक्षरोपण गर्ने कम्पनीको योजना छ। कम्पनीको नामले पनि यसमा जोड दिन्छ। 'लेकलेक' राई भाषाको शब्द हो जसको अर्थ हरियो भन्ने लाग्छ।
उनका अनुसार 'टेवा' सस्थासँगको सहकार्यमा काठमाडौं, तारकेश्वरमा ७०० रूख रोपिसकिएको छ। हरेक वर्ष भोजपुरमा वृक्षरोपण गर्ने योजना छ।
'हामी वातावरणसँग जोडिएर काम गर्छौं। व्यवसायको आधा नाफा वातावरणकै लागि जान्छ। कुनै रेस्टुरेन्ट-होटलले एक वर्षमा हामीबाट पचास हजार स्ट्र लियो भने भोजपुरमा उनीहरूको नाममा रूख रोप्ने छौं,' यजस्वी दीर्घकालीन सोच सुनाउँछिन्, 'पछि त्यो रूखबाट आएको नाफाको दस प्रतिशत होटलकै लागि जानेछ।'
हाल काठमाडौं केन्द्रित लेकलेकका सामान पोखरामा परीक्षण हुँदैछ। यसको बजार देशभर विस्तार गर्ने यजस्वीको योजना छ।
कुनै समय विदेशिने रहर भएकी यजस्वी बुबाको सल्लाहमा नेपाल बसेकी थिइन्। यजस्वीका अनुसार उनका बुबा मोहनकुमार राई नेपालका लागि करातेमा पहिलो अन्तर्राष्ट्रिय मेडल ल्याउने खेलाडी हुन्। आफ्नो समाज र राष्ट्र बुझ्न स्वदेशै बस्नुपर्ने पाठ बुबाले नै उनलाई पढाएका थिए।
बुवाको कुरा सुनेर यहीँ बसेको निर्णय उनलाई सही लाग्छ।
अहिले जागिर छाडिसकेकी उनको पूरा ध्यान लेकलेकमै छ। यसबाहेक चार महिनायता हरेक शनिबार टोलका ६ देखि १८ वर्षका केटाकेटीलाई व्यक्तिगत विकासका लागि चाहिने कुरा सिकाइरहेकी छन्। केटाकेटीलाई प्रविधि, समाजका गतिविधिबारे जानकारी दिँदै छलफल गराइने उनले बताइन्।
'मलाई पहिल्यैदेखि समाज, वातावरण र केटाकेटीसँग खुब लगाव छ,' २६ वर्षीया यजस्वी भन्छिन्, 'समाज परिवर्तनका लागि सबैले पहल गर्नुपर्छ। म पनि लेकलेकसँगै केही परिवर्तनमा लागेकी हुँ।'
त्यसैले उनी आफूलाई उद्यमी होइन, रचनात्मक व्यवसायी भन्छिन्।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
(लेकलेकका सामान कम्पनीको इन्स्टाग्राम, फेसबुक वा ९८६०९०३५१५ सम्पर्क गरी अर्डर गर्न सकिन्छ।)