नख्खुका नितेश शर्माले एक दिन 'ज्याक ड्यानियल्स'को बोतल ओल्टाइपल्टाइ नियाले र सोचे- आधा लिटरकै तीन हजार रूपैयाँभन्दा बढी पर्ने मदिरा। महँगोमा किनेको, रित्तिएपछि कवाडीवालाले दुई–पाँच रुपैयाँमा लैजान्छ। यो बोतललाई केही उपयोग गर्न सकिन्न?
उनको 'केही गर्न सकिन्न' प्रश्न बोतलकै रूपमा पुनः प्रयोगमा ल्याउने विषय मात्र थिएन। बोतलबाट अर्कै सामान बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो। 'अपसाइकल' कसरी गर्ने भनेर सुरूमा अलमलिएका नितेशले यसलाई 'ल्याम्प' रूप दिने सोचे।
बोतलमाथि बत्ती जोडे, त्यसमा ल्याम्पमाथि राखिने छानो हाले। झन्डै पन्ध्र दिन लगाएर बनाएको ल्याम्प नितेशले 'हाम्रो बजार–अनलाइन स्टोर' मा राखे। केही दिनमै एक हजार एक सय रूपैयाँमा उनले घरैबाट बोतल-ल्याम्प बेचे।
पहिलो प्रयासमै मीठो स्वाद चाख्दा उनको हौसला उक्सियो, 'बोतल-ल्याम्प त्यति चाँडो बिक्ला भन्ने सोचेकै थिइनँ। पाँच रूपैयाँमा जाने सामानमा मिहिनेत र अलिकति लगानी गर्दा राम्रो कमाइ भयो।'
'अपसाइकल'को पहिलो कामले दिएको कमाइमा नितेश सन्तुष्ट थिए। अनि २०७२ को मध्यतिर एक लाख रूपैयाँ लगानी गरी अपसाइकल कम्पनी खोले- धासू डिल्स।
'धासू' शब्द युवामाझ प्रख्यात छ जसको अर्थ 'बब्बाल' (निकै राम्रो) भन्ने लाग्छ।
'लोगो अगाडि नै डिजाइन गरिसकेको थिएँ। त्यहीअनुसार नाम खोज्दै थिएँ,' नितेशले साथी सुमनलाई सम्झिँदै भने, 'साथीसँग सल्लाह लिँदा सुमनले धासू शब्द निकाल्यो। मनपरिहाल्यो।'
धासूले सवारीसाधनका पाटपूर्जा, टायर, सिसा, फ्लेक्स, विद्युतीय फोहोर, धातुजन्य वस्तु, प्यालेट (मुख्यतया विदेशबाट सामान ल्याइएका काठका बाकस) लगायत थुप्रै प्रयोग भइसकेका चिजबाट नयाँ-नयाँ सामान बनाउँछ।
टायरबाट स्पिकर र हात धुने बेसिन, बोतलबाट हुक्का तान्ने भाँडा, बाँस प्रयोग गरी बत्ती, पुरानो गाडीको सोफा, प्यालेटका फर्निचर, सजावट सामग्री जस्ता नयाँ सामान नितेशले बनाएका छन्। यीबाहेक काठका झुम्का, बाकस, कि-रिङ, नेमप्लेट, गमला पनि छन्।
नितेशले धासूमार्फत सामान बनाएर बेच्ने मात्र होइन, कुनै अफिस वा क्याफेको पूरा साजसज्जा पनि जिम्मा लिन्छन्। उनले गरेको राम्रो काममध्ये एक हो बखुन्डोलको क्याफे टेरिस क्यापिचिनोको साजसज्जा।
नितेशका अनुसार यहाँका फर्निचरदेखि सबै 'सेटअप' धासूले गरेको छ। त्यस्तै फोर्ड मोटर कम्पनीको थापाथली सोरूममा कारको अघिल्लो भागलाई सोफा रूप दिएका छन्।
'थुप्रै होटल, क्याफे, रेस्टुरेन्ट र अफिस हामीले सजाएका छौं,' ३१ वर्षीय नितेश भन्छन्, 'कलम राख्ने भाँडोदेखि टिस्यु बाकससम्म उपलब्ध गराएका छौं।'
धासूमा बन्ने प्रायः सामानका लक्षित ग्राहक गृहिणी हुन्। नितेश विश्वास छ- घरमुलीले चाहे घरमा सामान भित्रिन्छ। भान्सादेखि बेडरुमसम्मका सामान धासूले अपसाइकल गरेरै बनाउनसक्ने उनी बताउँछन्।
ललितपुर, बखुन्डोलमा रहेको धासू डिल्सले ९५ प्रतिशत सामान ग्राहककै फर्माइसअनुसार बनाउँछ। अहिलेसम्म ६०० बढी डिजाइनका सामान बनिसकेका छन्।
नितेशको यहाँसम्मको यात्रा भने नामझैं धासू थिएन।
उनले भारतबाट 'होटल व्यवस्थापन' पढेका हुन्। खाना पकाउन मन लाग्ने भएकाले यो विषय रोजेको उनी बताउँछन्। पढाइक्रममा ताज होटलमा प्रशिक्षार्थी रहेका उनी पछि गुरगाउँको पुलमन होटलको 'फ्रन्ट डेस्क'मा पुगे। १८ महिनाको नियुक्ति थियो, नौ महिनामै छाडे।
'फ्रन्ट डेस्क मेरा लागि बनेजस्तो लागेन,' उनले भने, 'बरु सेल्सको काममा लाग्ने सोचेँ। तर पढाइ र अनुभव थिएन।'
निकै ठाउँबाट अस्वीकृति झेल्नुपरेको किस्सामा जोड्छन्, 'अन्तमा एउटा कम्पनीमा काम पाएँ। सेल्स एजेन्टबाट सुरू गरेर म्यानेजरसम्म भएँ।'
पछि उनलाई परिवारले नेपाल फर्कन आग्रह गरे। पढाइ पनि सकिसकेकाले उनी २०७० सालमा फर्किए। नितेशलाई यहाँ पनि जागिरका लागि संघर्ष गर्नुपरेको थियो, 'भारत र नेपालमा काम फरक हुन्छ भन्दै थोरै तलबमा काम लगाउन खोज्थे। पछि काकाले लिक्वर स्टोरमा काम लगाइदिनुभयो।'
मदिरा स्टोरमा व्यापार-विकास प्रबन्धक रहेका उनले नौ महिना त्यहीँ बिताए। पछि 'दराज–अनलाइन सपिङ' मा सेल्स प्रमुखका रूपमा काम गरे।
विभिन्न जागिरको अनुभव सुनाउँछन् उनी, 'सबै काम अरुकै हिसाबमा गर्दा आफ्नोपन महशुस हुन्थेन।'
'बोतल-ल्याम्प बिक्री भएपछि अरूले यस्ता सामान के-के बनाएका होलान् भन्दै गुगल गरेँ। युट्युब हेरेँ। नेपाली बजारमा अपसाइकलप्रति धेरै चासो भेटिनँ,' उनले धासूको विगत सुनाए।
अनि उनलाई के चाहियो !
सेल्स प्रमुखको जागिर छाडे। कागज, काठ लगायत सीमित सामान मात्र पुनः प्रयोग भइरहेका समयमा नितेशले विद्युतीय, अटोमोबायल्स र धातुजन्य फोहोर अपसाइकल गर्ने सुरसार कसे।
उनको सुरसारमा धेरै रिसाए। पढे-लेखेको, घरको जेठो सन्तान, जागिर छाडेर यो काममा जुट्लान् भन्ने परिवारले सोचेकै थिएनन्।
'जागिर छाडेर नयाँ क्षेत्रमा हात हाल्नु जोखिम हो। राम्रो काम छाडेर कवाडीवालाको काम गरेको भन्दै चिनेकाहरू रिसाउनुहुन्थ्यो,' समाजमा नगनिने काममा लागेको भन्दै परिवार रिसाएको सम्झिँदै भने, 'पागल भइस्? ढंगको काम गर्न जा भन्नुहुन्थ्यो।'
नितेशले कसैको कुरा सुनेनन्, मनको आवाज पछ्याए।
के-कस्ता सामान अपसाइकल गर्न सकिन्छ भनेर बुझ्न ६ महिना अध्ययन गरे रे। भन्छन्, 'सबै काम परीक्षण हो। जति डुल्यो, उति नयाँ सामान फेला पर्छ। अपसाइकल गर्न रमाइलो हुन्छ।'
जागिरबाट सिधै रचनात्मक काममा आउँदा उनको मनको शान्ति उक्लिँदै थियो, व्यवसाय भने ओरालो लागिरहेको।
'पहिलो दुई वर्ष त कामदारकै भरमा काम गरेँ। पछि मात्र बुझेँ, यो त होइन मैले खोजेको,' उनले भने, 'अनि आफैं कार्पेन्टरको काम र डिजाइनिङ सिकेँ। बल्ल सहज भयो।'
नितेशलाई कलाकारिता मनपर्छ। अपसाइकल गरिने प्रायः सामान आफैं डिजाइन गर्छन्। धासूको सामाजिक सञ्जाल र बजार २३ वर्षीया अलिशा राईले हेर्छिन् भने सामान बनाउन कामदार छन्।
'गो ग्रिन'मा विश्वास राख्ने उनी भन्छन्, 'फोहोर र कवाड मानिने वस्तुबाट पनि राम्रा–राम्रा उपयोगी सामान बनाउन सकिन्छ भन्ने बुझाउनुछ मैले।'
अपसाइकलको काम सहज छैन। सामान (कवाड) खोज्न नयाँ-नयाँ कवाडखाना पुग्नुपर्छ। सामान बनाउन निकै मिहिनेत लाग्छ। तर उनी यसैमा खुसी छन्।
अचेल उनको कामको प्रशंसा हुन थालेको छ, 'धेरैले मेरो काम प्रशंसा गर्नुहुन्छ। एक दुईजनाको नकारात्मक प्रतिक्रियाले मलाई फरक पार्दैन। सुधार्नुपर्ने भए स्वीकार्छु।'
नितेश धासूलाई सिकाइको थलो पनि बनाउन चाहन्छन्। आगामी दस वर्षमा धासूबाट 'वर्कसप' सञ्चालन गर्ने योजना बुन्दैछन्।
'मान्छेलाई फोहोर र कवाडको महत्व बुझाउनै भए पनि यो काम गर्न जरुरी छ,' हरेक दिन नख्खु-बखुन्डोल साइकलमै आउजाउ गर्ने नितेशले भने।
(यो लेख सेतोपाटीमा पहिलो पटक २०७६ माघ २९ गते प्रकाशित थियो।)
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
धासू डिल्सलाई उनीहरूको फेसबुक पेज वा फोन नम्बर ९८१८०८३६४३ मा सम्पर्क गर्न सकिन्छ।