बरन्डा र भर्याङछेउ माटाका हाँडीको लश्कर हामीलाई स्वागत गर्न तत्परजस्तै देखिन्छ।
यो हाँडी बनाउने ठाउँ होइन, हाँडीमा बिरयानी पाइने ठाउँ हो।
नौ महिनाअघि खुलेको डिल्लीबजारस्थित 'हाँडी बिरयानी' नामको रेस्टुरेन्टका संस्थापक दुई दाजुभाइ हुन्- ३६ वर्षीय पोषण नेपाल र ३० वर्षीय पूजन नेपाल।
अघिल्लो वर्ष अस्ट्रेलियाबाट फर्किएलगत्तै उनीहरूले यो व्यवसाय सुरू गरेका हुन्। खानाका सोखिन उनीहरू केही व्यवसाय गरौं भनेरै फर्केका थिए।
पोषण सन् २००९ तिर पढाइ सिलिसिलामा अस्ट्रेलिया पुगेका थिए। उनकै पाइला पछ्याउँदै पूजन पनि पाँच वर्षअघि उतै गए।
दुई दाजुभाइले त्यहाँ 'बिजनेस' पढे। दुवै जना रेस्टुरेन्टसँग जोडिए। पोषणले तरकारी काट्ने तहबाट काम गरेर पछि लेखा (अकाउन्ट) को काम गरे। पूजन भाँडा माज्ने कामबाट सुरू गरेर भान्सेसम्म भए।
रेस्टुरेन्टको कामबाट उनीहरूले केही ज्ञान हासिल गरे। जब नेपालको राजनीतिक वातावरण स्थिर भयो, उनीहरू अस्ट्रेलिया छाडेर यहाँ आए।
नेपालभन्दा अस्ट्रेलियामा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको सुविधा राम्रो थियो। सुरक्षित र राम्रो जीवन पाए पनि पोषण र पूजन नेपाल नै फर्कने हुटहुटी भएको बताउँछन्।
'बाहिर रहँदा आफ्नो देशप्रति झनै झुकाव बढ्ने रहेछ। जति बेला पनि नेपालकै बारेमा सोच आउँथ्यो,' पोषणले भने, 'हाम्रो सीप र ज्ञान नेपालमा ल्यायौं भने देशका लागि थोरै योगदान र हामीलाई आत्मसन्तुष्टि पनि होला भन्ने थियो।'
यही मनसायले फर्किएपछि उनीहरूले 'फास्ट फुड' व्यवसाय गर्ने सोचे। भारतको दिल्ली गई विभिन्न व्यवसाय चहारेर अनुसन्धान गर्न थाले।
त्यहाँको बबल चिया, वाउ मःम लगायत प्रसिद्ध व्यवसाय कसरी चलिरहेको छ, त्यसको रणनीति बुझ्न थाले।
१२ दिनको दिल्ली बसाइमा 'फास्ट फुड' को अध्ययनसँगै उनीहरूले त्यहाँ भेटेजति खाना पनि खाए। त्यसै क्रममा एकदिन उनीहरू मुग्लाई खानाको रेस्टुरेन्ट पुगे, जहाँ उनीहरूले चिकेन बिरयानी मगाए।
'सेतो चामल, झानेको प्याज र रायतासँग पस्किएको बिरयानी हेर्दा खासै केही लागेन। खाँदा भने खाइराखौंजस्तो स्वादको थियो,' पूजनले भने, 'बाँकी बसाइमा हामीले बिरयानी नै खायौं।'
त्यो बेला पूजनको पढाइ सकिन तीन महिना बाँकी नै थियो। उनी अस्ट्रेलिया फर्किए।
पोषण भने 'फास्ट फुड' व्यवसायबारे सोच्न थाले। फास्ट फुडमा सुपथ मूल्यमा छिटो खाना दिनुपर्छ। त्यो व्यवसाय नेपालमा कति सम्भव होला? भारतको व्यवसाय हेरेर दंग पर्दै फर्किए पनि नेपाली बजारबारे बुझ्न थालेपछि पोषण अलमलिए।
'हामी बर्गर र पास्ता ल्याएर दीर्घ हुन सक्दैनौं। मःम र चाउमिन पनि कति गर्नु,' त्यो बेलाको अलमल सम्झँदै पोषणले भने, 'नेपालीको मुखमा परिरहेको खानाकै ब्रान्डिङ गर्न सक्ने के होला भन्ने लागिरह्यो।'
पूजन नेपाल फर्किएपछि फेरि पहिलेको 'आइडिया' बारे उनीहरू विचार गर्न थाले। अन्तिम निष्कर्ष निकाले- दिल्लीकै बिरयानीको स्वाद।
'बिरयानीलाई नेपालीकरण किन नगर्ने? हाम्रो दाल, भात, तरकारी, अचारजस्तो खाना नै आफैंमा बिरयानीजस्तो हो। सानैदेखि मुखमा बसेको स्वाद पनि,' पोषणले भने, 'यो खाना ल्यायौं भने लन्च वा डिनरका रूपमा पनि खान सकिन्छ।'
बिरयानीकै रेस्टुरेन्ट खोल्ने भनेर बल्ल यी दाजुभाइ स्पष्ट भए। यसैलाई ब्रान्ड बनाएर लैजाने योजना बुन्न थाले।
सुरूआत घरैबाट भयो। खाना बनाउन सोखिन पूजनले आफ्नै पाकविधि तयार पारे- माइक्रोओभनमा पकाएर।
बिरयानी बनाउँदा उनले मुगलशैली पछ्याएको बताउँछन्।
अलैंची, ल्वाङ, शाही जिरा, केशर, कश्मिरी खुर्सानी, अदुवा, तेजपात लगायत १८ प्रकारका मसला प्रयोग गरे। यसको स्वाद फरक नपरोस् भनेर चार महिनाको अन्तरालमा लखनउ पुगेर मसला ल्याउने गरेको उनीहरू बताउँछन्। चामल पनि उसिनेको नभई दुई सयभन्दा बढी मूल्यको 'ह्वाइट राइस' प्रयोग गर्छन्।
बिरयानीलाई भारतीय खाना मान्ने धेरै छन्, तर यसको उद्गम थलो इरान हो। आर्मी क्याम्पमा हजारौं आर्मीलाई तरकारी, चामल लगायत मिसाएर खाना बनाउँदा तयार भएको। पछि भारतमा विकसित भएर बिरयानीका रूपमा प्रख्यात भयो।
'नेपाल–भारत सांस्कृतिक र सामाजिक रूपमा नजिक छन्। हामी यस्तो धारमा छौं, दुई देशको प्रभाव खानामा परिहाल्छ,' पूजनले भने, 'हामीले बिरयानीलाई नेपालीकरण गर्न खोज्दा खानासँगै नामलाई पनि आफ्नै शैलीको बनाएका छौं। नेपालीमा हाँडी र अंग्रेजीमा बिरयानी लेखेका छौं। विदेशी पनि हाम्रो खानामा आकर्षित होऊन् भनेर।'
यहाँको बिरयानीको विशेषता नै हो, भक्तपुर, थिमीको प्रजापति बस्तीमा बन्ने हाँडीमा बनाइने।
विशेषगरी बाफले पकाउनु बिरयानीको विशेषता हो। चिसो बिरयानी खान मज्जा आउँदैन। त्यसैले कम्तीमा दुई घन्टा तातो कसरी राख्ने भन्नेबारे पोषण र पूजन सोच्न थाले। अनि आइडिया फुरेको हो हाँडीको।
'माटोका भाँडामा पानी राख्यो भने धेरैबेर चिसो हुन्छ। चिसो बचाइराख्नेले तातो पनि गर्छ भन्ने भयो,' पोषणले भने, 'बिरयानीलाई नेपालीकरण गर्न र मौलिकता दिन हाँडी प्रभावकारी हुन्छ जस्तो लाग्यो।'
घरमै बिरयानी बनाएर आफूमाथि अलि विश्वास हुन थालेपछि अघिल्लो वर्ष पुसतिर उनीहरूले डिल्लीबजारको राधेमार्गमा भान्सा बनाउन थाले र फागुनमा रेस्टुरेन्टको 'प्रि-ओपनिङ' भयो।
रेस्टुरेन्ट एकतर्फी बाटोमा छ र पार्किङ व्यवस्था राम्रो छैन। व्यवसायमा यो चुनौती हो। तर खोजेजस्तो ठाउँ नभेटेपछि उनीहरूले यहीँ सुरू गरे।
'हामीलाई झोला बोकेर फेरि विदेश फर्किनु थिएन। त्यसैले डेलिभरी मात्रै गरौं, नभए चल्दैन भन्ने थियो,' पोषणले भने।
त्यही भएर रेस्टुरेन्टबाट करिब सात किलोमिटरसम्म उनीहरूले बिरयानी र अन्य खानेकुरा डेलिभरी गर्न थाले।
यहाँ बिरयानी दुई आकारका हाँडीमा पाइन्छ। दुई जनालाई सानो र चार जनालाई पुग्ने ठूलो हाँडीमा। सात सयदेखि १५ सय रूपैयाँसम्मका विभिन्न स्वादमा चार प्रकारका बिरयानी पाइन्छ।
तरकारी, कबाब, डिजर्ट (मिठाइ) र रोटीका विभिन्न स्वाद गरेर २१ थरी परिकार छन्। यी खाना प्रि-ओपनिङ क्रममा धेरै परीक्षण गरेको उनीहरूले बताए।
'छिमेकीलाई कति दिनसम्म सित्तैमा खुवायौं। उनीहरूले त 'पैसा कमाएर अस्ट्रेलियाबाट ल्याएका छन्, दुई-चार महिना फूर्ति हो, अनि जान्छन् भन्दै' उडाउन पो थाले,' पोषणले भने, 'हामी आफैंमा विश्वस्त भएपछि वैशाखतिर खोल्ने भन्ने सोचमा थियौं। त्यस्तो सुन्न थालेपछि आफैंलाई दबाबमा राखेर चैतमा खोल्ने भनेर सूचना टास्यौं।'
सूचना टाँसे पनि उनीहरूमा अझै एउटा अन्योल थियो। अरू खानामा ढुक्क भए पनि उनीहरूको मुखमा त्यही पुरानो दिल्लीको बिरयानी स्वाद बसेकाले विश्वस्त हुन सकेनन्।
'झन् यता धेरै पकाउँदा बिरयानीको त्यो स्वाद नै होइन, अर्को के बनाइरहेका छौं जस्तो भयो,' पूजनले हाँस्दै भने।
यही अलमल र त्यही स्वाद सम्झँदै रेस्टुरेन्ट खोल्नु केही दिनअघि उनीहरू फेरि भारत पुगे। लखनउ, दिल्ली लगायत ठाउँका स्वाद चाखे।
'सय वर्षको इतिहास बोकेको लखनउको बिरयानी खाँदा त हामीले त्यहाँको स्वादलाई जितेजस्तो लाग्यो। केही ठाउँमा त पछि माइक्रोवेभमा तताएर पनि खुवाइएको पायौं। त्यो हेर्दा हामीले त राम्रो काम गरिरहेका रहेछौं भन्ने भयो,' पोषणले भने, 'दिल्लीको जस्तो नभए पनि लखनउको स्वादलाई पक्कै जितेका थियौं।'
विश्वस्त भएर फर्किएपछि 'हाँडी बिरयानी' आधिकारिक रूपमा खुल्यो। डेलिभरी गर्न मात्रै खुले पनि अवस्था सोचेभन्दा फरक भयो।
'रेस्टुरेन्ट खोलेर पनि छिमेकीले खान नपाउने भनेपछि बरन्डामा दुइटा टेबल राख्यौं। पछि माथिको तला नै लिनुपर्यो। पार्किङ र बाटो राम्रो नभएको ठाउँमा केही महिनामै त्यस्तो हुनु भनेको हामीले व्यवसायका सबै नियम तोड्नुजस्तै हो,' बिजनेसका विद्यार्थी पोषणले व्यवसायका नियम सम्झे।
अहिले हाँडी बिरयानीले दुई तला ओगटेको छ। खानाको गुणस्तर कायम राख्न लखनउबाटै एक जना भान्से ल्याएका छन्। तरकारी काट्ने, 'मरिनेट' गर्ने लगायत काम बिहान आठ बजेबाटै सुरू हुन्छ, अनि कोल्ड रूममा राखिन्छ।
'यतातिर सबै काम फ्रिजबाट चलाइरहेकोमा हामीलाई भने कोल्ड रुम नै चाहिन्छ भन्ने थियो,' पूजनले भने, 'रेस्टुरेन्टका सजावटमा भन्दा बढी ध्यान किचन र खानामा दिएका छौं। आखिर खाना नै मुख्य हो।'
यो रेस्टुरेन्ट करिब ७५ लाख रूपैयाँ लगानीमा सुरू गरिएको थियो। त्यो रकम लगभग अहिलेसम्म उठिसकेको उनीहरू बताउँछन्।
यो सफलता सुरूआतमै भएको भने होइन।
नयाँ व्यवसाय थाल्नेलाई उनीहरू सुझाउँछन् पनि, 'कतिपयले आज व्यवसाय थाल्यो, भोलिदेखि चलिहाल्छ भन्ने सोच्नुहुन्छ। त्यस्तो हुँदैन। धैर्य गर्नुपर्छ।'
विदेशबाट फर्केर केही गरौं भन्नेले त झन् धेरै कुरा ख्याल राख्नुपर्ने उनीहरू बताउँछन्। सुरक्षित र राम्रो जीवन देखे-पाइरहेकाले यहाँ फेरि शून्यबाट सुरू गर्नुपर्छ। यहाँको समाज र वातावरणसँग पुनः घुलमिल हुनै समय लाग्न सक्छ।
'फर्कन चाहनेले आफ्नो चाहना र यहाँको बजार बुझेर, अनुसन्धान गरेर मात्रै आउनु राम्रो। पैसा मात्र अगाडि राखेर व्यवसाय गर्छु भनेर हुँदैन,' पूजनले भने, 'मेहनत र लगाव चाहिन्छ। म १२ घन्टा पकाएरै बस्नुपर्यो भने पनि दुःख महशुस गर्दिनँ। मन जोडिएको काम गर्यौं भनेर खुसी छौं।'
एकतर्फी बाटो र पार्किङ राम्रो नभएको यो ठाउँमा उनीहरूले नौ महिना रेस्टुरेन्ट सञ्चालन गरिसकेका छन्। यसलाई हाँडी बिरयानीको 'उद्गम थलो' मानेर अन्य ठाउँमा पार्किङसहितको 'आउटलेट' खोल्ने तयारीमा छन् नेपाल दाजुभाइ।
'यहाँ आउने साथीहरूले पनि सर्न भनिरहेका छन्। ठूलो पार्टी गर्ने ठाउँ छैन,' पोषणले भने, 'हामी यहाँबाट त सर्दैनौं। अर्को ठाउँमा चाँडै आउटलेट खोल्नेछौं।'
'हाँडी बिरयानी' विदेशबाट फर्केर केही गर्न चाहनेका लागि मानक बनिरहेको पोषण र पूजनको भनाइ छ।
दाजुभाइ भन्छन्, 'बाहिर धेरै मान्छे खुसी छैनन्। उनीहरू फर्कन चाहे पनि अलमलमा छन्। उनीहरूका लागि हामी उदाहरण बन्न चाहन्छौं।'