केही समयअघि पोखरामा भएको 'नेपाल साहित्य महोत्सव' मा साहित्य, संस्कृति र समाजसँगै झोलाबारे पनि कुरा भयो।
अनौपचारिक सेसनहरूमा झोलाबारे कुरा गर्ने धेरै थिए।
वक्ता, सहजकर्ता र स्वयंसेवीले काँधमा भिरेको झोला देखेर लोभिनेहरू भनिरहेका थिए, 'आहा, कस्तो राम्रो झोला!'
झोला पाउनेहरू मख्ख थिए। नपाउनेहरू भनिरहेका थिए– खै त मलाई?
नेपाली कच्चा सामग्री प्रयोग गरी हातैले बुनिएको झोलाको डिजाइन आकर्षक थियो। झोला तयार पार्ने पोखराकै 'वोभन ब्रान्ड'ले लेकसाइड बाराही र हल्लनचोकमा आफ्नो पसल खोलेको रहेछ।
वोभनका पसल पुगेपछि देखियो– चार सयभन्दा धेरै किसिमका साना ठूला झोला र पर्स। जुन हेर्यो, त्यही राम्रो। यसबाहेक वोभनले टेबल क्लोथ, कुसनका खोल, किरिङ, स-साना गुडिया र सजावटका सामान पनि बनाउने रहेछ।
वोभनका उत्पादनबारे संस्थापक अनुप खड्काले जानकारी दिए, '९० प्रतिशत झोलै बन्छ। १० प्रतिशत टेबल क्लोथ, कुसन कभरजस्ता सामग्री बनाउँछौं, जुन लेकसाइडका अधिकांश होटलले प्रयोग गरेका छन्।'
वोभनले पोखराका स्थानीयबाहेक लेकसाइडमा डुल्ने स्वदेशी र विदेशी दुवैखाले पर्यटकलाई लोभ्याएको छ। वोभनको प्रगति र विस्तारको कथा पनि लोभ लाग्दै छ।
स्थापनाको चार वर्षमै यो पोखराबाट काठमाडौं हुँदै विदेशसम्म फैलिएको छ। वोभन उत्पादन हाल जर्मनी, बेलायत, अस्ट्रेलिया, क्यानडाजस्ता देश निर्यात हुने अनुप बताउँछन्। उनका अनुसार, ८० प्रतिशत सामान लेकसाइड र काठमाडौं ठमेलबाटै बिक्री हुन्छ। बीस प्रतिशत विदेश निर्यात हुन्छ।
नेपाली कच्चा सामग्रीबाट हातले बुनिएका वोभन उत्पादनमा परम्परा र आधुनिकताको गज्जब मेल पाइन्छ। पश्चिम नेपालको गुरुङ समुदायमाझ हाते तानबाट भांग्रा, राडी आदि बुन्ने परम्परागत विधि अझै अभ्यासमा छ।
अनुपका अनुसार, वोभनले यही विधि अपनाएको छ। यस्तो अभ्यासले परम्परागत मौलिक सीप बाँच्ने र उत्पादनमा नयाँपन देखिने दोहोरो फाइदा भएको उनको दाबी छ।
पर्वतको सालिजा गाउँका मगरहरूले सालिजा सहकारीबाट सिस्नोको कपडा तयार पार्छन्। अनुपका अनुसार, जाइकाले स्थानीयलाई तालिम दिएर तयार पार्ने यो कपडा गुणस्तरीय छ। वोभन झोलामा प्रयोग हुने दुईमध्ये एउटा कपडा यही सालिजाका मगरले तयार पार्दै आएका छन्।
'असाध्यै राम्रो कपडा भएर पनि बजार नपाएको अवस्था थियो,' उनी भन्छन्, 'नेपाली उत्पादनको काम गर्दा यसरी सोझै समुदायको सीप संरक्षण पनि भइरहेको छ। खुसी लागेको छ। यो वातावरणमैत्री पनि छ।'
वोभनको कामले समुदाय मात्रै हैन लैंगिक हिसाबले पनि महिला हितमा सकारात्मक प्रभाव पारिरहेको उनको दाबी छ। वोभनले 'कटन' कपडा महिला सीप विकास संस्था (डब्लुएसडिओ) सँग किन्छ। त्यहाँ आठ सय महिला काम गर्छन्। उनीहरूलाई सीपमूलक तालिम दिई रोजगारी सिर्जना गर्ने आत्मनिर्भर बनाउन डल्बुएसडिओले तीन दशक धेरैदेखि काम गर्दै आएको छ।
रोचक कुरा, डल्बुएसडिओका नेतृत्वमा अनुपकै आमा रामकली खड्का सुरूआती चरणदेखि सक्रिय छिन्। अनुपकै पृष्ठभूमि, रूचि र काम गर्ने शैलीमा पनि डल्बुएसडिओले गहिरो प्रभाव पारेको छ।
पोखरा सिमलचौरका अनुप हुर्कने बेला डब्लुएसडिओको कारखाना र घर सँगै थियो। उनी सानैदेखि आमाको काममा सघाउँथे। आमाको काम विस्तारै उनको रूचि बन्यो। डब्लुएसडिओसँग उनी एक दशक जोडिए। आमाको पदचाप पछ्याउँदै पाइला बढाएका अनुप अब यो क्षेत्र आफैं खुड्किलो चढ्ने भइसकेका छन्। काठमाडौं ठमेलको पसलमा पनि उनका दाइ बस्छन्।
महिलाले रोजगारी पाउँदा कसरी व्यक्ति, परिवार र समाजमै सकारात्मक प्रभाव पार्छ, उनले आमाको कामबाटै महशुस गरेका थिए। वोभनमा पनि त्यसैलाई निरन्तरता दिएका छन्।
वोभनको नामसँगै लेखिएकै छ– इम्पावरिङ वुमन।
हल्लनचोक नजिकै वोभन सुरू हुँदा तीन कामदार थिए, अहिले तीस पुगे।
अनुप भन्छन्, 'हाम्रो देशमा महिला उत्पीडनमा छन्। आर्थिक समस्यामा परेका बेरोजगारदेखि एकल महिलालाई समेत सहयोग होस् भनेर महिला कामदार मात्रै लिइएको हो।'
व्यवस्थापन समूहमा सुपरभाइजर, डिजाइनर र टिम लिडर मासिक तलबमा काम गर्छन्। झोला बनाउनेहरू गोटाका हिसाबमा। झोला बनाउन कारखाना नआई सामान्य तालिम लिएर घरमै बनाउने सुविधा प्रयोग गर्नेहरू पनि छन्।
अनुपको दाबी छ, 'सरकारले तोकेको मासिक न्यूनतम पारिश्रमिक तेह्र हजार पाँच सय छ। मैले त्योभन्दा धेरै, दिनको आठ सय बढी हुने ज्याला तोकेको छु।'
डब्लुएसडिओमा हुँदा अनुपले तीन अलगअलग डिजाइनरसँग काम गरेका थिए। पिसकोर, अमेरिकाबाट आएका मार्केटिङका मान्छेसँग पनि संगत गर्ने मौका पाए। यही क्रममा डिजाइनिङ सिकेका उनले वोभनका डिजाइन आफैं बनाउँछन्। सुरूमा पन्ध्र-बीस वटा बनाएर बजार परीक्षण गर्दा रहेछन्। ग्राहकले मनपराए संख्या थपेर नियमित उत्पादन गर्छन्।
उनले सिस्नोको कपडामा कटन र छाला मिसाएर डिजाइनमा नयाँपन ल्याउने प्रयास गरेका छन्।
भन्छन्, 'आमाले पुरानो तरिकाले चलाइरहेको कुरा अलि नयाँ र फरक गर्ने प्रयास गरिरहेको छु।'
वोभन झोलाको ह्यान्डलमा गरिने छाला प्रयोगलाई यसरी नै अर्थ्याउँछन् उनी। यो छाला भैरहवाबाट ल्याइन्छ।
छोटो समयमै स्थापित वोभनको सफलतामा अनुपले आमाबाट सिकेको ज्ञान, अनुभवबाहेक उनको लगाव र सोचले पनि काम गरेको छ।
३५ वर्षे अनुपका कुरा सुन्दा लाग्छ, उनी सबै समय यही काममा दिइरहेका छन्।
भन्छन्, 'मेरा साथीभाइ, आफ्नै काम भनेर अल्छी गरेको देख्छु। मलाई हरेक दिन कहिले कारखाना-पसल पुगौं र काम गरौं भन्ने लागिरहन्छ।'
उनको यस्तै जाँगरले वोभन फैलिइरहेको छ।
'तपाईं पत्याउनुहुन्छ, हुँदैन, मैले ४८ हजारबाट सुरू गरेको हुँ,' उनी भन्छन्।
नेपाली ग्राहकलाई पनि बेवास्ता गर्न नहुने मत राख्छन् उनी। त्यसैले सामानको मूल्य नेपाली र विदेशीलाई फरक राखिएको उनी बताउँछन्। वोभन 'फिक्स्ड प्राइस'मा ३०० देखि ८ हजार रूपैयाँसम्मका सामान पाइन्छन्।
अंग्रेजी शब्द वेभ (बुन्ने काम) बाट आफ्नो ब्रान्डको नाम राखेको बताउँदै उनले थपे, 'विदेशीले हातले बुनेका सामान धेरै मन पराउँछन्। हाम्रो मुख्य लक्ष्य निर्यात गर्नु हो।'
मेसिनबाट बन्ने सामान उस्तै देखिन्छन्। हातले बनाइने एउटाभन्दा अर्को फरक लाग्छ। यही विशेषताका कारण ग्राहकले हातले बुनिएका झोला रूचाउने रहेछन्। शतप्रतिशत नेपाली सामान उत्पादन गर्ने परिचय बनाएका अनुपलाई यो कामले आर्थिक फाइदासँगै समाजमा माया गर्ने मान्छे पनि थपिदिएको छ।
खुसी हुँदै सुनाउँछन्, 'धेरैले राम्रो काम गरेका छौ भनेको सुन्दा अझै मेहनत गर्ने ऊर्जा मिल्छ। अझ आफ्नो ब्रान्डले पोखरा र नेपाललाई चिनाउन पाउँदा गर्व लाग्छ।'
कच्चा सामग्री समयमा उपलब्ध नहुनु उनको कामको सबभन्दा ठूलो समस्या हो। यस्तो बेला काममा निर्भर आफूसँगै धेरै कामदारलाई असर पर्ने चिन्ता लाग्छ। यसतर्फ सरकार र सरोकारवाला पक्षले ध्यान दिए नेपाली उत्पादनसँग जोडिएका काम गर्ने उद्यमी र कामदारको भविष्य राम्रो देख्छन् उनी।
वर्तमानमै पनि उनी भन्छन्, 'अवसर सिर्जना गर्ने जिम्मेवारी हाम्रै हो। यसबाट भाग्नु हुन्न।'
पोखरा लेकसाइडमा नेपाली मात्र नभई भारतबाट आएर समेत मनग्य आम्दानी गरिरहेका व्यवसायीको उदाहरण दिँदै भन्छन्, 'म विदेश जान खोज्नेलाई नेपालमै केही गरम् भन्ने सुझाव दिन्छु।'
वोभनलाई उनी ब्रान्ड मात्रै होइन, नयाँ सोच र प्रयोग पनि मान्छन्। आफ्नो प्रयोगमा सफल भइरहे पनि पोखरामा हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा भारत वा चीनका सामान प्रयोग गरेको देख्दा उनको मन बिझाउने रहेछ।
भन्छन्, 'यसपटक भने अन्तर्राष्ट्रिय अतिथि आएका साहित्य महोत्सव आयोजकले वोभनलाई सम्झिनुभयो। यो अवसरले मजस्ता नेपाली उद्यमीको सम्मान भएको महशुस गरेको छु।'
तस्बिर साैजन्य: वोभन