बाहिरी मोहोडामै परम्परागत घर र साना गल्ली देखिन्छन्। गल्लीमा एउटा फल्चा (पाटी) छ, जहाँ जेष्ठ नागरिकहरू भलाकुसारी गरिरहेका भेटिन्छन्। पर डाँडामा स्तुप देखिन्छ।
यो काठमाडौं उपत्यकाको परम्परागत संरचना झल्काउने कुनै ठाउँ होइन, ललितपुर कुमारीपाटीको रेस्टुरेन्ट हो।
'वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट' का यी दृश्यका आडैमा बसेर फोटो खिच्नुहोस्, तपाईंलाई त्यहीँ पुगेजस्तो लाग्नेछ।
अचेलका होटल, रेस्टुरेन्टमा कलात्मक चित्र बनाएर ग्राहक आकर्षित गर्नु सामान्य भइसक्यो। 'वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट' का भित्तेचित्रको विशेषता भने फरक छ। झट्ट हेर्दा थाहा नपाऔंला, तर ती कलासँग घुलमिल हुनुहोस्, फोटो खिच्नुहोस्, विशेषता पत्ता लागिहाल्छ।
यी 'थ्रिडी' कला हुन्, जुन रेस्टुरेन्टको नामैले झल्काउँछ।
'हामीले यहाँका भित्तामा जे काम गरेका छौं, फोटो खिच्दा त्यो ठाउँ पुगेर खिचेजस्तो भ्रम देखाउनु हाम्रो उद्देश्य हो,' रेस्टुरेन्टका संस्थापक सुन्दर विष्टले भने।
तीनतले रेस्टुरेन्टका सबै कोठामा विशेष 'थिम' का थ्रिडी चित्र भेटिन्छन्।
सुन्दर हामीलाई रेस्टुरेन्ट घुमाउन अघि सरे।
घर, साना गल्ली र फल्चा कटेर अलि भित्र पस्दा बरन्डामा थ्रिडी पुल कुँदिएको छ। छेउमा खोला, पहाड अनि झर्ना।
भित्र पस्नेबत्तिकै हामी बारमा पुग्छौं। त्यहाँ ऐनाजस्तो छ, जहाँ भित्तामा बनाइएको बन्दीपुर प्रतिबिम्बित हुन्छ। पहिलो तलामा चार कोठा छन्– भान्सा, किड्स (केटाकेटीका निम्ति), पिस (शान्त) र बार लबी।
शान्त कोठामा गान्धी, बुद्ध लगायत ध्यान मुद्रामा देखिन्छन्। शान्त वातावरण मन पराउने ग्राहकलाई लक्ष्य गरेर त्यो कोठा तयार गरिएको हो। यहाँ प्रत्येक कोठाअनुसारको संगीत छ।
'शान्त कोठा भनेर यहाँ हल्लै गर्न नपाइने भन्ने चाहिँ होइन है,' यति भनेर उनी केटाकेटीको कोठातिर हिँडे। हामीले पछ्यायौं।
केटाकेटीको कोठामा भित्ताभरी कार्टुनका पात्र र खेलौना चित्र कुँदिएका छन्। यहाँ कुनै टेबल राखिएको छैन। पछि पनि नराखिने सुन्दर बताउँछन्। बरू खेल्ने सामग्री भने थप्ने योजना छ।
'बार लबी' धूम्रपान र मद्यपानका लागि उपयुक्त होला। त्यहाँ एउटा नेसभिल्लाको बोतल पनि छ। त्यहाँ बसेर तस्बिर लिँदा बोतलभित्रै मान्छे भएजस्तो देखिन्छ।
भान्सा कोठा खुला छ। ग्राहकले आफ्नो 'अर्डर' का खानेकुरा कसरी पाकिरहेको छ, प्रत्यक्ष देख्न पाउँछन्।
'त्यसो हुँदा खाना बनाउँदाको सरसफाइ लगायत आँखैले नियाल्न पाउँछन्। आफूले कस्तो खानेकुरा खाँदैछु भन्ने जान्न पाउनु प्रत्येक ग्राहकको अधिकार हो,' सुन्दरले भने।
हामी दोस्रो तला उक्लियौं।
सिँढीछेउका भित्तामा प्राचीनता झल्कने इँटा छन्। बीचमा थ्रिडी चित्र भइहाल्यो। हिँड्दै गर्दा बिरालोको चित्र देखिन्छ। हजुरआमाको पनि।
'थ्रिडीको काम गरिरहेको बेला जापानका एक प्रोफेसरले यो ठाउँबारे थाहा पाउनुभएछ। उता बिरालो शुभको संकेत माानिने भएकाले कतै राख्दा हुने भन्नुभयो। अनि उहाँको सम्मान गर्दै बनाएको,' सिँढी उक्लिँदै उनले भने, 'हजुरआमाको काखमा बसेर खिच्दा उहाँसँगै रहेको महशुस हुन्छ।'
दोस्रो तलामा 'आक्वा रुम' डिजाइन गरिएको छ। सँगै 'टाइटानिक रुम'। माथि छत र भुँइमा पानी कै डिजाइन छ। भित्तामा माछा, जलपरी लगायत चित्र। त्यहाँ पुग्दा पानीको बुलबुल आवाज सुन्नुहुन्छ।
अर्को कोठा 'स्पेस रुम' हो, 'साइन्स फिक्सन' मन पराउनेले यो कोठा छान्दा हुन्छ। संगीत पनि त्यस्तै हुँदा अकै संसार पुगेको जस्तो महशुस हुन्छ।
'पछि यहाँको सिलिङमा छुट्टाछुट्टै भागमा बत्ती बाल्न मिल्ने बनाइनेछ,' सुन्दरले भने।
अर्को कोठा 'स्केरी रुम' अर्थात् डरलाग्दो कोठा। कोठा छिर्नुअगाडि त्यहाँ रूखको ढोकाबाट छिर्नुपर्छ।
'छिर्दाखेरि नै अलिकति असहजता होस् भनेर त्यस्तो बनाएको,' उनले भने, 'हामीकहाँ भूत, आत्माको विश्वास छ। त्यही भएर यस्तो थिम पनि राखेको। यहाँ बनाइएको भूतका चित्र आफैंमाथि आइरहेको हुन् कि भन्ने भ्रम हुन्छ।'
अर्को कोठा हो- सांगीतिक। नारायणगोपालदेखि लता मंगेश्कर र अन्जु पन्तसम्मका चित्रले भिरिएको। एउटा गितार छ, आउने ग्राहकले बजाउन सक्छन्।
'पछि एलसिडी टिभी राख्छौं र मनपरेका गीतका शब्द त्यसमा हेर्न सकिन्छ। यो कोठामा गाउँदै बस्ने हो,' सुन्दरले भने।
कोठाहरूका बीच भागको भित्तामा जिराफको थ्रिडी छ।
त्यहाँबाट माथिल्लो तलामा ठूलो हल छ। हलमा काठमाडौं सभ्यता झल्काउने मान्छे र सम्पदाका चित्र। करिब ६० जना क्षमताको हलमा पशुपति, स्वयम्भूसँगै सत्यमोहन जोशी, पुष्कर शाह लगायत कुँदिएका छन्। त्यो तलाको बरन्डालाई 'ट्रपिकल बीच' बनाइएको छ। माथिको छत भने स्टोरका रुपमा प्रयोगमा छ।
दुई महिनाअघि यो रेस्टुरेन्ट पूर्व उद्घाटन भएको रहेछ, कात्तिक २२ गते सडक मानवलाई उद्धार गरेर खोलिएको आश्रमका २५ जना जतिलाई खाना खुवाएर। शुक्रबारबाट भने आधिकारिक रूपमा सर्वसाधारणका लागि रेस्टुरेन्ट खुलेको छ।
रेस्टुरेन्ट बन्नुको कथा भने तीन वर्षअगाडिको घटनासँग जोडिन्छ।
त्यति बेला सुन्दरको निर्माण कम्पनी रहेछ जसले घर, रेस्टुरेन्ट निर्माण गर्नुका साथै रंगाउने काम गर्थ्यो। त्यसको नाम 'वान डे पेन्टिङ आर्ट एण्ड डेकार' थियो। त्यहीबाट यो रेस्टुरेन्टको नाम जुर्यो– वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट।
'कम समयमा पेन्टिङको राम्रो सुविधा दिने हिसाबमा त्यो कम्पनीको नाम राखिएको थियो,' सुन्दरले भने, 'यो रेस्टुरेन्टको नाम चाहिँ एकदिन पुग्नै पर्ने ठाउँ भनेर राखेका हौं।'
पेन्टिङ कम्पनीले ६० भन्दा बढी रेस्टुरेन्टमा काम गरेको रहेछ। चितवन, पोखरा, धरानसँगै बैंकक, इन्डोनेसिया, कतारसम्म काम गरेको सुन्दरले बताए। आफ्नो कामकै सिलसिलामा उनले चित्रकार ओमप्रकाश विश्वकर्मालाई भेटेका रहेछन्। उनीसँग सीप थियो, सुन्दरसँग 'मार्केट'। उनीहरू सँगै काम गर्न थाले।
ओमप्रकाशले नै खोजेका कलाकार समूहले घर, रेस्टुरेन्ट रंगाउन थाले। काम गर्दैगर्दा पेन्टिङ कम्पनीलाई आफ्नो काम ग्राहकलाई देखाउन 'सोरूम' पनि चाहियो। त्यहीक्रममा केही सुविधा थपेर रेस्टुरेन्ट नै किन नखोल्ने भनेर 'आइडिया' फुरेछ।
'हिजो हामीसँग अफिस थियो तर सोरूम थिएन। त्यस्तो हुँदा हाम्रा काम ठाउँमै लगेर देखाउनुपर्यो, जुन प्रभावकारी भएन। त्यही बीच यो खोल्यौं,' सुन्दरले भने, 'नेपालको खाना संस्कृति र कलालाई एकै ठाउँ जोड्ने जमर्को गरेका छौं।'
जेठबाट सुरू भएको काम सकिन ४ महिना लाग्यो। काम गर्नेमा दक्ष चित्रकारदेखि ललितकलामा पढिरहेका विद्यार्थी पनि थिए।
रेस्टुरेन्टमा सुन्दर, चित्रकार ओमप्रकाशसँगै शेखर आचार्य र राजेश अर्याल संस्थापक सदस्य हुन्।
मान्छेको जीवन पछिल्लो समय एकदमै जटिल बन्दै गएको र कलाले मान्छेलाई खुसी हुन सघाउने सुन्दरको धारणा छ। जीवनशैलीमा कलाले धेरै प्रभाव पार्छ। भान्साको झ्यालबाट बाहिर प्रकृति देखिने चित्र राख्दा मात्रै पनि काम गर्ने तरिका र व्यवहार फरक हुने उनी बताउँछन्।
'यो रेस्टुरेन्टमा मान्छेहरू एउटा मुड लिएर आएका हुन्छन्। भित्र पसेपछि परिवर्तन हुन्छ,' सुन्दरले भने, 'यहाँ आएर खानैपर्छ भन्ने छैन। घुमेर जान पनि सकिन्छ। फोटै खिचेर मात्र गए पनि एक हिसाबको प्रचार नै हुन्छ।'
यहाँका जस्तै चित्र कसैले बनाउन चाहे यहीँ सम्पर्क गर्दा हुन्छ। नेपाली ब्रान्डहरूले यहाँका चित्रमा 'प्राेमाेसन' गर्न चाहेँ पनि गरिने उनी बताउँछन्।
रेस्टुरेन्टको कलाले 'भिजिट नेपाल २०२०' लाई पनि सघाउने उनीहरूको विश्वास छ।
'आन्तरिक पर्यटक यो ठाउँबारे थाहा पाएपछि पक्कै आउन खोज्नुहोला। विदेशीहरू नै रेस्टुरेन्ट आधिकारिक रुपमा नखुल्दै आइसक्नुभयो,' उनले भने, 'यहाँ के रहेछ भनेर हेर्नै मात्र आउने भएकाले पनि हामीले भिजिट नेपाललाई सघाएको महशुस गरेका छाै।'
यहाँ २० जना कर्मचारी छन्। बिहान ११ देखि ९ बजेसम्म खुल्ने रेस्टुरेन्टमा दिनको एक घन्टा कर्मचारी छुट्टी दिइन्छ रे। यो खाली समयमा कलेज पढ्ने विद्यार्थीहरूले यहाँ काम गर्न सक्छन्।
लन्च, स्न्याक्स, डिनरमा अरू रेस्टुरेन्टकै जस्ता परिकार भए पनि खाना सजाउने तरिका र स्वाद बेग्लै भएको सुन्दर बताउँछन्। मूल्य पनि चल्तीकै छ।
'कुमारीपाटीमा चलेका अरू रेस्टुरेन्टका मेनु हेरेर बनाएका हौं। अन्तभन्दा कम भाउ छ,' उनले भने।
रेस्टुरेन्टमा करिब २ सयदेखि ३ सय जना अटाउँछन्। धेरै जसो भात खुवाई, जन्मदिन लगायत अवसरमा मान्छे आइरहेका उनले बताए।
मान्छेलाई सधैं एउटै कला देख्दा झिँजो लाग्न सक्ने भएकाले ६ महिनापछि आंशिक रूपमा कतै न कतैको कला परिवर्तन गर्ने उनीहरूको सोच छ।
त्योसँगै अन्य ठाउँमा पनि यस्तै रेस्टुरेन्ट विस्तार गर्ने योजना उनीहरूले बनाएका छन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी