अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले जितेको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा गरेको गोलले नेपाल विजयी भएको हो।
खेलको दसौं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। उनले सविता राना मगरको पासमा डिबक्स भित्रबाट गोल गरेकी थिइन्।
त्यसपछि नेपालले अग्रता दोब्बर गर्न पाएको अवसर सदुपयोग गर्न सकेन। नेपालका लागि पहिलो हाफमा रेखा पौडेल र रश्मीकुमारी घिसिङले पाएका अवसर सदुपयोग गर्न सकेनन्।
पहिलो हाफको इन्जुरी समयमा नेपाल अभागी साबित भयो। सुरूमा रश्मीको प्रहार बारमा लागेर फर्कियो। त्यसपछि सिक्स यार्ड बक्समा अनमार्क रहेकी सविताले रिबाउन्डमा गरेको प्रहार पनि बारमै लागेर फर्कियो। त्यसपछि फेरि रेखाले हानेको प्रहारमा किर्गिस्तानकी गोलकिपर बाधक बनिन्।
खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी दोस्रो हाफमा मैदान छिरेकी थिइन्। फ्रान्समा व्यावसायिक फुटबल खेल्ने सावित्रा सोमबार बिहान मात्र नेपाल आइपुगेकी थिइन्। साम्बालाई प्रशिक्षक राजेन्द्र तामाङले डिफेन्डर विमला विकको स्थानमा मैदान छिराएका थिए।
दोस्रो हाफमा नेपालले अंग्रपक्तिमा समस्या देखिँदा गोल गर्न सकेन। दोस्रो हाफमा विमला चौधरीले हातले बललाई जाली चुमाएपछि रेफ्रीले पहेँलो कार्ड देखाएकी थिइन्। यस्तै सविता राना मगर डिबक्स भित्र पाएको अवसरमा चुकेकी थिइन्।
तुलनात्मक कमजोर मानिएको किर्गिस्तानले नेपालविरूद्ध खासै आक्रमण बुन्न सकेन। दोस्रो हाफमा किर्गिस्तानकी फरवार्डले डिबक्स बाहिर अवसर पाए पनि नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले विफल पारिन्।
दोस्रो हाफको इन्जुरी समयमा अनिता बस्नेतले क्रस गरे पनि नेपाली फरवार्ड भेट्टाउन सकेनन्। अनिताको क्रसलाई किर्गिस्तानकी गोलकिपरले पन्च गरेपछि नेपालकी प्रिति राईको प्रहार अकासियो।
नेपालले किर्गिस्तानविरूद्ध ६ वर्षपछि प्रतिस्पर्धा गरेको हो। यसअघि सन् २०१९ मा नाजेदा कपमा ८-२ गोलले जितेको थियो।
प्रतियोगितामा सोमबारको अर्को खेलमा म्यानमार विजयी भएको थियो। म्यानमारले लेबनानलाई ३-१ गोलले जितेको थियो।
फिफा विन्डोजमा भएका खेलहरूको दोस्रो म्याच डे फागुन ८ मा छ। सो दिन दिउँस म्यानमार र किर्गिस्तान तथा साँझ नेपाल र म्यानमार भिड्नेछन्।