'ह्वाइट गुम्बा' भनिने ड्रुक अमिताभ गुम्बामा आनी बनेर आउँदा जिग्मे याङचेन ल्हामु जम्मा १० वर्षकी थिइन्।
उनको परिवार रिन्पोचे (गुरू) भेट्न ह्वाइट गुम्बा आइरहन्थ्यो। त्यही भएर जिग्मेले यो गुम्बाबारे सानैदेखि सुन्दै आएकी थिइन्।
गुम्बाले आयोजना गरेको पहिलो र दोस्रो वार्षिक ड्रुक्पा परिषदमा उनी परिवारसँग सहभागी भएकी थिइन्। दोस्रो परिषदमा सहभागी भएको दुई सातापछि उनले आनी बनेर गुम्बामै बस्ने निधो गरिन्। यो सन् २०१० को कुरा हो।
'मलाई आनी भनेको आरामदायी चकटीमा बसेर ध्यान गर्ने त हो भन्ने लाग्थ्यो, तर होइन रहेछ,' अहिले २४ वर्ष पुगेकी जिग्मे याङचेनले भनिन्, 'यहाँ आएपछि धेरै कुरा सिक्ने मौका पाएँ।'
ह्वाइट गुम्बा ड्रुक्पा सम्प्रदायअन्तर्गत पर्छ। यो तिब्बती बौद्ध धर्मसँग जोडिएको छ। तिब्बती भाषामा ड्रुकको अर्थ 'ड्रागन' हो।
यो गुम्बामा जिग्मे याङचेन लगायतका आनीहरू ध्यान मात्र गर्दैनन्, विभिन्न सौद्धान्तिक र व्यावहारिक ज्ञान पनि सिक्छन्। कोही प्लम्बिङको काम सिक्छन् त कोही सोलारको। कोही नर्सिङ सिक्छन्; कोही गार्डेनिङ, पेन्टिङ, व्यवस्थापन लगायतका ज्ञान आर्जन गर्छन्।
तिनै सिकाइमध्ये एक हो, कुङ फू।
यहाँ सन् २००८ देखि कुङ फू सिकाउन थालिएको हो। सुरूका पाँच वर्ष सामान्य व्यायाम मात्र गराइन्थ्यो। त्यसपछि भियतनामबाट गुरू ल्याएर कुङ फूको औपचारिक अभ्यास गराउन थालियो।
त्यसरी कुङ फू सिक्ने आनीमध्ये जिग्मे याङचेन पनि थिइन्।
आनीहरूलाई पनि कुङ फू जस्तो लडाइँ-झगडासँग सम्बन्धित खेल किन सिकाइयो होला?
हाम्रो यो प्रश्नमा जिग्मे याङचेनले भनिन्, 'हामीले कुङ फू सिकेको झैझगडा गर्न, अरूलाई पिट्न वा हिंसात्मक गतिविधि गर्न होइन। खासमा कुङ फू भनेको लडाइँ-झगडा वा हिंसा हुँदै होइन। यो त आत्मरक्षा गर्ने र मानसिक र शारीरिक रूपले स्वस्थ रहन खेलिने खेल हो। हामीले सिकेको पनि त्यही कारणले हो।'
उनले यसलाई अझ अर्थ लगाउँदै अगाडि भनिन्, 'आनी भएर बस्दा हामीले धेरै पूजाआजा र ध्यान गर्नुपर्छ। कहिलेकाहीँ त पूरा दिन एकै ठाउँमा पलेँटी मारेर बस्नुपर्छ। मान्छे यसरी एकै ठाउँमा पूरा दिन बस्न तब मात्र सम्भव छ, जब ऊ शारीरिक रूपले स्वस्थ हुन्छ, मानसिक रूपले स्थिर हुन्छ। कुङ फूले हाम्रो शरीरलाई सही अवस्थामा राख्छ भने मन र मस्तिष्कलाई एकै ठाउँमा स्थिर राख्न मद्दत गर्छ।'
जिग्मे याङचेन ल्हामु। तस्बिर: सेतोपाटीउनका अनुसार जसरी अस्वस्थ तनमा एकै ठाउँ बाँधिएर बस्ने तागत हुँदैन, त्यसरी नै अस्वस्थ मन एकै ठाउँ अडिएर बस्दैन, छिनछिनमा यताउति दौडिरहन्छ। शरीर र मनलाई चञ्चलताबाट मुक्त गर्न कुङ फू एक प्रभावकारी साधन भएको उनी बताउँछिन्।
'अहिलेको एक्काइसौं शताब्दीमा केटाले मात्र कुङ फू खेल्नुपर्छ भन्ने छैन। अहिले स्कुलहरूमा पनि यस्ता शारीरिक अभ्यासका छुट्टै कक्षा हुन थालेका छन्, जसमा केटा र केटी बराबर सहभागी हुन्छन्। हामीले पनि यसलाई जीवनोपयोगी शिक्षाकै रूपमा लिएका छौं र त्यही रूपमा सिकिरहेका छौं,' आनी जिग्मे याङचेनले भनिन्।
ह्वाइट गुम्बाका आनीहरूको दैनिकी बिहान ३-४ बजेबाट सुरू हुन्छ। उनीहरू बिछ्यौनाबाट उठ्नासाथ ध्यान र प्रार्थना गर्छन्। नास्ता खाएपछि कसैको अंग्रेजी त कसैको तिब्बती व्याकरण कक्षा हुन्छ। त्यसपछि खाना खाएर कक्षामा पढाएको सम्झने, कन्ठ गर्ने र त्यसबारे छलफल गर्ने गर्छन्। साँझ फेरि ध्यान र प्रार्थना हुन्छ। त्यसपछि कुङ फू कक्षामा भाग लिन्छन्।
यसरी बिहान उठेदेखि ध्यान, प्रार्थना, पढाइ र कुङ फू सिकेर लखतरान उनीहरू साढे ९ बजेतिर सुत्न जान्छन्।
'सुरू सुरूमा निकै गाह्रो भयो। ज्यान थाकेको हुन्थ्यो, तर दुखाइले निद्रा पर्दैनथ्यो। हिँड्न पनि गाह्रो हुन्थ्यो। दुखाइ सहन नसकेर कयौं दिन रून्थ्यौं पनि,' जिग्मेले भनिन्, 'सानोमा हामीलाई आमाले यति धेरै माया गरेर हुर्काएका हुन्छन्, त्यतिसाह्रो कष्ट हाम्रो ज्यानले सहनै सक्दैन। हामीले कहिले पनि त्यति कष्ट झेलेकै हुँदैनौं। त्यही भएर यहाँको दैनिकीमा अभ्यस्त हुन निकै समय लाग्छ।'
अहिले भने त्यही कुङ फूले आफ्नो व्यस्त र सक्रिय दैनिकीलाई सन्तुलनमा ल्याउन मद्दत गरेको उनको अनुभव छ।
'आनी भएपछि नियममा बस्नुपर्छ। नियमित ध्यान गर्नुपर्छ, पढ्नुपर्छ, पढेको पाठ कन्ठ पार्नुपर्छ। हामी हरेक दिन योद्धाजस्तो खटिन्छौं। समयसँग हिँड्छौं। शारीरिक र मानसिक रूपले हरपल चनाखो भइरहनुपर्छ। यी सबै गतिविधि सन्तुलनमा ल्याउन कुङ फूले हामीलाई सहयोग गरेको छ,' उनले भनिन्।
ह्वाइट गुम्बामा नेपाल, भारत, तिब्बत, भुटान लगायत विभिन्न ठाउँबाट आएका करिब तीन सय आनी छन्। तीमध्ये करिब ७० जनाले कुङ फू सिकिरहेको जिग्मे बताउँछिन्।
उनका अनुसार गुम्बा आएपछि सबैले कुङ फू को सामान्य ज्ञान लिनैपर्छ। जिम्मेवारी बढ्दै गएपछि बिस्तारै कुङ फू छाड्न सकिन्छ। उमेर र क्षमताअनुसार कोही आनीलाई गुम्बाको ख्याल राख्ने काम दिइन्छ, कसैलाई अरू जिम्मेवारीमा लगाइन्छ। कामले नभ्याएपछि कुङ फू छाड्नेहरू पनि हुन्छन्।
'हामी आनीहरूले कुङ फू खेलेको देख्दा सबै छक्क पर्छन्। नेपाली मात्र होइन, विदेशीहरू पनि अचम्म मान्छन्। धेरैलाई आनी वा भिक्षु बनेपछि केही गर्न पर्दैन, पूजापाठ र ध्यान मात्र गरे पुग्छ जस्तो लाग्छ। तर हाम्रो जिन्दगी त्यस्तो हुँदैन। हामीले पनि आफ्नो कर्म गर्नुपर्छ। गुम्बाको नियममा बस्नुपर्छ। त्यसरी नियममा बाँधिएर बस्नु गाह्रो भए पनि अर्थपूर्ण छ,' जिग्मेले भनिन्।
उनले अगाडि भनिन्, 'कुङ फू मात्र होइन, हामी साइकल यात्रादेखि सरसफाइ र उद्धारका काम गरिरहेका हुन्छौं। हाम्रो काम देखेर मान्छेहरू यसको सन्देश के हो भनेर सोध्छन्। खासमा हाम्रो उद्देश्य समाजमा सानो सानो परिवर्तन ल्याउन मद्दत गर्ने हो। हाम्रो कामबाट साना भाइबहिनी प्रेरित होऊन् भन्ने हो। यसले हामीलाई खुसी दिन्छ।'
यहाँका आनीहरूले केही समयअघि भारतको लद्धाखमा रहेका स्कुलमा आत्मरक्षाको तालिम दिएका थिए। त्यस्तो तालिम उनीहरू नेपालमा पनि दिन चाहन्छन्। त्यसका लागि यहाँका स्कुलहरूसँग सम्बन्ध विस्तार गर्न नपाएको उनी बताउँछिन्।
'हामी आफ्नो ज्ञानबाट समाजलाई सहयोग गर्न चाहन्छौं। आफूले पाएको ज्ञान फैलाउन चाहन्छौं,' आनी जिग्मे याङचेनले भनिन्।
***