चीनले उच्च हिमाली क्षेत्रमा झन्डै ७० हजार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको घोषणा गरेपछि त्यसले हिमाली जलवायुमा पार्ने असरबारे विश्वभर बहस सुरू भएको छ।
सगरमाथासहित विश्वकै उच्च हिमाल रहेको तिब्बती क्षेत्रमा बन्न लागेको आयोजनाले भारत र बंगलादेश सबभन्दा धेरै चिन्तित छन्। किनभने, चीनले तिब्बतमा यो आयोजना बनाउन लागेको यार्लुङ स्याङ्पो नदी भारतमा ब्रह्मपुत्र र बंगलादेशमा जमुनाका नामले चिनिन्छ।
तिब्बतबाट तीन हजार किलोमिटर दुरी पार गर्दै यो नदी बंगालको खाडीमा मिसिन्छ। यो नदी किनारामा ११ करोड ४० लाख मानिस बसोबार गर्छन्। आफ्नो सीमा नजिक बन्न लागेको आयोजनामा भविष्यमा भूकम्प लगायतका कुनै घटना भए ठूलो क्षति पुग्ने त्रास भारतलाई छ।
नेपालमा पनि यो चिनियाँ महत्वाकांक्षी योजनाले पार्ने असरबारे लेखाजोखा सुरू भएको छ। यो आयोजनालाई लिएर नेपालमा अहिले मुख्य रूपमा तीन वटा प्रश्न खडा भएका छन्।
पहिलो, यो आयोजनाले नेपाल भएर बग्ने कुनै नदीलाई असर पार्छ कि पार्दैन? यसको पानीको बहाव तल माथि हुन्छ कि हुँदैन?
दोस्रो, यसले नेपालको हिमाली जलवायुमा जोखिम उत्पन्न गराउन सक्छ कि सक्दैन?
तेस्रो, नेपालले चीनसँग पनि विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको तयारी गरिरहेको छ। यस्तोमा तिब्बतीयन क्षेत्रमा बन्ने आयोजनाले नेपालको विद्युत व्यापारमा असर पर्छ कि पर्दैन?
यसबारे हामीले विज्ञहरूसँग कुराकानी गरेर यो भिडिओ ब्रिफिङ तयार पारेका छौं।