सेतोपाटी कन्भरसेसन
तपाईंहरूलाई थाहा छ, मल्लकालमा काठमाडौं उपत्यकाका दरबार क्षेत्रहरू कसरी निर्माण गरिएका थिए?
मल्लकालीन 'आर्किटेक्चर' हेर्ने हो भने त्यति बेला दरबार क्षेत्र फराकिलो 'कम्प्लेक्स' का रूपमा निर्माण गर्ने चलन थियो। भित्री सहरका सबैजसो साना-ठूला बाटोको मोहडा दरबार क्षेत्रमै खुल्थे। मुख्य जात्राहरू दरबार क्षेत्रमै हुन्थे। प्रशासनिकदेखि सांस्कृतिक काममा डबली प्रयोग गरिन्थ्यो। राज्यभरिका मान्छे जमघट हुने ठाउँ त्यही थियो।
पाटन र भक्तपुरले दरबार क्षेत्रको सौन्दर्य धेरै हदसम्म जोगाएर राखेका छन्। काठमाडौंको अवस्था भने फरक छ।
तपाईंहरूले याद गर्नुभएको होला, काठमाडौंको हनुमानढोका दरबार पछाडिको भाग जति खुला र फराकिलो छ, अगाडिको भाग त्यति नै साँघुरो छ।
पछाडि वसन्तपुरको खुला डबली छ। त्यही डबलीबाट न्यूरोड र झोछेँ जाने बाटो खुल्छ। जबकि, दरबार क्षेत्रको मुख्य भाग भनेको अगाडि हो। काठमाडौं कोर-सिटीलाई दरबारसँग जोड्ने हिस्सा यही हो। यहीँबाट एउटा बाटो इन्द्रचोक हुँदै असनतिर जान्छ। अर्को बाटोले दरबार क्षेत्रलाई कोर-सिटीको लिच्छविकालीन मार्गसँग जोड्छ। टेकुदेखि छत्रपाटीसम्म तन्किएको यही मार्ग काठमाडौंको प्राचीन सभ्यता झल्काउने 'लाइफलाइन' हो।
केही समयअघि सरकारले हनुमानढोका दरबारको अगाडिको भाग खुला र फराकिलो बनाउने योजना तयार पारेको थियो।
यसका लागि तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मल्लकालमा दरबार क्षेत्रको स्वरूप कस्तो थियो भनेर सम्बन्धित विज्ञहरूसँग छलफल गरेको थियो। त्यही छलफलका आधारमा प्राधिकरणले कोर-सिटी सुधारको मास्टरप्लान तयार पार्यो।
हामीले त्यही मास्टरप्लानबारे प्राधिकरणमा प्रमुख कार्यकारी रहेका सुशील ज्ञवालीसँग भिडिओ कुराकानी गरेका छौं।
उनका अनुसार हनुमानढोका प्रहरी कार्यालयको जीर्ण भवन भत्काएर खुला स्थल बनाउने योजना 'कोर-सिटी' मास्टरप्लानको एक प्रमुख हिस्सा हो।
२०७२ को भुइँचालोले उक्त भवनमा क्षति पुर्याएपछि प्रहरीहरू टेकुको नेसनल ट्रेडिङ परिसरमा सरिसकेका छन्। अब यो प्रहरी अड्डा हनुमानढोका फर्केर आउँदैन। त्यसको सट्टा वसन्तपुर डबलीजस्तै खुला स्थल निर्माण गर्ने भनेर मास्टरप्लानले भनेको छ। तर गृह मन्त्रालय र काठमाडौं महानगरपालिका दुवैले यो जीर्ण भवन भत्काउने कुनै तयारी गरेका छैनन्।
हनुमानढोका दरबार अगाडिको केही भाग सेनाले पनि ओगटेको छ।
प्रहरी कार्यालयसँगै सेनाको ऐतिहासिक कोतघर छ। 'जंगी निशान' भनिने सेनाको प्रतीक चिह्न त्यहीँ छ। सेनाका यी ऐतिहासिक स्थल जस्ताको तस्तै राखेर नयाँ बनेका घर र टहरा तथा अग्ला पर्खालहरू भत्काउने योजना थियो। यसबारे तत्कालीन प्रधानसेनापतिसहित स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरी सेनाको इतिहास जोडिएको क्षेत्र संरक्षण गर्दै पुरानै स्वरूपमा फर्काउने सहमति भएको ज्ञवाली बताउँछन्। तर यसको कार्यान्वयन पनि सुरू भएको छैन।
यो त भयो हनुमानढोका परिसरको कुरा। यसबाहेक 'कोर–सिटी' मास्टरप्लानमा अरू के-के छन्?
प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी ज्ञवालीले हामीसँगको कुराकानीमा यसबारे विस्तृत बयान गरेका छन्। यो मास्टरप्लान केपी ओलीको अघिल्लो सरकारका पालामा बनेको थियो। ओली अहिले पनि सरकार-प्रमुख छन्। त्यसैले मास्टरप्लान कार्यान्वयन गर्ने जिम्मेवारी र जबाफदेहिता सबभन्दा बढी उनीमाथि नै छ।
हेर्नुहोस्, काठमाडौंको 'कोर-सिटी' मास्टरप्लानबारे सुशील ज्ञवालीसँगको सेतोपाटी कन्भरसेसन —