द कन्भरसेसन- २६
काठमाडौं उपत्यकाको नदी/खोला किनारका बसोबासीमाथि अहिले 'अतिक्रमणकारी' को आरोप लागेको छ। उनीहरूले खोलाको बहाव क्षेत्र मिचेकैले बस्ती डुबानमा परेको हो भन्ने 'न्यारेटिभ' चर्को छ।
के यो 'न्यारेटिभ' सही हो?
सरकारी मापदण्ड पालना गर्दै नदी/खोला किनारमा घर-जग्गा जोडेकाहरूलाई वा पुर्खौं पुर्खादेखि बसोबास गरिरहेकाहरूलाई 'खोला मिच्यो' भन्नु कतिसम्म न्यायसंगत हुन्छ? नदीको बहाव र सहरको विस्तारबीच तालमेल मिलाउन के गर्न सकिन्छ?
सेतोपाटी कन्भरसेसनको आजको अंकमा हामीले यसैबारे कुराकानी गरेका छौं, जलाधारविद् मधुकर उपाध्यासँग। पानीसँग जोडिएका विभिन्न आयाममा उनको अध्ययन र अनुभव गहिरो छ।
यो कुराकानी काठमाडौं उपत्यकामा मात्र सीमित छैन।
तीन दिनको लगातार वर्षाले यसपालि कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो संख्यामा पहिरो गयो। नौबीसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा आएको लेदो पहिरोले चारवटा गाडी डुबायो, ३५ जनाको ज्यान गयो। यस्तै लेदो पहिरो केहीअघि मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा पर्ने सिन्दुरे खोलामा पनि आएको थियो। जंगलले पूरै डाकेको ठाउँमा समेत आउन थालेको यस्तो लेदो पहिरोले जथाभाबी सडक खन्ने प्रवृत्तिमाथि प्रश्न खडा गरेको छ। जलाधारविद् उपाध्याले यसको मिहिन विश्लेषण गरेका छन्।
यसपालि नै रोशी खोलाले धार परिवर्तन गर्दा सुरक्षित मानिएको बस्ती र पक्की घरसमेत बगे। ललितपुरको टीकाभैरव वरपर जंगलले ढाकेको पाखो भत्केर ढुंगामाटो खोलामा थुप्रिँदा नख्खुसम्म क्षति हुन पुग्यो। आकलन गर्न नसकिएको यस्तो क्षति के अत्यधिक वर्षाले मात्र गराएको हो?
पहाडमा पानी पर्न थालेपछि माथिदेखि नै भल बग्न सुरू हुन्छ। तल-तल आउँदा क्रमश: ठूलो हुँदै जान्छ। माटो मिसिँदै गएपछि त्यसको शक्ति पनि बढ्दै जान्छ। यस्तो भल व्यवस्थापन कसरी गर्ने?
बाढी-पहिरोले उब्जाएका यस्ता विभिन्न प्रश्नमा सेतोपाटीका सुदीप श्रेष्ठले जलाधारविद् मधुकर उपाध्यासँग कुराकानी गरेका छन्।
हेर्नुहोस् उनीहरूको कुराकानीमा सेतोपाटी कन्भरसेसनमा —