द कन्भरसेसन-२५
केदार शर्मा र प्रशान्त खनाल खानेकुराका सोखिन छन्। उनीहरू दुवै विभिन्न परिकारबारे अध्ययन-अनुसन्धान गर्छन्। पकाउँछन् पनि।
शर्माको खास परिचय लेखक र पत्रकार हो। काठमाडौंमा बसेर उनले लामो समय हिमालखबर पत्रिकामा लेखन तथा सम्पादन गरे। पछिल्लो समय आफ्नो जन्मथलो इलाममा बसेर लेखन र पत्रकारितालाई निरन्तरता दिइरहेका छन्। यसबाहेक त्यहाँ अर्गानिक खेती गर्छन्। रेस्टुरेन्ट पनि चलाइरहेका छन्।
केही समयअघि उनी पत्नीसहित विभिन्न ठाउँ घुम्न निस्किए र रैथाने परिकारहरू चाख्दै हिँडे। तिनको विषयमा अध्ययन–अनुसन्धान गरेर हिमालखबर पत्रिकामा लेखहरू लेखे।
प्रशान्त खनाल पत्रकार होइनन्। तर रैथाने परिकार खोज्दै हिँड्ने र त्यसबारे अध्ययन–अनुसन्धान गरी लेख्ने उनको रूचि केदार शर्मासँग मिल्छ। वातावरण र दिगो यातायातका विषयमा काम गर्ने भए पनि धेरैले प्रशान्तलाई चिन्ने परिचय खानाले नै बनाइदिएको छ।
एक दशकअघि (सन् २०१३) मा ‘द गुन्द्रुक डटकम’ नामक ‘फुड ब्लग’ सुरू गरेका प्रशान्तले डेढ वर्षअघि खानाहरूको रेसिपी भएको किताब ‘टिम्मुर’ प्रकाशनमा ल्याएका थिए। उनी पत्रपत्रिकामा पनि खानाका रेसिपी र खोजमूलक लेख लेख्छन्। उनले सन् २०१८ मा ‘रैथाने’ नामक खाजाघर पनि खोले। यहाँ विभिन्न समुदायका रैथाने परिकार खान पाइन्छ।
सेतोपाटी ‘द कन्भरसेसन’ को यो अंकमा यी दुई रैथाने खाना अध्येताहरूले खानेकुराकै सेरोफेरोमा कुराकानी गरेका छन्। खानेकुराप्रति उनीहरूको गहिरो रूचि अध्ययन-अनुसन्धान र लेख-रचनाको विषय कसरी बन्यो भन्नेबारे यो भिडिओ कुराकारीबाट जान्न सकिन्छ।
हेर्नुहोस् लेखक तथा रैथाने परिकार अध्येताद्वय केदार शर्मा र प्रशान्त खनालको भिडिओ कन्भरसेसनः