द कन्भरसेसन- २३
सेतोपाटी कन्भरसेसनमा आज हामी तीनवटा यस्ता परियोजनाबारे कुरा गर्दैछौं, जसको प्रतीक्षा काठमाडौं सहरले वर्षौंदेखि गरिरहेको छ।
यी यस्ता परियोजना हुन्, जसले काठमाडौंको मुहारै फेर्न सक्छ।
खुला स्थलको अभावमा गुम्सिरहेको काठमाडौंलाई यी परियोजनाले सहरको मध्यभागमै खुला हावामा सास फेर्ने ठाउँ दिनेछ।
पहिलो, बृहत् टुँडिखेल परियोजना। दशरथ रंगशालादेखि रानीपोखरीसम्मको क्षेत्र समेटेर निर्माण गर्ने भनिएको खुला हरित पार्क।
दोस्रो, काठमाडौंको कोर-सिटी सुधार परियोजना।
र तेस्रो हो, धरहरा-सुन्धारा परियोजना जुन अहिले कार्यान्वयनको अन्तिम चरणमा छ। पुनर्निर्माणको काम सकेर भर्खरै सर्वसाधारणका लागि खुला गरिएको धरहरा त्यसैको एउटा अंग हो।
काठमाडौंका लागि बहुप्रतीक्षित यी तीन परियोजनाको मास्टरप्लान तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको थियो। त्यति बेला प्राधिकरणका प्रमुख कार्यकारी थिए, सुशील ज्ञवाली। उनले आफ्नो नेतृत्वमा बनेका मास्टरप्लानबारे सेतोपाटीका सुदीप श्रेष्ठसँगको कुराकानीमा विस्तारपूर्वक चर्चा गरेका छन्।
यी तीनैवटा मास्टरप्लान केपी ओलीको अघिल्लो सरकारका पालामा बनेका थिए। ओलीले प्रधानमन्त्रीका रूपमा यी मास्टरप्लान ग्रहण गर्नुका साथै धरहरा उद्घाटन क्रममा यसबारे सार्वजनिक जानकारीसमेत दिएका थिए।
ओली अहिले पनि सरकार-प्रमुख छन्। यी मास्टरप्लान कार्यान्वयन गर्ने जिम्मेवारी र जबाफदेहिता सबभन्दा बढी उनीमाथि नै छ।
हेर्नुहोस्, काठमाडौंको मुहार फेर्ने तीन परियोजनाबारे सुशील ज्ञवाली र सुदीप श्रेष्ठको सेतोपाटी कन्भरसेसन —