द कन्भरसेसन-२२
भूषण तुलाधर र राजन रायमाझीलाई एउटा कुराले जोडेको छ — उनीहरू दुवै सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग बढाउने अभियानमा छन्।
वातावरण संरक्षण अभियन्ताका रूपमा परिचित तुलाधर साझा यातायातको सञ्चालक समिति सदस्य हुन्। उनी साझाअन्तर्गत काठमाडौंको सार्वजनिक यातायातमा बिजुली बस प्रवर्द्धन गर्दै छन्। साझाले केही बिजुली बस सञ्चालनमा ल्याइसकेको छ।
दीगो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझी पनि सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग बढाउन कम्मर कसेरै लागेका छन्।
उनको कम्पनीले अहिलेसम्म ११, १४, १६ र १९ सिटे बिजुली गाडी बजारमा ल्याएको छ, जुन विभिन्न ठाउँमा सार्वजनिक यातायातका रूपमा प्रयोग भइरहेका छन्। कार्गो र पिकअप भ्यानमा पनि बिजुली गाडी बिक्री गर्छन्। केही समयअघि साझा यातायातले प्रयोग गर्ने बिजुली बस पनि उनकै कम्पनीले आपूर्ति गरेको थियो।
यति मात्र होइन, दीगोले नेपालका विभिन्न ठाउँमा बिजुली गाडीको चार्जिङ स्टेसन निर्माण गरेको छ, जहाँ चार्जिङका अतिरिक्त रेस्टुरेन्ट, वासरूम लगायत थुप्रै सुविधा छन्।
सेतोपाटी कन्भरसेसनको यो अंकमा तुलाधर र रायमाझीले सार्वजनिक यातायात साधनहरू विद्युतीय बनाउन किन जरूरी छ भन्नेबारे कुरा गरेका छन्।
हामीकहाँ विद्युत उत्पादन बढिरहेको छ। खपत बढाउनुपर्नेछ। घरायसी सामग्री र निजी विद्युतीय कारले मात्र त्यो खपत गर्न सक्ने अवस्था छैन। यसका लागि सार्वजनिक बसदेखि ठूला कार्गो ट्रकहरू समेत विद्युतीय हुनुपर्छ।
त्यस्तै, हामीकहाँ अहिले चलिरहेका विद्युतीय सार्वजनिक यातायातको अनुभव के छ? विद्युतीय सार्वजनिक यातायातमा हाम्रो पूर्वाधारको अवस्था के-कस्तो छ? के-कस्ता चुनौती छन्? नीतिले के भन्छ? नीतिगत रूपमा कस्तो सुधारको खाँचो छ?
यिनै विषयमा केन्द्रित रहेर भूषण तुलाधर र राजन रायमाझीले गरेको कन्भरसेसन हेर्नुहोस् भिडिओमा —