द कन्भरसेसन- २१
नवीन सुब्बा र मीन भाम अन्तर्राष्ट्रिय स्तरका फिल्म बनाउने नेपाली निर्देशक हुन्।
यी दुवै जना कुनै खास क्षेत्र र समुदायमा केन्द्रित रहेर उनीहरूको जीवनसँग सम्बन्धित विषय टिप्छन्। दुवैका फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूमा राम्रो प्रशंसा कमाएका छन्। थुप्रै अवार्ड जितेका छन्।
‘खाङ्ग्री’ बाट सिनेक्षेत्रमा प्रवेश गरेका सुब्बा लिम्बू संस्कृतिमा आधारित ‘नुमाफुङ’ बनाएर चर्चाको शिखरमा पुगे। नुमाफुङ व्यावसायिक रूपमा असफल भए पनि समीक्षकहरूले खुब रूचाए।
उनले बनाएको टेलिशृंखला 'दलन' ले पनि समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पायो। त्यसपछिको 'गुडबाई काठमाडौं' भने महोत्सवहरूमा मात्र सीमित रह्यो। 'गुडबाई काठमाडौं' बनाएको झन्डै पाँच वर्षपछि नवीनको निर्देशनमा 'गाउँ आएको बाटो' प्रदर्शन भयो। यो फिल्मले समीक्षकहरूको प्रशंसा त पायो नै, व्यावसायिक रूपले पनि सफल भयो।
मीन भामले अहिलेसम्म दुइटा फिल्म बनाएका छन् — कालो पोथी र शाम्बाला। पहिलो फिल्मबाटै उनले अन्तर्राष्ट्रिय सिनेवृत्तमा पहिचान बनाएका थिए। अहिले प्रदर्शनमा रहेको 'शाम्बाला' ले उनको कद अझ उच्च बनाइदिएको छ। यी दुवै फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूमा अवार्ड जितेका छन्। 'शाम्बाला' लाई यस वर्ष नेपालबाट अस्करमा समेत पठाइएको छ।
नेपालमा आम रूपले बन्नेभन्दा फरक सिनेमा बनाउने भनेर कहलिएका यी दुई निर्देशकले सेतोपाटी 'द कन्भरसेसन' शृंखलाको आजको अंकमा आ-आफ्ना अनुभव बाँडेका छन्।
उनीहरूले नेपाली सिनेमाका समस्यादेखि सिनेमाप्रति राज्यको नीतिबारे कुराकानी गरेका छन्। विश्व सिनेमाको आँखाबाट हेर्दा नेपालको हैसियत के छ र भारतको दाँजोमा नेपाल कति अगाडि छ, कति पछाडि छ भनेर विश्लेषण पनि गरेका छन्।
त्यस्तै, ‘गाउँ आएको बाटो’ पछि नवीन कुन सिनेमा बनाउँदै छन् र ‘शाम्बाला’ पछि मीन अब के गर्छन् भन्नेबारे पनि उनीहरूले खुलाएका छन्।
हेर्नुहोस् नवीन सुब्बा र मीन भामको कुराकानी ‘द कन्भरसेसन’ भिडिओमा —