द कन्भरसेसन: १९
मोहन मैनाली र रमेश भुसालबीच धेरै थोक समान छन्।
दुवै पत्रकार हुन्। दुवैले धेरैजसो वातावरण र जलवायुका विषयमा लेख्छन्। दुवैको लेखन यात्रासँग जोडिएको छ। उनीहरू नेपालका कुना-कन्दरा घुम्छन् र गाउँठाउँका कथा टपक्क टिपेर ल्याउँछन्।
यति मात्र होइन, नेपाल वातावरण पत्रकार समूहको महासचिवसमेत रहेका यी दुवै जना वृत्तचित्र पनि बनाउँछन्।
मेलहरूको यो सिलसिलामा अब एउटा नयाँ कडीले उनीहरूलाई जोडेको छ। त्यो हो, किताब लेखन।
मैनालीले अहिलेसम्म पाँचवटा किताब लेखिसके — उपल्लो थलो (सन् २०१३), मान्ठ डराएको जुग (सन् २०१५), देखेको देश (सन् २०१८), आकाशमुखी (अनुवाद- सन् २०२१) र मुकाम रणमैदान (सन् २०२३)। यीमध्ये पछिल्लो किताब 'मुकाम रणमैदान' ले यस वर्षको मदन पुरस्कार पाएको छ।
यो कृति नेपाल र अंग्रेजबीच सुगौली सन्धि हुनुअघिको लडाइँसँग सम्बन्धित छ। नेपाली र अंग्रेज सिपाहीहरूले लडाइँको मैदानबाट लेखेका चिठीपत्रका आधारमा मैनालीले युद्धको कथा भनेका छन्।
रमेश भुसालले पनि शनिबार विमोचन हुन लागेको पहिलो कृति 'छालबाटो' बाट लेखकको नयाँ परिचय बनाउँदै छन्। गैरआख्यान विधाको यो किताबमा भुसाल आफैले काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गंगासम्म गरेको यात्रा अनुभूति समावेश छ। करिब दुई हजार किलोमिटर लामो यो यात्रा उनले हिँडेर-गुडेर-बगेर गरेका हुन्, जसलाई पार गर्न ४५ दिन लागेको थियो।
वातावरण पत्रकारको छवि बनाएका भुसालले आफ्नो किताब 'छालबाटो' मा पनि नदीलाई वातावरणीय दृष्टिबाट नियाल्ने प्रयास गरेका छन्।
सेतोपाटी 'कन्भरसेसन' को यो अंकमा दुई जना लेखक/पत्रकारले आ-आफ्नो किताबको चर्चा गरेका छन्। उनीहरूले किताब लेख्दाको अनुभव बाँड्नुका साथै एकअर्काको किताबमाथि टिप्पणी साझा गरेका छन्।
सँगसँगै, पत्रकारिताका आयाम केलाउनुका साथै अनुभव सुनाएका छन्। एक पत्रकारले समाचार संकलन क्रममा किताबको निम्ति खुराकहरू कसरी जम्मा गर्नसक्छ वा गर्नुपर्छ भन्नेबारे मैनाली र भुसालको अनुभव धेरैका लागि सिकाइ हुनसक्छ।
हेर्नुहोस् उनीहरूको कुराकानी सेतोपाटीको 'द कन्भरसेसन' भिडिओमा —