आइसी-८१४ जहाज अपहरण
यो स्टोरीमा हामी यस्तो घटनाको चर्चा गर्दैछौं, जसले नेपाल र भारतलाई नराम्ररी हल्लाइदियो।
त्यो घटनाले दिएको चोट आज पनि ताजै छ।
घटना २५ वर्षअघिको हो।
सन् १९९९ डिसेम्बर २४ — अर्थात्, २०५६ साल पुस ९ गते।
त्यस दिन साँझ ४ बजे काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको आइसी-८१४ जहाज निर्धारित समयमा गन्तव्य पुगेन। भारतीय आकाशमा प्रवेश गर्नेबित्तिकै, लगभग लखनऊको आकाशमा पुगेपछि पाँच जना नकाबपोस आतंकवादीहरूले जहाज अपहरण गरे।
जहाजलाई भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) का तीनवटा ठाउँमा अवतरण गराइयो। र, आखिरमा अफगानिस्तानको कान्दाहार पुगेपछि भारत सरकार र आतंकवादीबीच एक साता कठिन नेगोसिएसन चल्यो।
भारतले अपहरित जहाजमा रहेका यात्रुलाई बन्धनमुक्त गर्न आफ्नो सम्पूर्ण जोडबल लगाएको थियो। भारतीय खुफिया एजेन्सी 'रअ', इन्टेलिजेन्स ब्युरो (आइबी), विदेश मन्त्रालय लगायत निकायले सक्रिय भूमिका खेलेका थिए। तत्कालीन भारतीय विदेशमन्त्री जशवन्त सिंहले आतंकवादीहरूलाई मनाउन अमेरिका र युएईसँग कूटनीतिक कुराकानी गरेका थिए।
जहाजमा चालक दलसहित १८८ जना यात्रु थिए। एक जना यात्रुको त आतंकवादीहरूले हत्या नै गरे।
जहाजमा रहेका यात्रुहरू अपहरण अवधिभर कस्तो आतंक र त्राससँग गुज्रिए?
आतंकवादीहरूका माग के थिए?
जहाज कुन-कुन परिस्थिति हुँदै कान्दाहार पुग्यो?
यात्रुहरूलाई आतंकवादीको बन्धनबाट मुक्त गर्न भारत सरकारले के-के गर्यो?
सेतोपाटी कन्भरसेसनमा आज हामी यिनै प्रश्नबारे चर्चा गर्दैछौं।
यसका लागि हामी कुरा गर्दैछौं सञ्जय धितालसँग, जो आइसी-८१४ जहाजमा रहेका आठ जना नेपाली यात्रुमध्ये एक हुन्।
हामी सञ्जयको आँखाबाट २५ वर्षअघिको त्रासदी सम्झँदै छौं। उनले जहाजभित्र भएका घटना, आतंकवादीहरूसँगको जम्काभेट र आफ्नो भोगाइ हामीलाई सुनाउने छन्।
त्यो सँगसँगै फ्लाइटबाहिर के-के भयो, त्यो म भन्नेछु।
यसका लागि मैले भर्खरै नेटफ्लिक्समा रिलिज भएको आइसी-८१४ जहाज अपहरणसम्बन्धी ६ एपिसोडको सिरिज हेरेको छु। त्यो सिरिज फ्लाइट क्याप्टेन देवी शरण र सृन्जोय चौधरीको किताब 'फ्लाइट इन्टू फेयर: द क्याप्टेन्स स्टोरी' मा आधारित छ। मैले त्यो किताब पनि पढेको छु।
र, नेटफ्लिक्स सिरिजका लागि अनुसन्धाताको काम गरेका भारतीय पत्रकार दिपु सेब्यास्टियनसँग मैले लामो कुराकानी गरेको छु।
पाँच जना आतंकवादीको कब्जामा ७ दिनसम्म रहेका सञ्जय धितालसँगको कुराकानी हेर्नुहोस् 'द कन्भरसेसन' भिडिओमा —