ललितपुरस्थित झम्सिखेलमा साझँपख धनुषवाण खेल्न आउनेको लर्को हुन्छ। मानिसहरू 'द बेस्ट आर्चरी'मा धनुषवाण खेलको मनोरञ्जन लिन र तालिम लिन आउँछन्।
यो नेपालको पहिलो इनडोर आर्चरी खेल्ने ठाउँ पनि हो।
नेपालमा नयाँ मनोरञ्जनात्मक उद्यम गर्ने सोचका साथ सन् २०१४ नोभेम्बरमा नवीनदिल बस्नेतले कम्पनी खोलेका थिए।
'स्पोर्टस् पनि हुने र रमाइलो पनि हुने कारण मैले नेपालमा आर्चरी भित्र्याएँ,' बस्नेतले भने, 'हामीहरू यहाँ पहिलो पटक आर्चरी खेल्न आउनेलाई खेलको नयाँ र रमणीय अनुभव दिने प्रयास गर्छौं।
पहिलो पटक आउनेलाई सुरूमा प्रशिक्षकले आर्चरी खेल्ने नियम बुझाउँछन्। साथै सुरक्षाका लागि चेस्ट गार्ड, आर्म गार्ड र फिंगर ट्याब दिइन्छ। न्यूनतम ४५० रुपैयाँ शुल्क तिरेपछि आधा घन्टा खेल्न पाइन्छ। जसमा ६ वटा वाण र धनुष दिइन्छ।
त्यसैगरी प्रतिघन्टा आर्चरी खेलेको ७०० रुपैयाँ तोकिएको छ। मासिक तालिम लिन चाहनेका लागि छुट्टै प्याकेजको व्यवस्था गरिएको छ।
सिक्न सुरू गरेकाहरूका लागि काठका धनुष उपलब्ध गराइन्छ।
'हाइट, पावर हेरेर हामीले ग्राहकलाई आर्चरी दिन्छौं,' बस्नेतले भने, 'एक-दुई पटक हामी खेल्न सिकाउछौं र उहाँहरूले आफैं खेल्दै गएपछि टिप्स दिँदै टार्गेटमा हान्न सिकाउँछौं।'
६ वटा वाण टार्गेटमा हानेपछि त्यसलाई निकालेर फेरि हान्ने गरिन्छ। टार्गेट बोर्डमा पहेलो, रातो र निलो गरेर तीन रङले अंकित गरिएको हुन्छ। यी रङको १ देखि १० सम्मको पोइन्ट हुन्छ। खेलाडीले हानेको वाण जहाँ जहाँ लाग्छ त्यसको आधारमा पोइन्ट गणना गरिन्छ।
यसरी साथी-साथीबीच वा अरूसँग प्रतिस्पर्धा गरेर आर्चरी खेल्ने गरिन्छ।
बेस्ट आर्चरीमा १० वर्ष उमेरमाथिका व्यक्तिमात्र आउन पाउँछन्। सानो उमेरका बच्चाहरूले खेल्न नजानेर चोटपटक लाग्न सक्ने कारण उमेर सीमा राखिएको सञ्चालकले बताए।
आधा घन्टा आर्चरी खेल्दा रमाइलो मात्र नभएर ध्यान पनि हुने उनी बताउँछन्। नियमित आर्चरी खेले एकाग्रता हासिल हुने र शरीर सन्तुलन हुने बस्नेतले दाबी गरे।
यहाँका खेलाडीहरूले राष्ट्रिय र साफ गेममा पनि खेल्ने गरेको उनले बताए।
बस्नेतका अनुसार बेस्ट आर्चरी पेशवर खेलाडी बन्नको लागि एउटा थलो हो।
'मान्छे त्यो व्यावसायिक लेभलमा पुग्न जिन्दगीमा एकफेरा धनुवाण समात्नैपर्छ र बेस्ट आर्चरी पहिलो पटक वाण समातेर खेल्न सिक्नेहरूलाई बनेको ठाँउ हो,' बस्नेतले भने, 'आज पहिलो पटक आर्चरी गरेका व्यक्ति भोलिको टप आर्चरी खेलाडी पनि हुन सक्छन्।'