श्रीलंका र पाकिस्तानमा अहिले एसिया कप क्रिकेट प्रतियोगिता भइरहेको छ।
आइसिसीको वरीयता क्रममा विश्व नम्बर १ मा रहेको पाकिस्तान र २ नम्बरमा रहेको भारतसँगको खेलमा पराजय भोगेपछि नेपाली टोली स्वेदश फर्किसकेको छ।
नेपाली टोली यसपटक जितभन्दा पनि विश्वसामू ‘एक्सपोजर’ पाउने आशामा एसिया कपमा सहभागी भएको थियो। जसमा नेपाली टोली धेरै हदसम्म सफल पनि भयो।
पाकिस्तानसँगको खेलमा नेपालले गरेको ४० ओभर बलिङले तारिफ बटुल्यो भने भारतसँगको खेलमा नेपाली ब्याट्सम्यानले क्रिकेटिङ वर्ल्डको ध्यान आफूतिर तान्न सफल भए।
एसिया कपमा यसपटक नेपालका तर्फबाट सबैभन्दा राम्रो प्रदर्शन भने सोमपाल कामीले गरे। प्रतिघन्टा १ सय ५० किलोमिटरको गतिमा सम्म बलिङ गर्ने पाकिस्तानी बलरसँग सोमपालले टिकेर जसरी ब्याटिङ गरे त्यसले उनको परिचयसमेत बलिङ अलराउन्डरमा बदलिदिएको छ।
नेपालका ओपनर बलर सोमपालले पाकिस्तानविरूद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै पाकिस्तानका सबैजसो बलरलाई फेस गरे।
जबकी नेपालका अन्य ब्याट्सम्यानहरू क्रिजमा टिक्न सकिरहेका थिएनन्। पाकिस्तानविरूद्ध नेपाली टोली झिनो १०४ रनमा समेटिए पनि सोमपाल नै सबैभन्दा उच्च स्कोर बनाउने खेलाडी बने। उनले पाकिस्तानविरूद्ध २८ रन बनाउँदा सबै बलरको सामना गरे।
पाकिस्तानमा खेलसँगै नेपाली टोलीले अन्य अनुभव पनि पायो।
‘पाकिस्तान गएर भिभिआइपीवाला फिल भयो। जहाज ल्यान्ड भएलगत्तै सिधै गाडीमा राखेर हामीलाई रूममा पुर्यायो। त्यहाँ पुग्दा सामानहरू पुगिसकेको थियो,’ पहिलो पटक पाकिस्तान पुगेका सोमपालले भने, ‘यस्तो सर्भिस पाइएला भनेर कहिल्यै पनि सोचेका थिएनौं।’
पाकिस्तान जानुअघि त्यहाँको अवस्थाबारे धेरै कुरा सुनेको भए पनि आफूलाई पाकिस्तानीसँग कुरा गर्न रमाइलो लागेको सोमपाल बताउँछन्। नेपाली टोलीले खेलअघि नै पाकिस्तानी खेलाडीसँग कुराकानीसमेत गरेका थिए।
‘मोहम्मद रिजवानसँग फोटो सुटका बेला भेट भयो। उनले नेपाल आएका बेला हामीलाई उत्प्रेरणा दिने कुरा गरेका थिए’, सोमपालले भने, ‘त्यहाँ पनि हामीलाई उनले राम्रो खेल्न उत्प्रेरित गरे।’
रिजवान नेपाल आउनुअघि नेपालले आइसिसी वर्ल्डकप क्वालिफायरका १२ वटा खेल खेल्न बाँकी थियो। त्यसमा नेपालले ११ वटा खेल जित्यो।
‘मैले रिजवानलाई भनें- तपाईं आएर हामीलाई धेरै मोटिभेट गर्नुभयो। उहाँले आफूलाई कुनै पनि टिमले पाकिस्तान सुपर लिगमा नकिनेको र पछि एउटा टिमको कप्तान भएर जिताएको सुनाउनुभएको थियो,’ सोपामलले भने, ‘फोटोसुटका बेला भेट हुँदा उहाँले केही चाहिए सम्पर्क गर्नु भन्नुभयो।’
पाकिस्तान विरूद्धको खेलमा पनि पाकिस्तानी खेलाडीहरूले उत्प्रेरित गरेको सोमपालले बताए।
‘फर्स्ट टाइम यति राम्रो बलरहरूलाई फेस गरिराखेका छौ। समय लिएर खेल। इन्जोय गर भनेर रिजवान भाइले भन्नुभयो,’ सोमपालले भने, ‘जबकी पाकिस्तानको टिमको एउटा खेलाडी मलाई आउट गर्न खोजिरहेको थियो। अर्को खेलाडीले मलाई मोटिभेट पनि गरिरहेको थियो।’
पाकिस्तानी पेस बलर साहिन अफ्रिदीको बलमा खेल्नु आफ्ना लागि निकै राम्रो अनुभव भएको सोमपालले बताए।
‘मलाई साहिन अफ्रिदीको बल फेस गर्न निकै गाह्रो भएको थियो। किनभने उहाँको बल आधासम्म मात्र देखिन्थ्यो। आधा देखिँदैन थियो। डिप हुन्थ्यो अनि रिभर्स हुन्थ्यो। नयाँ बल रिभर्स हुँदा फेस गर्न निकै गाह्रो हुन्थ्यो’, उनले भने, ‘दुई-तीन वटा बल त मेरो प्याडमा लागेको थियो।’
जीवनमा पहिलो पटक १ सय ४० किलोमिटर प्रतिघन्टा रफ्तारमा आएको बल खेल्नु आफ्ना लागि नौलो अनुभव भएको सोमपालले बताए।
‘मैले रन बनाउन जबरजस्ती गरेको थिएँ, म छिटो आउट हुनसक्थें। मलाई मोन्टी सरले टाइम बिताउन भन्नुभएको थियो। मेरो दिमागमा पनि जति सकिन्छ सर्भाइभ गरौं भन्ने थियो। विकेटमा बसेपछि रन बनिहाल्थ्यो। तर मलाई हरेक बलमा यिनीहरूलाई खेल्न सक्छु जस्तो लागिरहेको थियो,’ सोमपालले भने, ‘त्यो दिन कुशल, आशिफ र रोहितहरूले टाइम बिताएको भए उनीहरूले पनि रन बनाउन सक्थे। मलाई बलरको रूपमा हाम्रा खेलाडीको क्षमताबारे थाहा थियो। तर ब्याडलक भयो। हाम्रो टप थ्री ब्याटसम्यान चल्नुभएन।’
खेलपछि पाकिस्तानी खेलाडी बाबर आजमसँग पनि कुरा भएको सोमपालले बताए।
‘बाबरले डेढ सय किलोमिटर प्रतिघन्टाको बलिङलाई खेल्नुपर्ने भएकाले सधैँ १ सय ५० किलोमिटर प्रतिघन्टाको रफ्तारको बलिङमा नै प्राक्टिस गर्ने गरेको बताए। उनले साइड आर्म प्राक्टिस गर्ने गरेको सुनाए,’ उनले भने।
पाकिस्तानी टिमले नेपालसँगको खेलअघि राम्रोसँग अध्ययन गरेको आफूले पाएको सोमपालले बताए।
‘पाकिस्तानको टिमलाई हाम्रोबारे सबै थाहा थियो। किनभने उनीहरूको ए टिमसँग हामीले खेलेका थियौं। त्यसैले उनीहरू होमवर्क गरेर आएका थिए। हामीले फिल्डिङ राम्रो गर्छौं भन्ने उनीहरूलाई आइडिया थियो। कसको लेगस्टम्प राम्रो थियो कि अफस्टम्प राम्रो थियो भन्ने होमवर्क गरेका थिए। त्यही भएर सर्ट बल गरिराखेका थिए’, सोमपालले भने, ‘टप अर्डरले पाकिस्तानविरूद्ध १ सय ५० देखि सय २ सय रन बनाएको भए कुशल मल्ल, करन केसी र दिपेन्द्रसिंह ऐरीले गेम चेन्ज गर्न सक्ने थिए। तर त्यो हाम्रो दिन थिएन। त्यो दिन विकेटमा टिकेको भए ब्याटमा बल आउने थियो। बाबर आजमले पनि खेलपछि त्यो भनेका छन्। तर त्यो हाम्रो दिन थिएन।’
सोमपाल फेरि पाकिस्तानसँग खेल्ने मौका पाए कुनै म्याचमा हराएर देखाउन सक्ने दाबी गर्छन्।
‘यदि पाकिस्तानसँग हामीले १० खेल खेल्ने हो भने दुईदेखि तीन खेलमा हराउन सक्छौं,’ उनले भने, ‘तर साहिन अफ्रिदीको नयाँ बल फेस गर्न निकै गाह्रो रहेछ। किनभने बल रिभर्स हुन्छ। मैले चार वटा उनले फालेको बल नै देखेको थिइनँ। म योर्कर र बाउन्सका लागि रेडी थिएँ। त्यसैले पनि त्यो दिन केही टाइम सर्भाइभ गरें।’
पाकिस्तानविरूद्ध सोमपाललाई प्रशिक्षक मोन्टी देसाईले चौथो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए। किनभने उनले ‘पाकिस्तान ए’ विरूद्ध निकै राम्रो ब्याटिङ गरेका थिए। त्यसैले देसाईले सोमपाललाई अघि पठाउने निर्णय लिएका थिए।
‘त्यो दिन मलाई लामो इनिङ खेल्छु भन्ने थियो तर म २८ रनमा आउट भएँ। तर हामीले फेरि मौका पायौं भने तपाईंहरूले मेरो सेन्चुरी देख्न सक्नुहुन्छ,’ सोमपाल आत्मविश्वासी सुनिए।
नेपाली टोली पाकिस्तानविरूद्ध खेलेपछि पाकिस्तानी खेलाडीसँगै एउटै जहाजमा श्रीलंका उडेको थियो। तर थकाइका कारण जहाजमा पाकिस्तानी खेलाडीसँग खासै कुरा नभएको सोमपालले बताए।
‘पाकिस्तानसँग खेल्दा हामी खुसी पनि थियौं तर पर्फरमेन्स देखाउन नसकेकोमा दु:ख लागेको थियो। हामीलाई विश्व क्रिकेटले हेरिराखेको थियो। हाम्राबारे के सोचिराखेको होला भन्ने दिमागमा परेको थियो,’ सोमपालले भने, ‘साँच्चै भन्नुपर्दा पाकिस्तान सँगको म्याच हारेपछि हामी दु:खी थियौं। प्राक्टिसबाट पनि दुई दिन टाढा बस्न खोज्यौं। यो कुरा मोन्टी सरले पनि बुझ्नुभएको थियो। त्यसैले हामीले श्रीलंका पुगेपछि जिममा मात्र वर्कआउट गर्यौं। घुम्न गयौं अनि खेलको अघिल्लो दिन इन्डोरमा प्राक्टिस गर्यौं।’
नेपाली टोली भारत विरूद्धको खेलअघि भारत र पाकिस्तानको खेल हेर्न मैदानमा पुगेको थियो।
‘मैले त्यहाँ विराटलाई देख्दा फोनसमेत ननिकाली हेरेको हेर्यै भएँ। विराट कोहली ‘नेक्स्ट लेभल’ मान्छे रहेछ। मैदानमा खेल्न भन्दा हेर्दा डर लाग्ने रहेछ,’ सोमपालले अनुभव सुनाउँदै भने, ‘भारत र पाकिस्तानको खेलमा प्रेसर देखिराखेको थियो।’
भारतसँगको खेलअघिको नेपालको टिम मिटिङमा भने सर्ट बल खेल्ने कुरा भएको उनले बताए।
‘हामीलाई थाहा थियो सर्ट बल आउँछ र त्यसमा खेल्नुपर्छ भन्ने। र हामीले भारतविरूद्ध खेल्यौं पनि,’ उनले भने, ‘कमेन्ट्री गर्ने मान्छेले पनि एसोसिएट राष्ट्रबाट सर्ट बल राम्रो खेल्ने टोली भनेर हाम्रो तारिफ गरेको पछि भिडिओमा देखें।’
भारत विरूद्धको ब्याटिङ रोमाञ्चक भएको सोमपालले बताए।
‘दिपेन्द्रसिंह ऐरी र म पार्टनरसिप गरिरहेका थियौं। विराट कोहलीले ‘क्या खाते हो यार तुम लोग, इतना दौड रहे हो’ भन्दै थिए। हामी उनलाई फ्लो गरिरहेका थियौं। तर उनले कति फास्ट रहेछन् यिनीहरू भनिरहेको थिए। हामीले २-२ रन लिएका थियौं,’ सोपमालले भने, ‘विराट कोहलीसँग मैदानमा आँखा जुध्दा त कोसँग आँखा जुधाइरहको छु जस्तो लागेको थियो।’
भारतविरूद्ध नेपालले २३० रन बनाउँदा सोमपालले ४८ रन बनाएका थिए। तर अर्धशतक प्रहार गर्नबाट चुकेका थिए।
‘भारतसँग ब्याटिङ गर्दा मलाई मेरो रन थाहा थिएन। स्कोरबोर्ड हेरेको थिइनँ। नत्र ब्याट घुमाउने थिइनँ होला। सन्दीप जोराले ५० ओभर खेल्नुपर्छ भन्ने म्यासेज छ भनिराखेको थियो। म पनि नेपालको स्कोर २६० रन बनाउने सोचिराखेको थिएँ,’ सोमपालले भने, ‘म खेलका बेला स्कोरबोर्ड हेर्दिनँ। मैले पाकिस्तान एसँग ७५ रन हान्दा पनि मेरो रन कति छ भन्ने हा थिएन। मलाई २६० रन हान्दा हाम्रो टिमका लागि उपयुक्त हुन्छ भन्ने थियो। मलाइ ४८ रनमा छु भन्ने थाहा थिएन। म आउट हुँदा २२८ रन भएको थियो। तर मलाई म आउट नभएको भए अझै ३० रन जोड्न सक्छु होला भन्ने लागेको थियो।’
भारतसँगको खेलमा पानी पर्दा पनि समस्या भएको सोमपालले बताए।
‘पानी पर्नुअघि दिपु र म सेट थियौं। पानी पर्यो। रिस्टार्ट गर्दा मुभमेन्ट क्यारी गर्न गाह्रो भयो। दिपु आउट नभएको भए हामीले ३ सय रन हान्ने थियौं,’ उनले भने, ‘मलाई ४६ ओभर लागेपछि चार्ज गर्नुपर्छ भन्ने लागेको थियो। भारतीय बलर मोहम्मद सिराजले बाउन्सर फालेका थिए। सर्ट बल खेल्न सजिलो थिएन। तर म सर्ट बलका लागि रेडी थिएँ। ३ ओभर बाँकी रहँदा म आउट भएँ।’
बर्षाका कारण ओभर घटाइएको खेलमा नेपाल भारतसँग १० विटेकले पराजित हुन पुगेको थियो। तर खेलपछि नेपाली टोलीले भारतीय टोलीसँग कुराकानी गर्ने अवसर पाएको थियो।
‘विराट कोहीलीसँग भेट्नु मेरा लागि सबैभन्दा रमाइलो मोमेन्ट थियो। म विराटलाई भेट्न चाहन्छु भन्ने टिमका सबैलाई थाहा थियो। पछि मोन्टी सरले राहुल द्रविडसँग कुरा गरेपछि हामी भारतको ड्रेसिङ रूममा गयौं,’ उनले भने।
सोमपालले विराट कोहलीसँग जुत्तामा अटोग्राफ लिएका छन्।
‘म पहिला नै जुत्ता लिएर गएको थिइनँ। किनभने ‘हान्न आँट्यो’ भन्ने पर्न सक्छ। त्यसैले पहिला माहौल हेर्छु भनेर गएँ। विराट कोहली किट ब्याग प्याक गरिरहेका थिए। मैले पञ्जाबीमा ‘ससिअरकाल पाजी’ भनें। अनि अटोग्राफ भनें’, सोमपालले भने, ‘उनले जुत्तेमे? भनेर सोधे। मैले हाँ भनें।’
विराट कोहलीसँग अटोग्राफ लिदाँ आफ्नो हात काँपेको सोमपालले बताए।
‘मैले फ्यानहरूलाई अटोग्राफ दिँदा फ्यानको हात काँपेको हुन्थ्यो। किन काँप्ने रहेछ भन्ने अनुभव भयो,’ उनले भने, ‘विराट ‘काल्म’ रहेछन्। म इमोसनमा डुबें, मैले विराटको टिसर्ट माग्न बिर्सें।’
भारतीय ड्रेसिङ रूममा जानु नेपाली टोलीका लागि महत्वपूर्ण क्षण भएको उनले बताए।
‘हामी भारतको ड्रेसिङ रूममा छिर्न पायौं। त्यो मोन्टी सरका कारणमात्र सम्भव भयो। हार्दिक पाण्डेयले मलाई मेडल दिए। हाम्रो ह्यापी ड्रेसिङ रूमको कन्सेप्ट छ। जसमा त्यो दिन राम्रो पर्फरमेन्स गर्नेलाई पुरस्कार र मेडल दिने चलन छ। यस पटक पुरस्कार थिएन’, सोमपालले भने, ‘हामीले सानै भए पनि भारतीय ड्रेसिङ रूममा भिडिओ बनाउनु पनि हाम्रो लागि एकदमै ठूलो कुरा हो। कसैको ड्रेसिङ रूममा गएर ‘हाम्रो शो’ बनाउन कसले सक्छ। मोन्टी सरले मात्र सक्नुहुन्थ्यो।’
भारत र पाकिस्तानको खेलपछि एक्सपोजर मिलेको सोमपालको दाबी छ।
हामीले क्रिकेट खेलेको भारत र पाकिस्तानले पहिलो पटक देखे। ‘इरफान पठान, मोहम्मद कैफ, जहिर खानहरूले नेपालबारे कुरा गरिरहेका थिए। उनीहरूलाई यसअघि नेपाल टिम खेल्छ भन्ने पनि सायद थाहा थिएन,’ सोमपालले भने, ‘हामी खेल्न जाँदा विगतमा ‘एयरपोर्टमा कौनसी टिम है’ भनेर सोध्थे। ‘नेपाल क्रिकेट टिम’ भन्दा अण्डर नाइन्टिनके हो क्या’ भन्थे। हामी फुच्चे फुच्चे छौं नि त। तर नेपाल टिमले यसपटक भारतसँग खेल्यो। अब सबैलाई थाहा भयो।’
आफूले राम्रो क्रिकेट खेल्ने कुरा भारतमा रहेका आफ्ना बुवा र उनका साथीभाइले पनि यसपटक थाहा पाएको सोमपालले बताए।
‘म क्रिकेट खेल्छु भन्ने कसैलाई थाहा थिएन। तर सबैले पाकिस्तान र भारतसँग खेलेको देखे। पापाको फ्रेण्डहरूले पनि बधाई दिँदै भनेछन् - तिम्रो छोराले राम्रो खेल्यो। मभन्दा बढी मेरो बुवा खुसी हुनुभयो। किनभने क्रिकेट खेल्न थालेको वर्ष भयो। यसपटक सबैलाइ थाहा भयो कि नेपाल क्रिकेट खेल्छ र इण्डियाविरूद्ध खेल्छ भन्ने।’
भारत विरूद्धको खेलमा नेपालले एउटा पनि विकेट लिन सकेन।
‘हाम्रो कप्तान रोहित पौडेलले सधैँ विराट र बाबरको विकेट लिने भन्थ्यो। तर कोहली कहीँ न कहीँ बचे। करन केसीसँग। नत्र करन केसीले केही न केही गर्नेवाला थियो,’ सोमपालले भने, ‘अब केसीले अर्को पटक विराटको विकेट लिएपछि हामी सेलिब्रेसन गर्नेछौं।’
यसपटक धेरैको मत जितेको र अर्को पटक म्याच नै जित्ने दाबी सोमपालले गरे। यसपटको खेलपछि फेरि फ्यानहरू खुसी भएको र त्यसले आफूलाई जिम्मेवार महशुस भएको उनले बताए।
‘वर्ल्ड कप लिग डिभिजनमा हामी लगातार म्याच हारिरहेका थियौं। त्यसैले नेपाल प्रिमियर लिग (एनपिएल) मा फ्यानहरू क्रिकेट हेर्न आएनन्। मैले कप्तान रोहितसँग कुरा गरें। अब नेपाल क्रिकेट के हुन्छ। फ्यान आउन छाडे भनें। फ्यान नआउँदा एकदमै नराम्रो लाग्थ्यो,’ सोमपालले भने, ‘एनपिएलमा आएका विदेशी खेलाडीले पैसा पाएका थिएनन्। उनीहरूले मोटिभेसन छैन भन्थे। किनभने उनीहरूका लागि पैसा नै मोटिभेसन हुन्थ्यो। हाम्रा लागि फ्यानहरू नै मोटिभेसन हो। नेपाली खेलाडीले आफूलाई मोटिभेट गरिराख्न गाह्रो छ। फ्यान नै हाम्रा मोटिभेसन हुन्। हामी उनीहरूका लागि खेल्ने हो। पाकिस्तान र भारतसँग खेल्दा स्कुल बन्द गरेर क्रिकेट हेरेको देख्दा गर्व महशुस हुन्छ।’
यस पटक भारतविरूद्ध खेलमा विभिन्न कर्पोरेट कम्पनीहरूले चौका र छक्का प्रहार गर्ने तथा विकेट लिने खेलाडीलाई पुरस्कार घोषणा भए थिए। त्यसबारे अलिअलि थाहा पाए पनि मैदानमा त्यसले कुनै असर नपारेको सोमपालले बताए।
‘दिन्छ कि दिँदैन के थाहा’, सोमपालले भने, ‘फेरि मैदानमा २० हजार मान्छेले घेरिएर खेल्दा फोकस अर्कै हुन्छ।’
सोमपाल आफूलाई अझैसम्म कुनै पनि कम्पनीबाट स्पोन्सर नआएकोमा भने खुसी छैनन्।
‘करन केसी र मलाई कुनै पनि कम्पनीले स्पोन्सर गरेका छैनन्। सबैको साइन भयो। मेरो र करनको भएको छैन’, सोमपालले ठट्टा गर्दै भने, ‘प्लिज, कम्पनीहरू म फ्री छु।’