'प्रोफेसनल हेयर स्टाइलिङ कोर्स' गर्न मुन्ने सन् २०१७ मा भारत गए। कपालमा कलरिङ, स्टाइलिङ, कटिङबारे सिक्दै जाने क्रममा उनले त्यहाँ नौलो कुरा देखे- कपाल काटेपछि सेवाग्राहीले बिना कुनै हिच्किचाहट दुई हजार रुपैयाँ तिरे।
यो देखेपछि रूपन्देही देवदह-७ मा जन्मेका २९ वर्षीय मुन्ने ठाकुरको मनमा धेरै कुराहरू खेल्न थाल्यो।
‘मेरो बुवाले कपाल काटेर ५० रुपैयाँ लिन मुश्किल पर्ने समयमा यहाँ मान्छे दुई हजार रुपैयाँ सजिलै किन तिर्दै छन् भन्ने लाग्यो,’ उनले त्यसबेला आफूले अनुभव गरेको कुरा सेतोपाटीसँग साट्दै भने, ‘त्यसपछि यो किन र कसरी सम्भव हुन्छ भनेर खोज्न लागेँ।’
उनी भारतका विभिन्न सैलुनहरूमा गए। त्यहाँ कसरी सेवा सुविधा दिँदो रहेछ भनेर नियाल्न थाले।
‘यी सबै कुरा कस्तो ठाउँबाट सेवासुविधा दिइरहेको भन्ने कुराले ठूलो मान्यता राख्ने रहेछ। जुन कुरा भारतका सैलुनहरू घुमेपछि थाहा पाएँ,’ उनले भने, ‘सिस्टम मिलाएर सेवासुविधा दियो भने त मान्छेले यतिसम्म पनि पैसा तिर्दो रहेछ भन्ने थाहा पाएपछि झनै कपालकै क्षेत्रमा काम गर्न सकिन्छ भनेर आत्मबल आयो र लोभ्यायो पनि।’
मुन्ने कपालका विभिन्न पाटोबारे पढाइ गर्न र सिक्न यतिकै भारत गएका थिएनन्। त्यसको पछाडि कारण थियो।
सानै हुँदादेखि नै उनका बुवाले सानो सैलुन चलाएका थिए। उनले बुवाबाट कपाल कटाइबारे थोरबहुत कुरा सिकेका थिए। ६ वर्षको हुँदा नै कैंची चलाउन पोक्त थिए। १२ वर्षको उमेरमा बुवाको सैलुनमा कपाल काटिदिएर दुई चार रुपैयाँ कमाउने गरेको उनी बताउँछन्।
१२ पढेर सकियो। भविष्यमा के गर्ने भयो। आमाबुवाको इच्छा डाक्टर बनाउने थियो। तर त्यो सफल भएन। गलत साथीको संगतमा परे। अन्य युवाझैं मुन्ने पनि भविष्यबारे अन्योलको स्थितिमा पुगे।
युट्युबमा उनी कपालको भिडिओहरू हेरिरहन्थे। उनलाई कपालको क्षेत्रमा रुचि पनि थियो। बुवासँग पहिले नै सिकेको सीपलाई व्यवसायमा उतार्न सकिन्छ कि भनेर कपाल इन्डस्ट्रीमा काम गर्ने योजना बनाएको उनी बताउँछन्।
‘कपालबारे केही ज्ञान थिएन,’ उनले भने, ‘जुन काम गर्ने हो, त्यसबारे ज्ञान भयो भने राम्रो काम गर्न सकिन्छ भन्ने कुराको हेक्का थियो। त्यही भएर कपालको सैद्धान्तिक कुरा सिक्न भारत गएको थिएँ।’
मुन्नेका अनुसार लण्डनबाट सिकेर आएका प्रशिक्षकले धेरै कुरा सिकाएपछि कपाललाई हेर्ने नजरिया परिवर्तन भयो।
‘पढेपछि मैले कपाललाई जुन ढंगले पहिले हेर्थें, त्यो परिवर्तन भयो,’ उनले भने,‘पहिले मैले कपाल त हो, काट्ने! अरू के नै गरिन्छ र भन्ने खाले मेरो दृष्टिकोण थियो। तर त्यसो होइन रहेछ। म गलत रहेछु।’
भारतबाट कपालसम्बन्धी सीप सिकेर फर्किएपछि बुटवलको नयाँ बजारमा ३ सय स्वीक्वायर फिटको कोठा भाडामा लिए। अनि सन् २०१९ मा छ लाखको लगानीमा चार वटा कुर्सी राखी सुरू गरे- मुन्नेज् सैलुन।
‘बुटवलमा सैलुन चलाउँदा मैले आफूले गरेको कामहरू टिकटक र इन्स्टाग्राममा राख्ने गर्थें,’ उनले भने, ‘त्यही भिडिओ हेरेर मान्छे सैलुनमा आउनुभयो। विभिन्न ठाउँबाट आउने चाप बढेपछि पुरानो ठाउँ सानो भयो। अनि बुटवलकै सैलुनलाई ठूलो बनायौं र १४ वटा कुर्सी राख्यौं।’
यसो त कोरोना र लकडाउनको समयमा भिडिओ भाइरल हुँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको उनी बताउँछन्।
नेपालकै विभिन्न कुनाबाट आउने सेवाग्राहीको चाप बढ्दै गयो। अन्य ठाउँमा पनि सैलुन खोल्नुपर्यो भनेर मुन्नेले प्रतिक्रिया पाए। उनले कता खोल्दा उपयुक्त होला भनेर अध्ययन गरे। अध्ययन गर्दा काठमाडौंमा सञ्चालन गर्दा उपयुक्त हुने उनले बुझे। अनि एक वर्षअघि दरबारमार्गमा खोले मुन्नेस हेयरको अर्को ब्रान्च। एउटा सैलुनमा अहिले ८० लाख लगानी रहेको उनी बताउँछन्।
अहिले मुन्नेले २२ जनालाई रोजगारी दिइरहेका छन्। बुटवलमा १२ जना छन् भने काठमाडौंमा १० जना कर्मचारी छन्।
अहिले बुटवलको सैलुन दिदीभिनाजुले चलाइरहेका छन्। काठमाडौंमा मुन्ने आफैंले हेरिरहेका छन्।
सैलुनमा कपालसम्बन्धी सबै सुविधाहरू पाइने उनी बताउँछन्। जहाँ विभिन्न डिजाइनका कपाल कटिङ, केराटिन, स्मुद्निङ, कलरिङ लगायतको सुविधा पाइने उनको भनाइ छ।
‘सैलुन लाइनमा मेनिक्युअर-पेडिकेयर, फेसियल सबै काम हुने भएता पनि हामीले कपालसम्बन्धी मात्रै सेवा सुविधा दिन्छौं,’ उनले भने, ‘किनभने मलाई कपालसँगै खेल्न रमाइलो र मन लाग्छ त्यही भएर होला।’
सर्भिस क्षेत्रमा सेवाग्राहीलाई रिझाउन गाह्रो भएता पनि काम गर्न रमाइलो हुने उनको तर्क छ।
भविष्यमा मुन्नेस ट्रेनिङ इन्स्टिच्युड खोल्ने योजना हुनुका साथै सबै प्रदेशमा ब्रान्च सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन्।
‘पछि सातै प्रदेशमा सैलुनको ब्रान्च खोल्ने योजना छ,’ उनले भने, ‘बिस्तारै अस्ट्रेलियामा समेत खोल्ने योजना छ।’
हिजोको दिनमा कपाल काट्ने काम सानो हो भनेर नगरेको भए यहाँसम्म आइनपुग्ने उनी बताउँछन्।
‘ठाकुर थर भएका व्यक्ति हजाममा मात्र सीमित हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘जुनसुकै क्षेत्रमा जसले पनि काम गर्न सक्छ। अहिले त झनै मान्छेले कपालमा राम्रो आम्दानी हुन्छ भनेर बुझेका छन्। जुन काम गर्नुहुन्छ राम्ररी गर्नुस्। सफलता पाउनुहुनेछ।’
हेर्नुहोस् पूरा भिडिओः