यस वर्षको ट्रेकिङ सिजन सुरू भएको छ।
नेपालमा पदयात्राका लागि अंग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन्।
पहिलो मार्च, अप्रिल र मे।
दोस्रो सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर।
यी दुवै सिजनमा नेपाल आउने पर्यटक विशेष पदयात्रा र पर्वतारोहणमा रुचाउने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष प्रदीप पण्डित बताउँछन्।
ट्रेकिङका लागि सबभन्दा बढी रूचाइएका गन्तव्य सगरमाथा, अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङलगायत हुन्।
पदयात्रामार्फत् पुगिने यस्ता उच्च हिमाली क्षेत्रमा पछिल्लो समय खाना र बासको राम्रो प्रबन्ध गरिएको छ। अन्नपूर्ण पदयात्राका सम्पूर्ण होटलहरूमा विद्युतीकरण भएको छ। त्यस्तै, इन्टरनेटको समेत राम्रो व्यवस्था छ। तर खानाको मूल्य भने यस्ता ठाउँहरूमा केही बढी हुन्छन्। खाद्यान्नको ढुवानीका लागि कतै हेलिकप्टर प्रयोग हुन्छन् भने कतै खच्चड, याक र कतै मानिसले नै बोकेर लैजानुपर्छ।
४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्पमा एक सिलिन्डर ग्यासको मूल्य झन्डै ७ हजार रुपैयाँ पर्छ। अन्नपूर्णको माथिल्लो क्षेत्रमा रूख बिरूवा नभएकाले दाउरा पाइँदैन।
अन्नपूर्ण पदमार्गको २ हजार ३ सय मिटरमा रहेको सिन्वाबाट माथि खच्चड लैजान पाइँदैन। त्यसैले उक्त क्षेत्रमा मान्छेले बोकेरै खाद्यान्न लैजान्छन्। त्यसका बाबजुद अन्नपूर्ण बेस क्याम्पमा स्नाे ल्यान्ड होटल एन्ड रेस्टुरेन्ट सञ्चालन गरिरहेका निशान गुरूङ नेपालीका लागि केही सस्तो दरमा खाना र बासको व्यवस्था गरिएको बताउँछन्।
नेपालीले अन्नपूर्ण बेस क्याम्पमा २ हजार रुपैयाँमा खाना, बास र बिहानको खाजा पाउँछन्।
हेर्नुहोस् भिडिओ