गत माघ ७ गते उपसभामुखको निर्वाचनका दिन नेपाली कांग्रेसकी सांसद माया राई नयाँ बानेश्वरस्थित संघीय संसदको भवन अगाडि आफ्नी एक महिनाकी छोरी च्यापेर श्रीमान् महेश राईलाई कुरिरहेकी थिइन्।
व्यस्तताका कारण महेशले त्यो दिन मायालाई संसद भवनमा पुर्याउन भ्याएका थिएनन्। उनले मायालाई आफू काम सकेर समयमै आइपुग्ने बताएका थिए। बाटोमा जाम भएको भन्दै महेशले आइपुग्न ढिला हुने खबर गरे।
श्रीमान बेलैमा नआइपुग्ने भएपछि सांसद राईलाई फसाद पर्यो। किनकी सभा हलभित्र बच्चा लैजान पाइँदैन थियो। त्यहीबेला बैठक हल प्रवेशका लागि घन्टी बज्यो। सांसद राई छातीमा च्यापेकी छोरीलाई के गर्ने, कसलाई हेर्न लगाउने भनेर आत्तिइन्।
त्यो दिन आफूलाई निकै तनाव भएको सुनाउँदै सांसद राईले सेतोपाटीसँग भनिन्, 'घन्टी बजिसकेपछि म भित्र गइहाल्नुपर्ने भयो। उहाँ पनि आइपुग्नुभएको थिएन। धन्न संसदीय दलका एक जना कर्मचारीलाई एकछिन मेरो बच्चालाई हेर्दिनु न भनेर भित्र छिरें। त्यो बेला एकछिन त तनावै भयो नि।'
सांसद माया सभा हलमा त छिरिन् तर उनको मन भने बाहिर रहेकी छोरीमै थियो। अरू दिनजस्तो भए श्रीमानले नभ्याउँदा सांसद माया घरमै बस्न सक्थिन्। त्यो दिन उपसभामुखको निर्वाचन भएकाले पार्टीले ह्विप लगाएका कारण उनी संसद गएकी थिइन्। फेरि एक महिना मात्र पुगेका कारण बच्चालाई दूध खुवाउनै पर्थ्यो। बच्चालाई घरमा पनि छोड्न पनि सम्भव नभएकाले त्यो दिन आफूलाई निकै तनाव भएको सांसद राईले सुनाइन्।
'भोट हालिसकेपछि प्रक्रियाअनुसार ढोका त खुलिहाल्थ्यो तर मलाई ढोका अहिले नै खुले हुन्थ्यो नि जस्तो भएको थियो,' त्यो क्षण सम्झिँदै उनले भनिन्, 'एकछिन पछि त घन्टी बज्यो अनि म पनि कुदिहालें। अरू माननीयज्यूहरूले पनि लु लु जाऊ तिमी भन्नुभयो। अनि बाहिर गएर बच्चालाई भेटेपछि चाहिँ आनन्द भयो।'
दूध खुवाउन परेकै कारण अहिले पनि सांसद राई बच्चा बोकेरै संसद जान्छिन्। उनका श्रीमान महेश पनि सँगै जान्छन्। बैठक सुरू हुन लागेपछि सांसद राई भित्र छिर्छिन्, श्रीमान महेश छोरी बोकेर बाहिर बस्छन्। बच्चालाई दूध खुवाउने बेला हुँदा सांसद राई बाहिर निस्किन्छिन्।
संसदमा छुट्टै स्तनपान कक्ष नभएकाले उनी आफ्नो गाडीभित्रै बसेर छोरीलाई दूध खुवाउछिन्। उनले संसदभित्र केही कोठाहरू खालि भए पनि स्तनपान गराउनकै लागि भनेर छुट्टै कक्ष नभएकाले आफूले गाडीभित्रै बसेर बच्चालाई दूध खुवाउने गरेको सुनाइन्।
'श्रीमानले नै बच्चा हेरेर बसिरहनुभएको हुन्छ। बच्चालाई भोक लाग्यो वा रोयो भन्नुभएपछि म एकछिन फुत्त कुदेर निस्किहाल्छु अनि उसलाई दूध खुवाएर भित्र जान्छु,' उनले भनिन्।
आफूलाई श्रीमान र परिवारका कारण सजिलो भएको तर सबैको परिस्थिति त्यस्तो नहुने उल्लेख गर्दै नयाँ बन्ने संसद भवनमा भने छुट्टै स्तनपान र शिशु स्याहार कक्ष हुनुपर्ने संसद राई बताउँछिन्।
हेर्नुस् सांसद राईसँग कुराकानी गरेर तयार पारिएको यो भिडिओः