काठमाडौं तराई फास्ट ट्र्याकको सुरूङ निर्माण अघि बढेको छ। ७२.५ किलोमिटर लम्बाइ भएको फास्ट ट्र्याकमा तीन स्थानमा सुरूङ मार्ग निर्माण हुँदैछ।
‘चट्टानको जाँच गरेर हामीले तीन वटा सुरूङ मार्ग बनाउँदैछौं,’ नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘हरेक टनेलमा दुइटा ट्युब हुन्छ जसमा जाने र आउने गरेर एकतर्फी बाटो हुनेछ।’
महादेवटार, धेद्रे र लेनडाँडा गरी तीन वटा सुरूङ मार्ग निर्माण अघि बढेको हो।
यो फास्ट ट्र्याकले काठमाडौं, ललितपुर, मकवानपुर र बारा गरेर चार वटा जिल्लालाई जोड्ने छ।
द्रुत मार्गले कान्ति राजपथ र मदन भण्डारी राजमार्गलाई पार गर्छ। यी दुई सडक पार गरेर बने पनि यो सडक आयोजना प्रयोगमा आइसकेपछि यसको तीन वटा मात्र इन्ट्री पोइन्ट हुनेछ- खोकना, निजगढ र बुदुने।
मन्त्रिपरिषद्को निर्णय बमोजिम २०७४ वैशाख २१ गतेदेखि फास्ट ट्र्याकको जिम्मा पूर्णरूपमा नेपाली सेनाले पाएको हो।
२०७५ सालमा सेनाले आयोजना प्रतिवेदन(डिपिआर) तयार गरेको थियो। सेनाले जिम्मा पाएपछि आयोजना छिटो सकिने आकलन भए पनि निर्माण कार्यमा तीव्रता आउन सकेको छैन। ४५ वटा पुलको अझै ठेक्का समेत भएको छैन।
मंसिर मसान्तसम्म भौतिक निर्माणको कार्य लगभग २२ प्रतिशत मात्र सकिएको छ। तर सेनाले भने पूर्व तयारी राम्रो भएकाले आयोजनाको सुरूङ सँगै पुल र सडक निर्माणको कार्य एकसाथ अघि बढ्ने दाबी गरेको छ।
फास्ट ट्र्याकमा ८७ वटा पुल बनाउनुपर्नेछ।
‘हामीले १६ वटा टेक्निकल्ली क्रिटिकल पुल, मुख्य र मध्यम खाले ४९ वटा र माइनर पुल २२ वटा बनाउनुपर्छ,’ प्रवक्ता भण्डारीले भने, ‘४५ वटा पुलको निर्माण सुरू भए पनि बाँकी ठेक्का-सम्झौताको क्रममा छन्।’
४२ वटा पुलको निर्माण कार्य छिट्टै सकाएर वर्षा सुरू हुनुअघि तल्लो सतहका सबै काम सकाउने योजना रहेको उनले बताए।
सेनाले अझै कतिपय ठाउँमा रूख कटान समेत बाँकी रहेको जनाएको छ।
‘लगभग ३८ हजार रूख हटाउनुपर्नेमा हालसम्म २७ हजार रूख हटाइएको छ’, भण्डारीले भने, ‘काटेको एक रूखको सट्टा २५ वटा रूख रोपी पाँच वर्षसम्म हुर्काएर मात्र सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने योजना छ। हामीले दुई ठाउँमा नर्सरी स्थापना गरी हालसम्म ६ लाख १५ हजारभन्दा बढी बिरूवा रोपेका छौं। ६ लाख ९० हजार रूख रोप्ने योजना हो।’
फास्ट ट्र्याकको बाटोमा खोकनाको ऐतिहासिक मन्दिर परेकाले कोदेश क्षेत्रमा बागमतीमाथि २ वटा पुल थपेर योजनालाई थप संशोधन गरिएको उनले बताए। साथै १५० रोपनी बढी जमिन अधिग्रहण हुने प्रक्रियामा रहेको भण्डारीले उल्लेख गरे।
काठमाडौंलाई तराईसँग जोड्ने यस द्रुत मार्गको निर्माणसँगै हाल २६७ किलोमिटरको यात्रालाई छोटो वैकल्पिक रोड मिल्ने छ।
‘यस फास्ट ट्र्याक बनेसँगै १ घण्टामै निजगढ पुग्नुका साथै इन्धन खपतमा बचत हुनेछ,’ सेनाका प्रवक्ता भण्डारीले भने, ‘साथै उत्तर-दक्षिण करिडोरको क्षेत्रलाई ट्रान्जिटको रूपमा विकास गर्न, राजमार्ग जोड्न, तेस्रो राष्ट्रसँगको अन्तर्राष्ट्रिय व्यापार बढाउन यो आयोजनाले सहयोग पुग्नेछ।’
-चितवनबाट राजेश घिमिरेको सहयोगमा।