कोरोना भाइरसको दोस्रो लहर फैलिसकेको छ। राजधानी बाहिरका कतिपय अस्पतालले दोस्रो लहरको सुरूआती अवस्थामै पनि अक्सिजन अभाव खेपिरहेका छन्।
अस्पतालका बेडमा अक्सिजनविहीन बिरामी छटपटाइरहका छन्। कतिपयलाई ती अस्पतालले राजधानी रिफर गरिरहेका छन्।
सरकारले अक्सिजन अभावलाई चिर्न सिलिण्डर आयातमा भन्सार छुटको घोषणा गरेको छ। तर अक्सिजन प्लान्ट सञ्चालन गरिरहेका व्यवसायीहरू सिलिण्डर किन्न तयार छैनन्।
महामारीका बेलाका लागि किनिएका सिलिण्डर पछि उपयोग नहुने भएकाले अहिले लगानी थप्न व्यवसायी तयार छैनन्। सरकारले अस्पताललाई बेड अनुसार सिलिण्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ। तर सिलिण्डर अभावमा त्यो सहज छैन।
सगरमाथा अक्सिजन नेपाल प्रालिका नारायणदत्त तिमल्सिना नेपालका प्लान्ट अक्सिजन उत्पादन गर्न सक्षम रहेको बताउँछन्।
नेपाल अक्सिजनमा आत्मनिर्भर भए पनि सिलिण्डर व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको तर्क छ।
सामान्य अवस्थामा दैनिक ३ देखि ४ सयको हाराहारीमा सिलिण्डर बजारमा जाने गरेको भए पनि अहिले दैनिक ६ देखि ८ सय हाराहारीमा सिलिण्डर बजारमा जाने गरेको तिमल्सिना बताउँछन्।
'महामारीलाई धान्ने गरी हाम्रो तयारी छैन', तिमल्सिनाले सेतोपाटीसँग भने, 'सरकारले हामीलाई यति बिरामीका लागि तयारी गर्नु भने हामी त्यो अनुसार काम गर्न सक्छौं।'
अहिले नेपालमा उत्पादन हुने २५ प्रतिशत अक्सिजन औद्योगिक उद्योगमा प्रयोग हुने गरेको छ। त्यसलाई पनि कोरोनाका बेला बिरामीका लागि प्रयोग गर्न सकिने उनी बताउँछन्।
'सिसा उद्योग, फलामको काम र मूर्तिहरू बनाउन अक्सिजन प्रयोग भैरहेको छ, त्यसलाई अहिले बिरामीका लागि प्रयोग गर्न सकिन्छ', तिमल्सिनाको तर्क छ।
सेतोपाटीको रिपोर्ट