नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
सेनाले महाशिवरात्रि अघि दुई दिन आफू सँग भएका हातहतियार प्रदर्शनीमा राखेको थियो। काठमाडौंको भद्रकालीमा सेनाले अंग्रेज युद्धमा लुटेका हतियार र खम्पा विद्रोहीसँग लुटेका अमेरिकी हतियार समेत प्रदर्शनीमा राखेको थियो । त्यस्तै सेनाले आफूसँग भएको एन्टी एयरक्राफ्ट हतियारहरु समेत प्रदर्शनीमा राखेको थियो।
नेपाली सेनाले सार्वजनिक गरेको मध्ये सबैभन्दा शक्तशाली हतियार १०५/३७ एलएफजी हो। १३ सय ८० किलो तौल भएको यो हतियारले १७ किलोमिटरसम्म मार हान्न सक्छ। यसबाट प्रहार गरिएको बमले ४० मिटरको रेडियस बनाएर ध्वस्त पार्ने क्षमता राख्छ। यो हतियार चलाउन सात जनासम्म आवश्यक हुन्छ।
त्यस्तै सेनाले प्रदर्शनीमा ट्विन ब्यारल अटोमेटिक एन्टी एयरक्राफ्ट समेत राखेको थियो। चीनबाट २०४५ सालमा हवाई प्रतिरक्षालाई एन्टी एयरक्राफ्ट मेसिनगन भित्र्याइएको हो। सेनासँग भएको एन्टि एयरक्राफ्ट मेसिनगनले १२ हजार मिटरसम्म प्रहार गर्न सक्छ।
सेनाले शिवरात्रि अघि सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरेको थियो । हेर्नुहोस् भिडिओ