ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने र लेन मिच्ने चालकहरूलाई १ घन्टा कक्षा सञ्चालन गर्छ।
राजधानीको ट्राफिक प्रहरी महाशाखामा सञ्चालन हुने यस्तो कक्षा प्रहरी नायब निरीक्षक हरिशरण पौडेलले चलाउँछन्।
ट्राफिक प्रहरीले २०६८ सालबाट सचेतना कक्षा सुरू गरेयता पौडेल नै यसमा संलग्न छन्।
मदिरा सेवन गरेका व्यक्तिले सवारी चलाउँदा आफूलाई मात्र नभई परिवारका सदस्य र पैदलयात्रुलाई समेत जोखिममा पारेको पौडेल बताउँछन्।
'निर्दोष मानिसको ज्यान समेत जानसक्ने भएकाले हामी यसमा कडै रूपमा प्रस्तुत भएका छौं,' पौडेलले भने, 'निःशुल्क सचेतना कक्षा सञ्चालन गरे पनि धेरैले यसलाई सजायको रूपमा लिनुहुन्छ। बरू म पैसा दिन्छु तर सचेतना कक्षा बस्दिनँ भन्नुहुन्छ।'
पौडेलले थप सुनाए, 'पहिले-पहिले कक्षामा राख्न चालकहरूलाई गाह्रो भए पनि कक्षा लिएर निस्किँदा उहाँहरू नै यसमा त बस्नुपर्ने रहेछ भन्नुहुन्छ।'
ट्राफिक प्रहरीको सचेतना कक्षाका धेरै विषय २५ वर्षभन्दा कम उमेरका पुस्ता लक्षित छन्।
'दुर्घटना धेरै गराउने उमेर समूह लक्षित गरेर प्रस्तुति बनाइएको छ,' पौडेल भन्छन्।
ट्राफिक नियममा कडाइ र कक्षा अनिवार्य गरेपछि सचेतनामा आउनेको संख्या घटिरहेको पौडेलको अनुभव छ।
'पहिले-पहिले दैनिक एक हजार जनालाई कक्षा दिए पनि अहिले सुधार भएर एक-दुई सय जना मात्र हुन्छन्,' पौडेलले भने, 'थोरै मान्छे मात्र दुई-तीन पटकसम्म आउने गरेका छन्।'
सचेतना कक्षामा प्रहरीले मापसे गर्ने वा लेन मिच्नेलाई निरुत्साहित वा अपमानित नगर्ने पौडेलेको दावी छ।