मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेक्का पाएको चिनियाँ कम्पनी सिनोहाइड्रोले आगामी असार मसान्तसम्म मेलम्चीको पानी सुन्दरीजलमा झार्ने भएको छ।
आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले डाइभर्सनबाटै भए पनि असार मसान्तसम्म पानी सुन्दरीजलमा झार्ने लक्ष्य रहेको बताए। उनले आयोजनाको सम्पूर्ण काम निर्माण सम्झौता अवधिभन्दा अगाडि नै सकिने दाबी गरे।
'बोनसको व्यवस्था भएकोले निर्माण सम्झौता अवधिअघि नै काम सक्ने प्रयास भइरहेको छ। ठेकेदारले परिचालन गरेको जनशक्ति र स्रोत साधनले पनि आशा देखाउँछ,' उनले भने।
गत पुस १ गते इटालियन कम्पनी सिएमसीले काम अलपत्र छाडेर भागेपछि सरकारले बाँकी कामको ठेक्का १५ महिनाभित्र सकिने गरी चिनियाँ कम्पनी सिनोहाइड्रोलाई दिएको थियो।
अहिले आयोजनामा ६० जना चिनियाँसहित झण्डै ३ सय कामदार खटिएका छन्। आयोजनाको पूरा काम ९५ प्रतिशत सकिएको प्रमुख खत्रीले बताए।
अहिले आयोजनाको काम अन्तर्गत ड्यामको मुख थुन्नको लागि गेट निर्माणको काम भइरहेको र सुरुङको फिनिसिङको काम बाँकी रहेको छ।
दुइटा प्रशोधन केन्द्रमध्ये एउटा निर्माण भइसकेको र अर्को पनि पुस मसान्तभित्र सकिने प्रमुख खत्रीले बताए।