चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण पूरा गरी आइतबार चीन फर्किए।
भ्रमणका दौरान नेपाल र चीनबीच २० वटा सम्झौता र समझदारीमा हस्ताक्षर भए। चीनसँग कनेक्टिभिटी बढाउन रेल र सुरुङ निर्माण लगायतका विषयहरूमा दुई देशबीच समझदारी भएका छन्।
'भ्रमणको आयोजना, बहस, छलफलको गुणस्तर र यसबाट निकालिएका परिणामका आधारमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक विशिष्ट रह्यो भन्ने बुझाइ छ', परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सेतोपाटीसँग भने, 'विकास समृद्धिका लागि रणनीतिक साझेदारीका साथ हाम्रो सम्बन्ध दीगो, दीर्घकालीन र भरोसायोग्य बन्नेगरी मित्रताको लेभललाई अगाडि बढाएको छ।’
ज्ञवाली नेपाल र चीनबीचको छलफलमा सबभन्दा धेरै प्राथमिकता कनेक्टिभिटीले पाएको बताउँछन्।
'चिनियाँ राष्ट्रपतिले रात्रीभोजमा नेपालको भूपरिवेष्ठित अवस्थाले पारेको अप्ठ्यारा, बन्धन तोड्न तथा भूजडित बनाउन भरोसायोग्य साथ रहने बताउनुभएको छ', ज्ञवालीले भने, 'बिआरआइमा पनि हामीले प्राथमिकतामा राखेको विषय कनेक्टिभिटी नै हो।’
नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा पनि कनेक्टिभिटीले प्राथमिकता पाएको छ। कोसी, कर्णाली र कालिगण्डकी करिडोरका साथै केरुङ-काठमाडौं यातयात सम्पर्क दीगो बनाउने विषय उल्लेख छ। तातोपानी नाकाको स्तरोन्नति गर्ने विषय समेटिएको छ।
'चीनले केरुङलाई अन्तर्राष्ट्रिय पोर्टका रूपमा विकास गरेको छ', ज्ञवालीले भने, 'केरुङ काठमाडौं जोड्ने सडक सबै समय चलाउन सडक बनाउन सुरुङ बिना सम्भव छैन। टोखा छहरे सडकले यो सडक १४ किलोमिटर छोटिन्छ। यसलाई नेपालको राजधानीसँग हमेसा जोडिने एउटा यातायातको सुरक्षित माध्यम बनाउँछ।’
ज्ञवालीले टोखा छहरे सुरुङ निर्माणको सम्भाव्यता अध्ययन गर्न छिट्टै चिनियाँ टोली नेपाल आउने बताए। उनका अनुसार, टोखा छहरे सुरुङ निर्माण लगत्तै बेत्रावती स्याफ्रुबेंसी सुरुङ निर्माणको विषय अगाडि बढ्ने छ।
'चीनको नेपालसँगको गेट वे केरुङ हुने भयो', ज्ञवाली भन्छन्, 'चीनले अन्तर्राष्ट्रिय पोर्टका रूपमा विकास गरेकाले त्यहाँबाट यातायात विश्वासिलो बनाउने हाम्रो कुरा हो।’
उनले सुरुङ मार्गमा ठूलो चिनियाँ अनुदान रहने बताए।
'तुरुन्तै प्राविधिक टोली आउने छ। दुवैको संयुक्त प्राविधिक टोलीले थप अध्ययन अगाडि बढ्छ। निकै छिटो निर्माणको तहमा पुर्याउन सकिन्छ', ज्ञवालीले भने, 'तीन वर्षभित्र सक्छौं भन्ने छ।’
उनले रेल आउनुभन्दा अगाडि सुरुङ मार्ग निर्माण सकिने बताए।
'रेल निर्माण सुरू गरेपछि ६ देखि ७ वर्ष लाग्छ भन्ने छ। चिनियाँ साथीहरूको भनाइ यो ठाउँमा रेल निर्माण संसारको जटिलतम निर्माणमा पर्छ भन्नेछ। सम्भव छ, तर जटिल छ भन्ने छ। दरिलो पाइला टेक्दै अगाडि बढ्न खोजिरहेका छौं। बनाउँछौं तर धेरै हतार गरेर प्राविधिक तयार नभइकन जम्प गर्दैनौं भन्ने छ। त्यो भन्दा अगाडि भरपर्दो कनेक्टिभिटीका लागि सुरुङले सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ।'
ज्ञवालीका अनुसार रेलको सम्भाव्यता अध्ययन समेत एक वर्षभित्रै सकिने छ।
'सम्भाव्यता अध्ययन एक वर्षमा हुन्छ,' ज्ञवालीले भने,'भौगर्भिक अध्ययनले केही समय लाग्न सक्छ।'
चिनियाँ राष्ट्रपतिको भ्रमणका भएका छलफलहरू कति ठोस् छन्? सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले ज्ञवालीसँग गरेको भिडिओ कुराकानी -