चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरू १७ दिनयता आन्दोलनमा छन्। आन्दोलनमा उत्रिएका विद्यार्थीहरूसँग अतिरिक्त शुल्कको पीडामात्र छैन, प्रशासनले शुल्क तिर्न जारी गरेको ‘उर्दी’ नटेर्दा फेल पारिदिएको पीडा पनि छ।
चितवन मेडिकल कलेजमा अध्ययनरत कला अधिकारी त्यसकै उदाहरण हुन्। बिएस्ससी नर्सिङ पढ्न सरकारले ७ लाख ४८ हजार शुल्क निर्धारण गरेको छ। तर चितवन मेडिकल कलेजले विद्यार्थीहरूसँग चार वर्षे कोर्स गर्न थप चार लाख रकम माग्दै आएको छ। त्यही रकम उठाउने निर्णयको विरोध गर्दा अधिकारी सहितका विद्यार्थीलाई बिएस्सी पहिलो वर्षको प्राक्टिकलमा प्रशासनले फेल पारिदिएको हो।
बिएस्सी नर्सिङ पहिलो वर्षका विद्यार्थीहरूले अतिरिक्त शुल्क मागेपछि जिल्ला शिक्षा कार्यालयमा उजुरी गरेका थिए। हस्ताक्षर गर्ने चालिस जना विद्यार्थीमध्ये झण्डै ७० प्रतिशत विद्यार्थी बेसिक साइन्सको प्राक्टिकलमा फेल पारिएका छन्।
कला भन्छिन् - ‘थेउरीमा राम्रो नम्बर ल्याएर पास हुनेहरू प्राक्टिकलमा फेल पारिएका छन्। अनि थेउरी पास गर्न नसक्नेहरूलाई प्राक्टिकलमा पास गराइएको छ।’
चितवन मेडिकल कलेजको यही व्यवहारका कारण विद्यार्थीहरू बोल्न समेत डराइरहेका छन्। नाम नबताउने सर्तमा एक विद्यार्थीले सेतोपाटीसँग भनिन्, 'सरहरूलाई भेटेर सोध्यो भने भन्नुहुन्छ - प्राक्टिकलमा राम्रो नम्बर दिएको छु। खै कसरी फेल भयौ थाहा भएन।’
तर विद्यार्थी आन्दोलनमा लागिरहेकी कलालाई भने फेल हुने डर हट्दै गएको छ।
तीन वर्षकै उमेरमा माओवादी सशस्त्र युद्धमा बुवा गुमाएकी कलालाई जीवन संघर्ष हो भन्ने लाग्छ।
बुवाको निधनपछि राज्यले दिएको रकम उनले पढाइमा खर्च गरेकी छिन्। तर एक्ली आमाले भाइ र आफ्नो पढाइको खर्च धान्न नसक्ने अवस्थामा कलेजले मागिरहेको अतिरिक्त शुल्कले उनलाई थप पीडा दिइरहेको छ।
हेर्नुस्, कला अधिकारीको भिडिओ ब्लग -
यी पनि :
चितवनमा सल्किएको विद्यार्थी आन्दोलन
मान्यता थापाको भिडिओ ब्लग : म अब डराउँदिनँ