राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङ्देनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए। त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरू र महामन्त्रीहरूलाई बस्नेतले सपथ गराएका थिए। त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले सपथ खुवाएका थिए।
सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएका थिएनन्।
कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरेका थिए।
काठमाडौंको भृकटीमण्डपमा आज (आइतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङ्देनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनीत गर्नेछन्।