नेपाली कांग्रेसमा पुस्तान्तरणको लामो प्रसव वेदनालाई चिर्दै नयाँ पुस्ताका दुई नेताका रूपमा गगन थापा र विश्वप्रकाश शर्माको उदय भएको छ।
कांग्रेसको चौधौं महाधिवेशनबाट थापा र शर्मा नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्।
पार्टी सभापतिमा ७५ वर्षीय शेरबहादुर देउवा निर्वाचित हुँदा महामन्त्रीमा ४५ वर्षीय थापा र ५१ वर्षका शर्मा निर्वाचित भएका छन्।
कांग्रेसको शीर्ष नेतृत्वमा अहिले पनि २०२० सालमा राजनीतिमा आएको पुस्ता बरकरार छ। २०२८ सालमा नेविसंघको अध्यक्ष बनेका देउवा अहिले पार्टीको सभापति छन् भने पार्टीमा प्रतिस्पर्धी समूहको नेतामा यो महाधिवेशनसम्म पनि २०२७ सालमै नेविसंघको संस्थापक सदस्य रहेका रामचन्द्र पौडेल थिए।
यति लामो समयसम्म पनि देउवा र पौडेल नै नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा रहँदा उनीहरूपछिको पुस्ता नेतृत्वमा पुग्ने ठाउँ रोकिएको थियो। महामन्त्रीमा गगन र विश्वप्रकाशको उदयले बीचको त्यो पुस्ता कांग्रेसको अग्रपंक्तिको नेतृत्वबाट लगभग विस्थापित हुने अवस्था आएको छ।
अब कांग्रेसभित्रका दुई ध्रुवका शीर्ष स्थानमा देउवा र भर्खरै सभापतिको निर्वाचनमा पराजित भएका शेखर कोइराला रहने छन् भने महामन्त्रीद्वयका रूपमा थापा र शर्मा नेपाली कांग्रेसका प्रमुख अनुहार हु नेछन्। कांग्रेससँग आममानिसका आशा र निराशा यी दुई युवातिरै सोझिने छन्। त्यसैले उनीहरूसँग आममानिसका अपेक्षा र कांग्रेसको ठूलो जिम्मेवारी जोडिने छ।
नेपाली कांग्रेसको महामन्त्रीको कुर्सीको आफ्नै ओज छ। कुनै बेला त्यो कुर्सीमा गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्यायहरू बसेका थिए।
पुस्तान्तरणको दबाब सिर्जना गरेर महामन्त्रीको कुर्सी आफ्नो पुस्तामा ल्याउनमा विशेषगरी गगन थापाको ठूलो योगदान छ।
उनले पाँच वर्षअघि चौधौं महाधिवेशनमै कांग्रेसको महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए। त्यो पनि देउवा, पौडेलसँगै राजनीति सुरू गरेका अर्जुननरसिंह केसी र बिपी पुत्र शशांक कोइरालाविरूद्ध उम्मेदवारी दिएर। उनका लागि त्यो उम्मेदवारी पेचिलो विषय पनि थियो किनभने केसी उनका ससुरा पनि हुन्।
४० वर्षको उमेरमै कांग्रेसको महामन्त्री दाबी गर्दै थापा उठेपछि कतिपय उनकै पुस्ताका युवाहरूले पनि गगनले हतार गरेको टिप्पणी गरे। तर उनी टसमस भएनन्। चुनाव लडे र सम्मानजनक मत ल्याए।
त्यसले उनलाई अर्को पुस्ताको नेताका रूपमा जबरजस्त रूपमा स्थापित गर्यो। चौधौं महाधिवेशनमा उनी फेरि महामन्त्री लड्छन् भन्ने पक्का थियो। त्यसले विश्वप्रकाशलाई पनि महामन्त्रीमा लड्न सुरूदेखि नै प्रेरणा र दबाब सिर्जना गर्यो।
थापा र शर्माको सम्भावित उम्मेदवारीले चौधौं महाधिवेशनअघि नै उनीहरूभन्दा अघिल्लो पुस्ताका नेताहरूलाई दबाब सिर्जना गर्यो।
महाधिवेशन आउनु एक वर्षअघि नै कांग्रेस उपसभापति विमलेन्द्र निधिले देउवालाई आफू यसपालि सभापतिमा उठ्ने जानकारी मात्र गराएनन् उनको सहयोग पनि मागे। देउवाले आफैं सभापतिमा अन्तिम पटक लड्ने भन्दै अर्को महाधिवेशसम्म पर्खिन निधिलाई आग्रह गरे।
निधिले त्यो बेला देउवालाई भनेका थिए, ‘अर्को महाधिवेशन मलाई सुट गर्दैन, त्यो बेला गगन, विश्वप्रकाशको पुस्ता आइसकेको हुन्छ।’
नभन्दै निधि चौधौं महाधिवेशनमा सभापतिमा लडे। गगन र विश्वप्रकाशको दबाब नहुँदो हो त उनी सायद अर्को महाधिवेशनसम्म पर्खिन सक्थे।
यसरी यी दुई युवा नेताले कांग्रेसमा जबरजस्त दबाब सिर्जना गरेर पुस्तान्तरणको प्रक्रियालाई तीव्रता दिएका छन्।
थापा र शर्मा दुबै २०४६ सालको जनआन्दोलनपछिका पुस्ता हुन्। संयोगवश: दुबै जना कुनै बेला नेपाल विद्यार्थी संघको एउटै कार्य समितिमा थिए।
२०५७ सालमा शर्मा नेविसंघको अध्यक्ष थिए भने त्यही कार्य समितिमा थापा उपाध्यक्ष थिए।
कांग्रेस राजनीतिमा गगन-विश्वप्रकाश आशलाग्दा र भरोसा बोकेका नेता हुन्। थापा शेखर कोइराला समूह र शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्री उठेका थिए। सभापतिमा देउवालाई जिताउँदा कांग्रेस प्रतिनिधिहरूले अलग समूहका थापा र शर्मालाई महामन्त्रीमा जिताएका छन्।
सभापति देउवा समूहमा लामो समय रहेका शर्मालाई देउवाले अन्तिममा ठाउँ दिएनन्। सभापति जित्नका लागि देउवाले कृष्णप्रसाद सिटौला समूहलाई सुरूमै आफ्नो क्याम्पमा ताने। भागबन्डामा सिटौला समूहका प्रदीप पौडेललाई महामन्त्री उम्मेदवार बनाएपछि शर्मा ‘स्पेस’ खोज्दै हिँड्नुपर्यो।
त्यसबेला शर्मालाई कोइराला समूहबाट महामन्त्री बनाउने प्रयास पनि भयो। तर मीनेन्द्र रिजालले ठाउँ नछोड्ने भएपछि उनका लागि ढोका बन्द भयो। शर्मा सिंह समूहमा गएर महामन्त्रीमा उठे।
शर्मालाई राष्ट्रिय राजनीतिमा ठाउँ भने देउवाले नै दिएका हुन्। उनलाई पार्टी सभापति देउवाले २०७४ सालमा प्रवक्तामा नियुक्त गरेका थिए। त्योभन्दा अघि शर्मा जिल्लाको राजनीतिमा सक्रिय थिए।
झापाका शर्मा मेची बहुमुखी क्याम्पस पढेका हुन्। २०४० सालमा धुलाबारी मावि, झापाको नेपाल विद्यार्थी संघ इकाइ सभापति भएर राजनीतिमा प्रवेश गरेका थिए। २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका थिए।
२०४८ सालमा नेविसंघ केन्द्रीय सदस्य बने। २०५३ सालमा नेविसंघ महामन्त्री, २०५३ मा नेविसंघ केन्द्रीय उपसभापति बने। २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बनेका थिए। २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित शर्मा २०७४ सालयता कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारीमा छन्।
गगन थापा भने राष्ट्रिय राजनीतिमा केही समयदेखि नै सक्रिय छन्।
उनी राष्ट्रिय राजनीतिको ‘लाइमलाइट’मा आएका भने राजा ज्ञानेन्द्रको शासन कालमा हो। २०६२/०६३ सालको दोस्रो जनआन्दोनलमा उनी राजाविरोधी प्रतिरोधी आन्दोलनको प्रमुख युवा अनुहार हुन्। नेविसंघको महामन्त्रीका रूपमा उनी सडक आन्दोलनमा सक्रिय थिए।
राजाको शासन अन्त्य भएपछिको पहिलो संविधान सभामा उनी समानुपातिक सांसद थिए। २०७० र २०७४ को निर्वाचन भने उनले काठमाडौं-४ बाट जितेका हुन्।
पछिल्लो आम निर्वाचनमा कांग्रेसका २६ जनाले मात्र प्रत्यक्षतर्फ जितेका थिए। संसदमा थापा निरन्तर रूपमा कांग्रेसको प्रमुख अनुहारका रूपमा उपस्थित छन्।
कांग्रेस पार्टी रूपान्तरणको पक्षधर हुन् गगन थापा। महाधिवेशन आयोजना हुँदै गर्दा गगनले भविष्यको कांग्रेस र राजनीति कस्तो हुनुपर्छ भनी कार्यक्रम ल्याएका थिए।
‘म महामन्त्रीको रूपमा मान्छे बदलिने मात्र कुरा गर्दिनँ, महामन्त्रीको रूपमा मैले राजनीतिक लाइन बोकेको छु, समुन्नत नेपाल सम्मानित नेपाली कार्यक्रम ल्याएको छु,’ गगनले भने, ‘यो किन पनि आवश्यक भयो भने हामी बन्द सत्रबाट कार्यक्रम पारित गर्थ्यौं, सभापति, महामन्त्रीमा जो आए पनि जो आए पनि पार्टीको कार्यक्रम त्यही बन्थ्यो। तर अहिले त्यस्तो छैन। सभापति वा महामन्त्री को आयो भन्दा पनि उसको सोच के छ भनेर हेर्नुपर्छ।’
उपसभापतिमा पराजित नेता चन्द्र भण्डारीका अनुसार गगन देशको भविष्यसँग जोडिएका व्यक्तिहरू हुन् र यो महाधिवेशनले राजनीतिलाई रूपान्तरण गर्न कांग्रेसभित्र युवा नयाँ नेतृत्व खोजी गरेको सन्देश दिएको छ।
भण्डारीका अनुसार जब सिंगो पार्टीको नेता कोही बन्दैन, त्यो देशको नेता बन्न सक्दैन।
‘नयाँ पुस्ता गगनहरूले मुलुकलाई अँगालेर काम गर्नुपर्छ। हामीले जुन अभियान चलायौं, विश्वप्रकाश, एनपी साउद र रमेश लेखकहरू पनि यही बाटोमा फर्किनुपर्छ,’ उनले भने, ‘यो अधिवेशनलाई हामीले सम्झौताका रूपमा लिएका छौं। पन्ध्रौं महाधिवेशनलाई नेतृत्व भनेका थियौं।’
विश्लेषकहरूको भनाइ पनि त्यस्तै छ। कांग्रेस महाधिवेशनमा नयाँ पुस्ता आउँदा नेतृत्वमा रहेको पुरानो पंक्तिसँग कार्यकर्ता निराश छन् भन्ने देखिन्छ।
‘नेतृत्वमा पुगेर काम गरेर देखाउने आशाको पंक्तिको विजय भएको देखिन्छ। पुरानो नेतृत्वसँग लागेर राजनीतिक भविष्य सुरक्षित छैन भन्ने सन्देश पनि देखिन्छ,’ त्रिवि राजनीतिशास्त्रका उपप्राध्यापक पिताम्बर भण्डारी भन्छन्, ‘समूह निर्माण हुँदा छिन्नभिन्न भएको परिणाम पनि हो।’
कांग्रेसका आम कार्यकर्ताले चाहेको तर नेतृत्वमा नदेखिएको नेता थापाको राजनीतिक पृष्ठभूमि सानै उमेरदेखिको संघर्ष र निरन्तरको सक्रियताबाट निर्माण भएको हो।
गगन २०३३ सालमा काठमाडौंस्थित प्रसूति गृहमा जन्मेका थिए। थापाको बाल्यकाल सिन्धुपाल्चोकको लामोसाँघुमा बितेको थियो। बुबा महेन्द्रकुमार थापा नेपाल विद्युत प्राधिकरणका इञ्जिनियर भएकाले उनको बाल्यकाल त्यहाँ बितेको थियो।
उनले दुई कक्षासम्म त्यहीँ पढेका थिए। गगनको पुर्ख्यौली घर सोलुखुम्बु हो। पछि परिवार काठमाडौं रातोपुल सरेको थियो। उनी दुईदेखि कक्षा दससम्म काठमाडौंस्थित सिद्धार्थ वनस्थली स्कुलमा पढे।
मध्यम वर्गीय परिवारका चार जना छोरामध्ये गगन माइला हुन्। सबैले दाजुभाइले त्यही स्कुल पढे। कोही इन्जिनियर, कोही डाक्टर भए।
उनलाई पनि इञ्जिनियर वा डाक्टर बन्न परिवारको दबाब थियो। काठमाडौंमा घर भएको सरकारी कर्मचारीको छोरा भएका कारण पढाइमा आर्थिक बोझ थिएन।
परिवारमा गगन मात्रै राजनीतिमा छन्। पिएचडी गरेका जेठा दाजु जर्मनीमा छन्। इञ्जिनियर साइँला अमेरिकामा छन्। डाक्टर रहेका कान्छा पनि अमेरिकामै। नेविसंघको राजनीतिमा लाग्नुमा घरको वातावरणले पनि प्रभावित पारेको थापा बताउँछन्।
सेनाका जागिरे गगनका हजुरबुबाले केही समय पञ्चायती शासनबाट प्रताडित हुनु परेको थियो। कांग्रेसलाई सघाएको भनेर गगनका हजुरबुवालाई जेलसम्म हालिएको रहेछ।
सोलुखुम्बुबाट काठमाडौं घरमा आउजाउ गर्नेहरू बाक्लै थिए। नातेदार धेरै कांग्रेसमा रहेछन्। पाहुना आउँदा सुत्ने ठाउँ दाजुभाइ सुत्ने कोठामै हुन्थ्यो।
‘खाली प्रजातन्त्र र नेपाली कांग्रेसको कुरा मात्र गरिरहन्थे। त्यसैले पनि कांग्रेस के हो त भन्ने कौतुहलता मनमा डुलिरहन्थ्यो,’ उनी भन्छन्।
२०४६ सालको जनआन्दोलन एकदमै ठिक छ भनेर घरमा सबैले भन्थे। त्यसले पनि उनलाई पञ्चायती संविधान जलाउन र प्रहरीलाई ढुंगा हान्न आत्मबल जागेको थियो।
उनी कक्षा दसमा पढ्दै थिए। पहिलो जनआन्दोलन सकिएर मुलुकमा चुनावको माहौल बनेको थियो।
‘कानमा मुन्द्री लाउन, कपाल पाल्न मन लाग्ने,’ उनी सम्झन्छन्, ‘घरमा त यो आवारा हुन लाग्यो भनेर निकै हेरविचार गर्नुहुन्थ्यो।’
स्कुल बिदाको समय परेको थियो। ठूलोबुवाका छोरा दमननाथ ढुंगाना उठेको क्षेत्रमा चुनावी कार्यक्रममा सहभागी हुन गइरहन्थे। घरमा एक्लै छोड्यो भने कता जान्छ, के गर्छ कि भन्ने पीरले बुवाले उनलाई दमननाथ ढुंगानाको चुनावी कार्यक्रममा पठाइदिए छन्।
उनलाई त के खोज्छस् भएछ।
‘टेम्पोमा चढेर माइकिङ गर्न थालियो,’ उनी भन्छन्, ‘बाल कांग्रेस भनेर जुलुस निस्किन्थ्यो, त्यसमा सहभागी भइन्थ्यो।’
यसरी हिँड्ने मौका मिलेपछि उनी कांग्रेसी भए।
एसएलसी पास गरेपछि पारिवारिक सुझावअनुसार कि डाक्टर कि इञ्जिनियर बन्नुपर्ने थियो। गगन अस्कल क्याम्पसमा आइएससी पढ्न थाले।
अरू दाजुभाइ पढाइमा अगाडि बढिरहँदा गगन भने राजनीतिमा सक्रिय हुन थाले। पढाइमा थोरै बाधा पर्यो। उनी केही समय पुल्चोक इञ्जिनियरिङ कलेज गए, अनि फेरि त्रिचन्द्र कलेज फर्किए।
त्रिचन्द्रमा राजनीतिक गतिविधि उदारपूर्वक हुन्थे।
‘सेकेन्ड इयर सकेर अमेरिकातिर जाऊँ कि भन्ने सोच थियो,’ उनले भने, ‘त्यही वर्षमा स्वविय चुनाव भयो, म स्ववियू सदस्यमा निर्वाचित भएँ।’
क्याम्पसे जीवनमै नेविसंघको महामन्त्री, उपाध्यक्ष भए। महामन्त्री भएपछि राजनीति पनि नयाँ मोडमा पुग्यो। त्यस बेला राजा ज्ञानेन्द्रको सक्रिय शासन सुरू भएको थियो। उनी जिम्मेवारीबाट हटाइए। कारण थियो- गणतन्त्र वकालत गरेको।
पार्टीले संवैधानिक राजतन्त्र विधान टेकिरहँदा उनी गणतन्त्रवादी भइसकेका थिए। तीन-चार वर्ष त नेतृत्वविहीन भए।
त्यसपछि थापाको अधिकांश समय सडक आन्दोलनमा बित्यो। दोस्रो जनआन्दोलनमा ३० वर्षे लक्का जवान थापा काठमाडौंका सडक तताउँथे।
जनआन्दोलन सफल भएपछि उनी नेविसंघ छोडेर पार्टी राजनीतिमा आए।
क्षेत्रीय सभापति हुँदै उनी पहिलो संविधान सभा निर्वाचनमा समानुपातितर्फ सभासद भए। दोस्रो निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भए। २०७४ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ४ बाटै विजयी भए।
गगन २०७३ सालमा स्वास्थ्य मन्त्री भएका थिए। उनी स्वास्थ्य मन्त्री बनेका बेला सम्झनलायक काम गरेका थिए। ९ महिनामात्रै मन्त्री पदमा रहे पनि उनको प्रशंसा भयो।
यसबीचमा थापाको संसदीय भूमिकाको पनि प्रशंसा हुने गरेको छ। उनी कानुन बनाउँदा विषयगत छलफलमा भाग लिन्छन्। ठिक-बेठिक के छ सुधार गर्नुपर्छ भन्छन्।
कांग्रेस राजनीतिको केन्द्रमा उदाएका थापा र शर्मालाई पार्टी रूपान्तरणको चुनौती त छँदैछ, युवाहरूको जनमत लिएर सामूहिक नेतृत्व निर्माण गर्दै अघि बढ्ने चुनौती पनि छ।
अहिलेका लागि यति नै काफी छ- पुरानो पुस्ताले नेतृत्वको अग्रपंक्ति भरिएको कांग्रेसमा गगन-विश्वप्रकाशको जितले नयाँ पुस्ताको आगमन गराएको छ।
यो पनि हेर्नुहोस् :