कांग्रेस महामन्त्रीमा विजय भएपछि गगनकुमार थापा पार्टी कार्यालय सानेपा पुगेका छन्।
आज भएको मत गणनामा उनले फराकिलो मतले महामन्त्री पद जितेका हुन्।
पार्टी कार्यालयमा पुगेपछि उनलाई नेता कार्यकर्ताले अविर, फूलमालाले स्वागत गरेका छन्। उनको स्वागतमा कार्यकर्ताले नारा लगाइरहेका छन्। सानेपामा अहिले 'गगन दाइ, हाई हाई', 'नेपाली कांग्रेस महामन्त्री, अब देशको प्रधानमन्त्री' भनेर नारा लागिरहेको छ।
सानेपामा अहिले प्रहरीहरूलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्।
गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। प्रकाशमान प्यानलबाट विश्वप्रकाशले उम्मेदवारी दिएका थिए।
कांग्रेस विधान अनुसार २ जना महामन्त्री हुने व्यवस्था छ।