नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्।
दोस्रो स्थानमा विश्वप्रकाश शर्मा र प्रकाशशरण महतबीच कडा प्रतिश्पर्धा भइरहेको छ। उनीहरूलाई प्रदीप पौडेलले पछ्याइरहेका छन्।
यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
१६९५ मतगणनामा
- गगन कुमार थापा-११५५
- विश्व प्रकाश शर्मा ७४१
- प्रदिप पौडेल-६१८
- प्रकाश शरण महत-५५४
- मिनेन्द्र रिजाल-२९६
- राजाराम कार्की-५३
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।