नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा धनराज गुरूङले अर्का बलिया उम्मेदवार विजयकुमार गच्छदारलाई दुई मत अन्तरले हराउँलै विजयी भए।
बुधबार साँझ भएको उपसभापतिको मतगणनामा सुरूवातदेखि नै अग्रता लिएका उनी आफैं मतगणनास्थलमा पुगेका थिए।
१३०० मतगणना हुँदा शेखर कोइराला प्यानलका गुरूङले ४२ मतले सबैभन्दा अगाडि थिए। देउवा प्यानलका पूर्णबहादुर खड्काले ५०१ मत पाउँदा गुरूङले ५४३ मत पाएका थिए।
बिस्तारै खड्काले गुरूङलाई उछिने तेस्रो स्थानमा रहेका विजय गच्छदारले मतान्तर घटाउँदै लगे।
१९०० मत गणना हुँदा खड्काले ९०८ मत पाए भने गुरूङ पछि परे। उनले ८८८ मत पाए भने तेस्रो स्थानमा रहेका गच्छदारको ७९८ मत थियो।
२८६७ मत गणनामा खड्काले १३२१ मत ल्याउँदा गुरूङले १२६७ मत ल्याए। उता गच्छदारले मतान्तर घटाउँदै १२३१ पुर्याए।
३५५८ मत गणनामा खड्काले १९७ मतान्तरले अग्रता बढाएर १६३४ पुर्याए। गुरूङले १४३७ पुर्याउँदा गच्छदारले १४४३ पुर्याएर दोस्रो स्थानमा उक्लिए। गुरूङ तेस्रो भए।
यस्तै ४२५८ मत गणनामा खड्काले १८६५ मत पाए भने गुरूङले पुनः गच्छदारलाई ४ मतले उछिने। गुरूङले १६९३ मत पाउँदा गच्छदारले १६८९ मत पाए।
अन्तिममा सबै मत गनिसक्दा गच्छदार २ मतले पछि परे। गच्छदारले १९०६ मत पाउँदा गुरूङले १९०८ मत पाए। २१२१ मत ल्याएर खड्का पहिलो स्थानमा रहे।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १००-१०० को बण्डलमा मतपत्रलाई छुट्याएर गणना गरेर परिणाम सुनाउँदै गर्दा एउटा बण्डलमा गडबड भयो भन्दै गणनास्थलमै रहेका उम्मेदवार धनराज गुरुङले फेरि गणना गर्न माग गरेका थिए।
उम्मेदवार आफैं अघि सरेर दबाब दिएपछि निर्वाचन समितिका सदस्यहरूले फेरि त्यो सय मतको फेरि गणना गरे।
उनको मागअनुसार पुन: मत गणना गर्दा गुरूङको पक्षमा दुई मत बढी भएकोनिर्वाचन समितिका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।
उक्त बण्डलको भोट गनेर हिसाब राख्दा त्रुटी भएको पाइएपछि गुरूङले फेरि मत गणना गर्न माग गरेका थिए। १०० को एउटा बण्डलको मतगणनामा सुरूमा गुरूङको ४१ मत आएको थियो, पुन: गणना गर्दा उनको मत ४३ पुगेको थियो। त्यही २ मत गुरूङलाई कांग्रेस उपसभापतिमा निर्वाचित हुन निर्णायक बन्यो।
मतगणनाका क्रममा त्यस्तो हुनु मानवीय त्रुटी भएको गुरूङले बताएका छन्।
‘गडबड भएको थियो। त्यो नियोजित होजस्तो मलाई लाग्दैन,’ निर्वाचित भएपछि संवाददाताहरूसँग कुरा गर्दै गुरूङले भने,‘मानवीय त्रुटीका कारण त्यस्तो भएको हुन सक्छ।’