काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ।
सधैं विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन्। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ।
आम सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदान अहिले रङ्गीचङ्गी तुल, ब्यानरले भरिएको छ।
पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकांक्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकिझकाउ भएको छ। यसले महाधिवेशनस्थल छुट्टै देखिएको छ। त्यहाँ पुग्ने जो–कोहीले मोबाइलमा तस्वीर कैद गरिरहेका देखिन्छन् धेरैले मञ्चको सेल्फी लिइरहेका भटिए। महाधिवेशन प्रतिनिधिमात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ।
भृकुटीमण्डपको गेटबाटै सुरू हुन्छ, खचाखच ब्यानर। रूख, खाली स्थान, भित्ता कहीँ खाली ठाउँ छैन सबै उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन्।
प्रदर्शनीमार्गको सडकका दुवैतिरका भित्तामा प्रचार सामग्रीले सजिएका छन्। राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लब पनि चारतारे झण्डा र प्रचार सामग्रीले रंगिएको छ।
गेटबाट भित्र छिर्नासाथ चारैतिर ब्यानरले झकिझाउ छ। उद्घाटनस्थल मात्रै होइन, बन्दसत्र हुने प्रदर्शनी कक्षभित्र पनि आकर्षकरूपमा सजाइएको छ।
भित्रपट्टि पनि छुट्टै मञ्च बनाइएको छ। चार दिनसम्म करिब पाँच हजार कांग्रेसका महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन्।
सोही स्थानभित्र विभिन्न पदाधिकारी र सदस्यका अकांक्षीले सम्पर्क कार्यालय खोलेर प्रतिनिधिलाई आकर्षण गरिरहेका छन् ।
महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ।
राष्ट्रिय सभा गृहमा कांग्रेसले मतदान गर्न २०० बुथ राख्न लागेको नेपाली कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए।
महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ।
एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए।
मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ।