नेपाली कांग्रेस गण्डकीको सभापतिमा तनहुँका नेता रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।
पोखरामा आइतबार पत्रकार भेटघाटमार्फत पौडेलले उम्मेदवारी घोषणा गरेका हुन्।
देश संघीयतामा गएपछि कांग्रेसले पहिलो पटक १४ औं महाधिवेशनमार्फत प्रदेश समिति गठन गर्दैछ। महाधिवेशन तालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गते हुनेछ।
प्रदेश सभापतिमा उम्मेदवारी दिएका नेता पौडेल कांग्रेस तनहुँका ३ कार्यकाल सभापति भएका थिए। कांग्रेसलाई बलियो बनाउन आफुले प्रदेशमा सभापतिको उम्मेदवारी दिएको पौडेलले बताए।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा आफु प्रदेश सभापतिको प्रत्यासी बनेको दाबी गर्दै उनले महामन्त्री शशांक कोइरालाले पनि समर्थन जनाउने आशा राखे।
‘वरिष्ठ नेता रामचन्द्र पौडेलले अगाडि बढ भन्नुभएको छ, महामन्त्री शशांक कोइरालाले पनि साथ दिने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘प्रदेश सभापति बन्न म योग्य छु।’
बरिष्ठ नेता पौडेल पक्षधर कास्कीका नेता देवराज चालिसेले यसअघि नै प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। चालिसेभन्दा आफु योग्य रहेको पौडेलले दाबी गरे। एउटै समुहमा रहेर पनि कांग्रेसको १३ औं महाधिवेशनमा चालिसेले आफुलाई हराउन लागेको आरोप लगाए।
‘१३ औं महाधिवेशनमा देवराजजी मलाई केन्द्रीय सदस्यमा हराउन लड्नुभयो,’ उनले भने, ‘यदि रामचन्द्र र शेरबहादुरले मलाई प्रदेश सभापति अयोग्य भन्नुभयो भने छाड्न तयार छु।’
२०५३ सालदेखि लगातार १५ वर्ष कांग्रेस तनहुँका सभापति बनेका पौडेल पूर्वशिक्षक हुन्। २०२४ सालदेखि विद्यार्थी राजनीतिबाट कांग्रेसमा लागेका पौडेलले पढाएका विद्यार्थी सांसदका टिकट पाइसक्दा पनि उनले भने अहिलेसम्म पाएका छैनन्।
जीवनभर बरिष्ठ नेता रामचन्द्रसँगै रहेर पनि आफुले अहिलेसम्म सांसदको टिकटसमेत नपाएको भन्दै उनले आफुमाथि अन्याय भएको बताए।