बिहान ८ बजे लाजिम्पाटस्थित शंकर होटलको रिसेप्सनमा नीलो स्पोर्ट सुज, रातो जिन्स पाइन्ट र जिन्सकै नीलो ज्याकेट लगाएकी एउटी केटी उभिएरै ल्यान्डलाइन फोनबाट अंग्रेजीमा कुरा गर्दै थिई। ऊ कोसँग कुरा गर्दै थिई मैले अनुमान गर्न सकिनँ। म उसको ठिक पछाडिपट्टिको सोफामा थिएँ। पछाडिबाट उसको जीउडाल निकै आकर्षक देखिएको थियो।
एक छिनमा थाहा भयो, मैले काठमान्डुमा घुमाउने केटी त्यही रहिछ।
पछाडिबाट मात्र होइन, अगाडिबाट पनि ऊ निकै आकर्षक रहिछ। अनुहार पनि उस्तै सुन्दर र सुकिलो।
‘आइ एम फेवी’, ट्राभल एजेन्टको मध्यस्थतामा भएको परिचयक्रममा उसले आफ्ना हात मतिर अगाडि बढाउँदै भनी। पछिल्लो डेढ बर्षदेखि मलेसियामा बस्दै आएकी ऊ भेनेज्युालाकी रहिछ।
‘किन नेपाल नै आयो?’, मैले सोधें। उसले केही नसोची भनी, ‘हिजोआज म मलेसियामा बस्छु। मलेसियाबाट नेपाल नजिक छ। कारण त्यति नै हो।’
‘उसले कुन आधारमा नेपाल मलेसियाबाट नजिक छ भनी?’, मैले सोधिनँ।
मेरो गाइडिङ करिअरमा ऊ भनेज्युलाकी पहिलो गेस्ट थिई। मैले उसको देशबारे जान्न चाहें।
‘साउथ अमेरिकी महादेशमा रहेको भेनेज्युला तेल, समुन्द्री तट, समथर शीर भएका पहाडहरु, विश्वकै सबभन्दा अग्लो झरना आदिका लागि प्रसिद्ध छ’, आइफोनको स्क्रिनमा भेनेज्युलाको म्याप देखाउँदै थोरै शब्दमा उसले आफ्नो देशबारे धेरै बताई।
‘कति दिन बस्छौ?’, अघिल्लो दिन काठमान्डु आइपुगेकी उसलाई मैले सोधें।
‘आज र भोलिको रात बस्छु। पर्सि फर्किन्छु’, उसले भनी।
‘के–के गर्दैछौ यति थोरै दिनमा?’, मैले सोधें।
‘आज दिनभरी तिमीसँगै काठमान्डु घुम्छु। भोलि एभरेस्ट हेलिकप्टर टुर गर्छु। पर्सि बिहान नगरकोटबाट सनराइज हेरेर त्यही दिन मलेसिया फर्कन्छु’, फेरि उसले छोटकरीमा तीन दिने नेपाल योजना सुनाई।
‘तिमीले थोरै दिनमा नेपाललाई धेरै नजिकबाट बुझ्ने खालको योजना बनाएकी रहिछौं। नेपाल अर्को शब्दमा भन्दा प्रकृति र संस्कृतिको संगम हो। एभरेस्ट हेलिकप्टर टुर र नगरकोट सनराईज प्रकृतिसँग एकाकार हुने एउटा विशेष अवसर हो भने काठमान्डु टुर नेपालको संस्कृति बुझ्ने आँखीझ्याल हो। तिमीले जे गर्दैछौ, ठिक गर्दैछौ’, उसको योजनाबाट साँच्चै प्रभावित भएर मैले उसलाई भनें।
हामी यस्तै यस्तै गफ गर्दै स्वयम्भु जाँदै छौं।
‘तिमीलाई बुद्ध र बुद्धिस्ट दर्शनबारे त थाहा नै होला?’, मैले विषयवस्तुतिर उसलाई तानें।
‘भनन। म तिम्रो मुखबाट सुन्न चाहन्छु’, उसले यति मात्र भनी।
बुद्ध वर्णन सुनेर उसले अरु थप केही प्रश्न गरिन।
हामी स्वयम्भुको टपमा पुग्यौं। मुख्य स्तुपाको छेउमा रहेको हारती मन्दिरको छानोको एक छेउमा बसेको एउटा परेवाको फरक कोणहरुबाट धेरै फोटो खिची उसले। त्यति मात्र होइन, थुप्रै बाँदर र कुकुरहरुका पनि फोटो खिची।
‘मीस वल्र्ड र मीस युनिभर्स जस्ता सुन्दरी प्रतियोगिताहरुमा तिमीहरुको उपस्थिति निकै लोभलाग्दो छ। र, धेरै पटक भनेज्युलाका सुन्दरीहरु विश्व सुन्दरी पनि भएका छन्। होइन त?’, स्वयम्भुबाट ताहाचल आइपुग्दै गर्दा मैले उसलाई सोधें।
‘हो’, कुरा नचपाइन उसले भनी।
‘तर, अघि सुरुमा मैले भनेज्युलाबारे सोध्दा यो कुरा भन्न तिमीले बिर्सिछौ’, मैले उसलाई सुरुको सम्वाद सम्झाउँदै भनें।
‘होइन। मैले बिर्सेर नभनेको होइन। चाहेरै नभनेको हुँ’, केही भुमिका नबाँधी ठाडै उसले भनी।
‘किन नचाहेको त? किन नभनेको त?’, मैले उसलाई सोधिन। बरु हाँस्दै भनें, ‘तिमी पनि निकै राम्री छौ। सुन्दरीहरुको देशबाट आएकी
तिमीलाई फेरि एक पटक नेपालमा स्वागत छ।’
‘धन्यवाद’, उसले फेरि पनि त्यति मात्र भनी।
हामी वसन्तपुर दरबार पुग्यौं। जीवित देवीकी रुपमा विश्वप्रसिद्ध कुमारीको दर्शन गराउन उसलाईः मैले कुमारीघर लगें। स्थानीयरुपमा मैजुदेग र विदेशीहरुमाझ हिप्पी टेम्पलको रुपमा परिचित हाल भुकम्पले भत्किएर उभिनसकेको मन्दिर देखाउँदै नेपालमा हिप्पी प्रवेशको पुरानो कथासहित हिप्पी र त्यो मन्दिरको सम्बन्धबारे भनें।
‘प्रत्येक यात्रु मलाई हिप्पीजस्तै लाग्छ, जो चराजस्तै स्वतन्त्रताको आकाशमा उड्न चाहन्छन्। व्याकरणविनाको जिन्दगीको बाँच्न चाहन्छन्’, मैले हिप्पी प्रसंगलाई बिट मार्दै भनें।
मेरो खास आशयलाई समर्थन गर्दै अलिकति असहमति जनाई, ‘बट ! दे लाइक टु मच फ्रिडम।’
हामी कार चढ्यौं। एक छिनको चुपचापपछि मैले उसलाई सोधें, ‘तिम्रो पहिलो भाषा कुन हो?’
‘स्पेनिस। भनेज्युलाको पहिलो भाषा पनि स्पेनिस नै हो। र, यो मेरो मातृभाषा हो’, क्याथोलिक क्रिश्चियन बताउने फबीले भनी।
‘सरी ! मलाई स्पेनिस आउँदैन। तर, तिम्रो अंग्रेजी पनि निकै राम्रो छ’, मैले भनें।
‘मलेसिया जानुअगाडि म अमेरिकामा निकै बर्ष बसें’, अंग्रेजी राम्रो हुनुको खास कारण उसले बताई।
‘तिमी भनेज्युलामा जन्म्यौ–हुक्र्यौ। त्यसपछि अमेरिका पुग्यौ। पछिल्लो केही समयदेखि मलेसियामा छौ। र, अहिले तीन दिनलाई नेपाल आएकी छौ। तिमी चराजस्तै रहिछौ। तिम्रो कथा निकै रोचक होला?’, मैले उसको जीवनको एक खालको चित्र कोर्न खोजें।
‘धन्यवाद’, मैले ऊबारे लामै कुरा गर्दा पनि त्यति मात्र भनी।
हामी पाटन दरबार क्षेत्र पुग्यौं। बाहिरी गेटमै उसले भनी, ‘काठमान्डु दरबार इज मोर क्राउडेड।’
ऊ आफ्ना फोटाहरु खिच्नलाई बेला बेला मलाई क्यामरा दिइरहेकी थिई। स्वयम्भुदेखि नै मैले उसको फोटो खिचिदिएको थिएँ। यहाँ पनि उसकै आग्रहमा सुन्दर पृष्ठभुमि पारेर उसका केही फोटोहरु खिचें।
प्रत्येक पटक ऊ ‘धन्यवाद’ भनिरहेकी थिई।
चोक, गल्ली र म्युजियमहरु गर्र्दै पाटनका पत्रपत्र छामिसेकपछि ऊ अलि थाकेजस्तो देखिई।
‘भोक लाग्यो?’, मैले सोधें।
‘लाग्यो’, उसले सट्कट् स्टाइलमै उत्तर दिई।
त्यसपछि हामी पाटन दरबार क्षेत्र मजाले देखिने छेउैको कजी पगोडा गयौं। ढोकानेर पुगेपछि मैले भनें, ‘अब म तिमीलाई फ्रि टाइम दिन्छु। इन्जोई यो फ्रि टाइम, फुड एन्ड भ्यु।’
‘पर्फेक्ट’, खुशी मिसिएको स्वरमा उसले फेरि त्यति मात्र भनी।
मैले उसलाई माथिल्लो तलाको टेवल जाने भ¥याङ र छेउको रेस्टरुम देखाइदिएँ। मैले चाहिं रेस्टुरेन्टको तल्लो तलामै बसेर सुरुमा चीसो पानी खाएँ। त्यसपछि फ्राइड राइस विथ एग।
ऊ र मबीच गाइड–गेस्ट सम्बन्ध खासै जमिरहेको थिएन। सुरुमै पनि त्यस्तै भएको थियो। जस्तो कि मैले उसलाई सोधेको थिएँ, ‘मलेसियामा तिमी अंग्रेजी शिक्षक हौ?’
‘होइन’। उसले त्यति मात्र भनेकी थिई।
‘के गर्छौ?’, मैले फेरि उसलाई कोट्याएको थिएँ।
‘अरु नै केही गर्छु’, उसले त्यस्तो उत्तर दिएकी थिई।
रिजर्भड् खालकी थिई ऊ। तर, ऊ एक्लै यहाँ आएकी थिई। उसको आत्मविश्वाससँग म प्रभावित थिएँ। कुराकानी त भइरहेकै थियो, हामीबीच। तर, कारमा बोलीचालीभन्दा मौनता बढी थियो।
बिहानको कुरा हो। पुरै एक छेउ खाली राखेर सुरुमा ऊ कारको पछाडि सीटमा बसी। तर, म अगाडि बसें। कुरा त्यति बेलादेखि नै बिग्रेको त होइन?
बिहानकै कुरा हो। मलाई फवीसँग परिचय गराएर ‘कार इज रेडी’ भन्दै ट्राभल एजेन्ट होटल बाहिर आयो। हामी पनि सँगै बाहिर निस्क्यौं। कार आइपुगेकै रहेनछ। फेरि होटलभित्र गएर घुम्न जाने ठाउँहरुबारे छोटकरीमा प्राविधिक जानकारी दिदै उसलाई अलमलाउन थालें। तर, ऊ घडी हेर्दै ‘कार रेडी भयो?’ भनेर सोधेकोसोध्यै गर्दै थिई। कुरा त्यहीँबाट पो बिग्रेको हो कि?
स्वयम्भुबाट फर्किदा फेरि अर्को घटना भयो। ड्राइभरले कारको चावी कारभित्र छाडेर लक गरेछ। त्यसले गर्दा कारको अर्को चावी भेकल सिर्भसबाट मगाउँदा केही समय त्यहीँ कुर्नु प¥यो।
यी र यस्ता कारणले ऊ र मेरो गाइड–गेस्ट सम्बन्ध त्यति नजमेको मलाई पाटनमै लाग्न थालिसकेको थियो।
रेस्टुरेन्टमा उसले बील मगाउनुअघि आफूलाई बढी भएको खाना होम प्याक गर्न लगाईछ। रेस्टुरेन्टबाट निक्लदै गर्दा त्यो होमप्याक देखाउँदै उसले मलाई सोधी, खान्छौ?
‘के?’
‘चिकेन विर्यानी।’
‘अँ हँ। मैले अघि टन्नै हुने गरी खाजा खाइसकें।’
‘त्यसो भए ड्राइभरलाई दिन्छु’, उसले भनी।
‘उसले पनि खाजा खाइसकेको हुनसक्छ। त्यसैले तिम्रो विर्यानी खाँदैन होला’, मैले भनें।
‘यसअघि तिमी इन्डिया गएकी थियौ?’, मैले त्यहाँ विर्यानी निकै पपुलर रहेको प्रसँग सुनाउँदै सोधें।
‘म इन्डिया त गएको छैन तर मलेसियामा इन्डियन खानाको जगजगी छ। जताततै विर्यानी पाइन्छ। विर्यानी मात्र होइन, हरेक एशियन खाना मलेसियामा पाइन्छ’ उसले मलेसिया महिमा गाई।
‘तिमी नेपाली जस्तै रहेछौ। खाना बढी भएर फाल्नु यहाँ राम्रो मानिदैन। त्यसैले बढी भएको बिर्यानी ड्राइभरलाई दिन्छु भनिरहकी छौ’, मैले भनें। तर, मैले आफूलाई बढी भएको खाना असाध्यै नजिकबाहेक अरुलाई दिनु यहाँ नराम्रो मानिन्छ भन्ने चाहिं भनिनँ।
खाँदै गरेको विर्यानी बढी भएपछि प्याक गरेर ल्याएको कुरा ड्राइभरले भनदिएँ। ड्राइभरले विर्यानी खान्न भन्यो।
‘अहिले नखाए घर लैजाऊ’, उसले भनी।
त्रिभुवन विमानस्थल आइपुग्नै लाग्दा मैले ह्युगो चाभेजको नाम लिदै सोधें, ‘ऊ भनेज्युलाको पूर्व राष्ट्रपति होइन?’
‘हो। उसले १४ बर्ष प्रत्यक्ष शासन ग¥यो। निरंकुश शासन ग¥यो।’
‘ऊ विश्व चर्चित लिडर थियो। यहाँ उसलाई निकै क्रान्तिकारी भनेर सम्झिइन्छ’, मैले चाभेजबारे यहाँको सामान्य बुझाइ बताएँ।
‘पैसाले। उसले फेमस हुन धेरै खर्च ग¥यो। तर, ऊ हाम्रो देशको दुर्भाग्य हो’, एकसाथ निकै कमजोर र आक्रोशित भएर उसले भनी।
‘उसको मृत्यु त विश्वकै ठूलो समाचार बनेको थियो’, मैले फेरि थपें।
‘तर, मैले उसको कारणले देश छाडें। मजस्ता हजारौंले देश छाडे। ऊ हाम्रो देशको कलंक हो। अहिले पनि नब्बे प्रतिशतभन्दा बढी जनता उसको उत्तराधिकारमा संचालित शासन व्यवस्था र सरकारविरुद्ध छन्। आन्दोलन चलिरहेको छ तर पछिल्लो आन्दोलनमा हरेक दिनजसो हत्या भइरह्यो। झन्डै दुई सय मानिसको हत्या भयो। हतियार र शक्तिको बलमा जनता निसास्सिरहेका छन्। तेलको धनी देश चर्को
खाद्यसंकटको अवस्थामा आइपुगेको छ र त्यसको एक मात्र कारण चाभेज हो। म उसलाई अति घृणा गर्छु। चाभेजको छाँयाबाट शतप्रतिशत मुक्त नभएसम्म हाम्रो कालो दिन सकिने छैन’, सुरुदेखि थोरै शब्दमा उत्तर दिने ऊ यहाँ अलि बढी बोली।
पशुपति पुगेपछि मैले दायाँ हिंडिरहेकी उसलाई बायाँ पेटीबाट हिंड्न भन्दै नेपालमा बायाँबाट हिंड्ने चलन–नियमबारे जानकारी दिएँ।
‘मलेसियामा जस्तै रहेछ’, उसले फेरि पनि छोटै उत्तर दिई।
‘ ...अनि भनेज्युलामा?’, मैले सोधें।
‘त्यहाँ दायाँ पेटीबाट हिड्ने नियम छ। नेपाल, मलेसियाजस्ता देशहरुमा इङल्यान्डको प्रभाव छ भने हाम्रोमा स्पेनको’, उसले भनी।
‘स–साना कुरालाई पनि विश्व इतिहाससँग जोडेर बुझ्ने तिमीसँग फराकिलो ज्ञान रहेछ’, मैले उसको विद्धताको प्रशंसा गरें।
‘मैले मेरो देशको इतिहास पढेको छु। प्रत्येक मानिसले कम्तीमा आफ्नो देशको इतिहास पढ्नु पर्छ। त्यति पढियो भने स्वत अरु देश र विश्वकै इतिहासबारे पनि धेरै थाहा पाइन्छ’, देश दुखेको भावसहित उसले भनी।